समाचारबाढी–पहिरोमा ज्यान गुमाएकाप्रति मलेसियामा दीप प्रज्वलन, पीडितका लागि दुई लाखभन्दा बढी सहयोग

बाढी–पहिरोमा ज्यान गुमाएकाप्रति मलेसियामा दीप प्रज्वलन, पीडितका लागि दुई लाखभन्दा बढी सहयोग

बाढी–पहिरोमा ज्यान गुमाएकाप्रति मलेसियामा दीप प्रज्वलन, पीडितका लागि दुई लाखभन्दा बढी सहयोग

भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल तामाङ घेदुङ जोहोर कार्यसमिति, मलेसियाले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

प्राकृतिक विपदमा परी ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घेदुङले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। कार्यक्रममा विपदबाट प्रभावित परिवारहरूको शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित जीवनको कामना गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।

कार्यक्रममा नेपाल तामाङ घेदुङ जोहोर कार्यसमिति, मलेसियाका सचिव मान कुमार थिङ तामाङले प्राकृतिक विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारको दुःखमा घेदुङ सधैँ साथमा रहने बताउनुभयो। उहाँले विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदायले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “विपद्का कारण आफ्ना आफन्त गुमाएका परिवारको पीडा हामीले महसुस गरेका छौँ। यस्तो दुःखद् अवस्थामा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारलाई आवश्यक सहयोग पुर्‍याउनु हाम्रो मानवीय दायित्व हो।”

श्रद्धाञ्जलीसँगै घेदुङले विपदबाट प्रभावित नागरिकको सहयोगका लागि राहत अभियानलाई समेत निरन्तरता दिएको छ। बाढी तथा पहिरो पीडितका लागि राहतस्वरूप नेपाल तामाङ घेदुङ जोहोर कार्यसमिति, मलेसियाले दुई लाख रुपैयाँभन्दा बढी नगद सहयोग नेपाल तामाङ घेदुङ संघीय समितिको खातामा जम्मा गरेको जनाएको छ।

नेपाल तामाङ घेदुङका उपाध्यक्ष तथा प्रवास समन्वय संयोजक रुप बहादुर योन्जनका अनुसार प्रवासमा रहेका घेदुङका विभिन्न शाखा तथा समितिहरूबाट प्राप्त राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने कार्यसमेत अघि बढाइएको छ। नेपाल तामाङ घेदुङ इजरायल प्रवास समितिले उपलब्ध गराएको राहत सामग्री नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोनको नेतृत्वमा हालै रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकिएको योन्जनले जानकारी दिनुभयो।

योन्जनले विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदायबाट प्राप्त सहयोगलाई प्रभावित परिवारसम्म पुर्‍याउने कार्यलाई घेदुङले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो। उहाँका अनुसार राहत सामग्री तथा आर्थिक सहयोगलाई आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा परिचालन गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य गरिनेछ।

योन्जनले विपद्को समयमा प्रवासबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

जोहोर कार्यसमितिले दीप प्रज्वलनमार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपदबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ। साथै, विपद्को यस कठिन घडीमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा जुट्न सबैमा अपिल गरिएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्