डम्फुको तालमा गुञ्जियो एकताको स्वर : तामाङ कलाकार संघको १९औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल तामाङ कलाकार संघको १९ औँ वार्षिक साधारण सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त सभा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) को प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो।
“सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला, संस्कृतिको विकास, संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता“ भन्ने मूल नाराका साथ सम्पन्न १९ औं वार्षिक साधारण सभा-२०८३ को अध्यक्षता नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले गरेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन र वरिष्ठ गायक एवं संगीतकार सुरेश अधिकारीको विशेष आतिथ्यता रहेका थिए । त्यस्तै अतिथिहरुमा वरिष्ठ गायक चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङ, नेपाल तामाङ कलाकार संघका सल्लाहकारहरू रोज मोक्तान, जमुना योञ्जन, इन्दिरा योञ्जन, सञ्जीव वाइवा र विश्व दोङ लगायत अन्य थुप्रै कलाकार तथा स्रष्टाहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रममा सिङ्गो कलाकार संघका कलाकारहरूले सामूहिक रूपमा डम्फु बजाउँदै राष्ट्रिय गान मात्र प्रस्तुत गरेनन् ! स्वागत गीत समेत डम्फु बजाएर सामूहिक रुपमै प्रसेतुत गरेका थिए ।
मञ्चमा अग्रज कलाकारहरू थिए, हातमा डम्फु थियो र स्वरमा थियोः आफ्नो भाषा, संस्कृति र मौलिक पहिचानप्रतिको साझा प्रतिबद्धता। त्यो दृश्य केवल एउटा औपचारिक कार्यक्रमको सुरुवात थिएन। यो तामाङ कलाकारहरूबीचको एकता, सहकार्य र आफ्नो मौलिकताको संरक्षणप्रतिको सामूहिक भावनाको सांगीतिक अभिव्यक्ति जस्तै देखिन्थ्यो।
साधारण सभा : विगतको समीक्षा, आगामी यात्राको तयारी
वार्षिक साधारण सभामा संघले विगतमा सञ्चालन गरेका विभिन्न गतिविधि, संस्थागत प्रगति तथा आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरूबारे जानकारी तथा प्रस्तुति गरेको थियो। साधारण सभा संस्थाको नियमित प्रक्रिया भए पनि यसपटकको छलफलको मूल भाव भने एउटा महत्वपूर्ण प्रश्नमा केन्द्रित देखिन्थ्योः तामाङ कला र संस्कृतिलाई बदलिँदो समयसँगै कसरी अझ बलियो बनाउने? तामाङ गीत, संगीत, नृत्य, चलचित्र, अभिनय तथा सिर्जनशील क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताको आकर्षण बढिरहेको छ। तर डिजिटल माध्यमको विस्तारसँगै मौलिकता जोगाउने चुनौती पनि उत्तिकै बढेको छ।
यही अवस्थामा कलाकारहरूको भूमिका मनोरञ्जन प्रदान गर्ने सीमामा मात्रै नरहने सहभागीहरूको धारणा थियो।
अतिथिहरुले पनि कलाकारले सिर्जना गर्ने गीत, संगीत, चलचित्र, भिडियो र प्रस्तुतिमार्फत एउटा पुस्ताले अर्को पुस्तासम्म भाषा, संस्कृति, इतिहास र पहिचान हस्तान्तरण गर्न सक्छ। त्यसैले कलाकारबीचको एकता र संस्थागत सहकार्यलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएका थिए ।
डम्फुको ताल, तामाङ सेलो, मौलिक भाका, नृत्य, भेषभूषा र कथाहरूलाई नयाँ पुस्तासम्म पुर्याउने काममा कलाकारहरूको योगदान महत्वपूर्ण रहँदै आएको छ। तर त्यसका लागि व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन। संस्थागत एकता, पुस्ताबीचको सहकार्य, नयाँ कलाकारलाई अवसर र अग्रज कलाकारको अनुभव हस्तान्तरण आजको आवश्यकता बन्दै गएको छ।
१९औँ साधारण सभाले पनि यही भावलाई थप बल दिएको छ ।
कलाकारबीचको दूरी घटाउँदै सहकार्य बढाउने र तामाङ कला–संस्कृतिको संरक्षणलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनेकार्यलाई यो कार्यक्रमले थप प्रोत्साहन दिएको देखिन्छ ।
१९औँ सभाको सन्देश
नेपाल तामाङ कलाकार संघको १९औँ वार्षिक साधारण सभा एउटा संस्थाको वार्षिक कार्यक्रम मात्र होइन, तामाङ कला–संस्कृतिको वर्तमान अवस्था र आगामी यात्रामाथि सोच्ने अवसर पनि बनेको छ।
१९औँ साधारण सभाले दिएको मूल सन्देश यही हो-कलाकारको सिर्जना बलियो भयो भने संस्कृति पुस्तासम्म पुग्छ। कलाकारबीचको एकता बलियो भयो भने संस्थागत अभियान बलियो हुन्छ। अनि संस्था र सिर्जनाकर्मीको सहकार्य बलियो भयो भने मौलिक पहिचान संरक्षणको यात्रा अझ फराकिलो बन्न सक्छ।
कार्यक्रम संघका महासचिव खेम मोक्तानले संचालन गरेका थिए भने सचिव योगेश लामा ले स्वागत मन्तव्य राख्दै कार्यक्रमका सहभागीलाई स्वागत गरेका थिए।
