काठमाडौं । बौद्ध क्षेत्र विकास समितिको आगामी नेतृत्वका लागि बौद्ध वडा नम्बर ६ का स्थानीय बासिन्दा तथा समाजसेवी मजिन ब्लोन लामाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका लामाले स्वच्छ, सुरक्षित, व्यवस्थित र धार्मिक–पर्यटकीय बौद्ध क्षेत्र निर्माण गर्ने लक्ष्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
बौद्ध क्षेत्रको सरसफाइ, सामुदायिक सुरक्षा र स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राखेका लामाले बौद्ध फोहोरमैला व्यवस्थापन समाजसँग आबद्ध भएर काम गर्दै आएका छन्। त्यस्तै, बौद्ध सामुदायिक प्रहरीमार्फत समेत सामाजिक सेवामा सक्रियरहँदै आएको उनको भनाइ छ।
अध्यक्षमा निर्वाचित भए बौद्ध क्षेत्रको विकासलाई केवल कागजी योजनामा सीमित नराखी प्रत्यक्ष परिणाम देखिने गरी अघि बढाउनेलामाको दाबी छ। विशेषगरी फोहोरमैला व्यवस्थापन, अव्यवस्थित पूर्वाधार, ढल निकास, सडक तथा ट्राफिक व्यवस्थापनजस्ता दीर्घकालीन स्थानीय समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने उनको योजना छ।
लामाले आफ्नो प्रमुख अभियानका रूपमा ‘२४ सै घण्टा सफा बौद्ध’ अवधारणा अघि सारेका छन्। घर तथा व्यवसायबाटै फोहोर वर्गीकरण गर्ने प्रणाली लागू गर्ने, आवश्यक स्थानमा स्मार्ट डस्टबिन राख्ने तथा डिजिटल निगरानी प्रणालीमार्फत सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उनको प्रस्ताव छ।
त्यसैगरी, बौद्ध स्तुपको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक मौलिकता संरक्षण गर्दै देश–विदेशबाट आउने तीर्थयात्री तथा पर्यटकका लागि सूचना केन्द्र, स्वच्छ शौचालय, विश्रामस्थल र सुरक्षित वातावरण निर्माण गर्ने योजना समेत उनले अघि सारेका छन्।
बौद्ध धर्म, दर्शन, गुम्बा तथा स्थानीय सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न सांस्कृतिक महोत्सव, डिजिटल प्रचार अभियान तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ।
लामाको योजनामा स्थानीय समुदायको सहभागितालाई समेत विशेष महत्व दिइएको छ। स्थानीय बासिन्दा, गुम्बाका प्रतिनिधि, व्यवसायी, युवा तथा विभिन्न संघसंस्थाबीच नियमित छलफल र सहकार्यका लागि साझा संवाद मञ्च निर्माण गर्ने उनले बताएका छन्।
समितिको नेतृत्वमा पुगेपछि निर्णय प्रक्रिया तथा आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै ‘समिति जनताका लागि, विकास समुदायका लागि’ भन्ने अवधारणामा काम गर्ने उनको प्रतिबद्धता छ।
टेलिभिजन अन्तर्वार्ताका क्रममा लामाले अध्यक्ष पदलाई व्यक्तिगत प्रतिष्ठा वा पदको रूपमा नभई बौद्ध क्षेत्रको विकास, संरक्षण र स्थानीय समुदायको सेवाको जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
उनको उम्मेदवारी घोषणासँगै बौद्ध क्षेत्र विकास समितिको आगामी नेतृत्व चयन थप चासोको विषय बनेको छ। लामाले अघि सारेका स्वच्छ बौद्ध, सुरक्षित बौद्ध र व्यवस्थित बौद्धको योजनाले आगामी नेतृत्व चयनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई समेत स्थानीय समुदायले चासोका साथ हेर्न थालेका छन्।
