23.1 C
Kathmandu

समाचारबौद्ध र स्वयम्भुमा तेमाल जात्रा : दिवङ्गत पितृका नाममा बत्ती बाल्नेको भिड...

बौद्ध र स्वयम्भुमा तेमाल जात्रा : दिवङ्गत पितृका नाममा बत्ती बाल्नेको भिड (भिडियो सहित)

काठमाडौँ-बिशेष गरि तामाङ समुदायले आफ्ना ऐतिहासिक एवम मौलिक जात्राको रुपमा मनाउंदै आएको तेमाल जात्राको अवसरमा हिजो बौद्धमा र आज स्वयम्भुमा भक्तजनहरुको भिड लागेको छ ।  

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बौद्ध र स्वयम्भूमा तेमाल जात्रा लाग्ने गर्दछ । चतुर्दशीको दिन बौद्धमा दिवङ्गत पितृको नाममा दीप अर्थात छ्युमे बाल्ने गर्छन् । बुधबार बिहानैदेखि बौद्ध परिसरमा स्वर्गारोहण भएका पितृको नाममा मोलम पाठ गरि छ्युमे बाल्ने तामाङहरुको भिड लागेका थिए ।  जसलाई तामाङहरुले छो-फुल्बा भन्ने गर्दछन् । यत्ति मात्र नभएर तामाङहरुले तेमाल जात्रालाई सांगितिक मेलाको रुपमा पनि मनाउने गर्दछन् । मौलिक फापारे गीत गाउने नाच्ने गर्दै पहिलो दिन बौद्धमा भेला भएका भक्तजनहरु पूर्णिमाका दिन बिहानै बालाजु बाइसधारा स्नान गरी त्यसैदिन स्वयम्भू चैत्यमा पूजा गर्ने गर्दछन । 

आज बिहिबार भने बिहानै देखि भक्तजनहरु स्वयम्भुमा भिड लागेका थिए । बौद्ध परिसरमा जस्तै स्वयम्भुमा पनि पुजा पाठ-मोलम मन्त्र गरि छ्युमे बालेका भक्तजनहरु गीत गाउने र नाच्ने क्रम सांझपख सम्मै चलिरहेका थिए । सत्ययुगदेखि नै चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवंगत पितृका नाममा बत्ती बाल्ने परम्परा सुरु भएको मानिन्छ । राजा ह्रेन्जेन दोर्जे बलका पालामा यसलाई तेमाल जात्रा नामकरण गरिएको भन्ने मान्यता सुनिन्छ ।  

मेलाको नाम तेमाल जात्रा रहे पनि हाल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुलि, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर लगायत उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानका तामाङ समुदायका मानिसहरु यो जात्रामा भीड लाग्ने गर्छन् । तेमाल जात्राका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवंगत पितृको आत्माले शान्ति पाउने बौद्ध धर्मावलम्बिहरुमा धार्मिक मान्यता रहेको छ ।

कोरोना भाइरसको कारण गत बर्षहरुमा स्वास्थ्य मापदन्ड अपनाएर मात्र दर्शन गर्न पाएका र धेरै भिडभाड गर्न नपाएका भक्तजनहरु यो बर्ष भने खुल्ला रुपमा आनन्दका साथ मेला भर्न पाएकोमा खुसि व्यक्त गरेका थिए । यद्यपि भक्तजनहरुको भिडलाई व्यबस्थापन गर्न भने निक्कै चुनौति नै दिखियो । गत बर्षहरुमा भन्दा प्रिथक तवरले व्यबस्थापन गरेको तेमाल जात्रामा भने भक्तजनको शान्ति सुरक्षाको लागि मादक पदार्थ र धुम्रपान निषेधको साथै भक्तजनका अन्य समस्याका लागि सम्पर्क डेस्कको ब्यबस्था मिलाएको देखिन्थ्यो । बौद्ध परिसरमा तामाङ पुस्तकहरु समेत बिक्रि वितरण गरेको देखियो ।

परापूर्वकालदेखि चलिआएको तेमाल जात्राको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व रहेको छ । प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गरेको छ।  

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्