24.1 C
Kathmandu

समाचारकाठमाडौको टुँडिखेलमा सांस्कृतिक महोत्सव सहित सोनाम ल्होछार कार्यक्रमको पूर्ण तयारी

काठमाडौको टुँडिखेलमा सांस्कृतिक महोत्सव सहित सोनाम ल्होछार कार्यक्रमको पूर्ण तयारी

काठमाडौ । मञ्जश्री सम्वत् २८५९ औँ सोनाम ल्होछार ह्योअी (तावर) अर्थात बिरालो बर्षको अवसरमा काठमाडौंको टुँडिखेलमा हुने तिन दिने बृहत ल्होछार कार्यक्रम सांस्कृतिक महोत्सव सहित आज बाट सुरु हुने भएको छ । तामाङ समुदायले मुख्य पर्व अर्थात नयाँ बर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछार उपत्यकामा यस पटक २९ औँ पटक मनाउने तयारी रहेको ल्होछार मूल समारोह समितिले जानकारी दिएको हो ।

बिहीबार ल्होछार मूल समारोह समितिको आयोजनामा काठमाडौंको चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको संघिय कार्यालयमा पत्रकार सम्मेलन मार्फत ३ दिनसम्म ल्होछार कार्यक्रम हुने जानकारी दिएका हुन् । यस पटकको ल्होछार कार्यक्रम विशेष:त नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङ लगायत अन्य थुप्रै तामाङ संघसंस्थाहरुको संयुक्त सहभागितामा आयोजना गरिएको मूल समारोह समितिले जानकारी दिएका छन् । तामाङ जातिको सामाजिक सांस्कृतिक एवम् धार्मिक जीवमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण मूमिका रहेको छ । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्ने भएकोले यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्दै आएको छ ।

प्रत्यक बर्ष ३ दिनसम्म सांस्कृतिक महोत्सवको रुपमा मान्दै आएको सोनाम ल्होछार यस बर्ष पनि आजदेखि ८ गतेसम्म मनाउने तयारी रहेको छ । पहिलो दिन आज अर्थात माघ ६ गते शुक्रवार साँझ ४ बजेदेखी राति ९ बजेसम्म हुने साँस्कृतिक कार्यक्रमका लागी यत्ति बेला टुँडिखेलमा मञ्च व्यवस्थापन देखी कार्यक्रमस्थल सजावट लगायतका कामहरु धमाधम भैरहेको छ । त्यस्तै दोस्रो दिन अर्थात माघ ७ गते विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विशेष पूजापाठको कार्यक्रम रहेको छ भने दिउँसो १ बजेदेखि ४ बजेसम्म विभिन्न कलाकारहरुद्धार साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नेछन् । त्यही दिन दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म मंगोलियन हर्टको लाइभ कन्सर्ट हुने भएको छ भने राति ८ बजेदेखि १० बजेसम्म डिजे तेन्जिङको विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको तेस्रो दिन अर्थात माघ ८ गते पनि पूजापाठ पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूबाट कार्यक्रम समुद्घाटन लगायत सामान्य औपचारिक कार्यकम पश्चात राति १० बजे सम्म सांगितिक कार्यक्रम रहने प्रेस पत्रमा उल्लेख गरिएको छ ।

प्रायजसो सोनाम ल्होछार कार्यक्रममा सवारी साधन पार्किङको समस्या भएको हुँदा यस पटक भने खुल्लामञ्चमा पार्किङको व्यवस्था गरेको छ । त्यसै गरि कार्यक्रम स्थलमा तामाङ चिकित्सा संघद्धारा स्वास्थ्य सुरक्षाको समेत व्यवस्था गरिएको मूल समारोह समितिले जानकारी दिएको छ ।

बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमार सिं घिसिङ उपाध्यक्ष सिता लामा, कार्यवहाक महासचिव जगतमान दोङ, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल लगायत घेदुङका अन्य पदाधिकारीहरुका साथै पत्रकारहरुको सहभागी रहेका थिए ।

यत्ति बेला प्रवेशद्धार निमार्ण,स्टेज व्यवस्थापन तथा सजावट, साउण्ड सिस्टमको व्यवस्थापन, स्टलहरुको नम्बरिङ देखी लुङ्दा दाज्र्यू सजावटको कामहरु सकिसकेको र अबको केही बेरमा नै पूर्ण रुपमा कार्यक्रमस्थल तयारी हुने राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविण कुमार बलले नमोबुद्ध न्यूजलाई जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्