20.1 C
Kathmandu

समाचारकांग्रेस (विपी)को आठ पेज लामो घोषणापत्रः पूर्वाधार विकासमा जोड

कांग्रेस (विपी)को आठ पेज लामो घोषणापत्रः पूर्वाधार विकासमा जोड

काठमाडौं । नेपाली कांग्रेस (विपी)ले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस (विपी)ले बुधबार आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा उद्योग, सडक पूर्वाधार, हवाई सेवा, खानेपानी, सरसफाइ, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाइ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । यस्तै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आमसञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्‍याउन सर्वसुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउने, संविधानलाई गतिशील राजनीतिक दस्तावेजको रूपमा स्वीकार्ने बताएको छ । उक्त पार्टीले जननायक विश्वेश्वरप्रसाद कोइरालाको सोचाइअनुरुप उत्पादन वृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मूल आर्थिक नीतिको रूपमा प्रस्तुत गरेको छ । देशको राजस्व बढाउन करको दायरा बढाउन न्यायोचित नीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।यस्तै राजस्व सङ्कलन प्रक्रिया प्रविधिमैत्री, पारदर्शी र चुहावटमुक्त बनाइने र आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख पर्यटक देशभित्र भित्र्याउने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता गरेको छ । आगामी पाँच वर्षभित्र हुलाकी, मध्यपहाडी र निजगढ–काठमाडौँ द्रुर्तमार्गको निर्माणकार्य सम्पन्न गर्ने र विद्युतीय यातायातलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री देवेन्द्रप्रकाश पौडेलले नेपाली कांग्रेस विपीले ७८ सिटमा प्रत्यक्ष र एक सय ७३ सदस्य समानुपातिक प्रणालीमा उम्मेदवारी दिएको बताए । पार्टीले देशको सबै क्षेत्रलाई समेटेर घोषणापत्र निर्माण गरेको उनको भनाइ थियो । पार्टीका उपसभापति रीता खनालले कांग्रेस (वीपी)ले निर्माण गरेको घोषणापत्रका आधारमा पार्टीले काम गर्ने उल्लेख गरिन् । उनले जनताका समस्या समाधानका लागि कांग्रेस ९वीपी० सधैँ लाग्ने विश्वाससमेत व्यक्त गरिन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्