17.1 C
Kathmandu

स्थानिय समाचारनमोबुद्ध १० का वडाअध्यक्ष उपाध्यायद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

नमोबुद्ध १० का वडाअध्यक्ष उपाध्यायद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

नमोबुद्ध नगरपालिका वडा नं. १० का नवनिर्वाचित वडाअध्यक्ष रामकृष्ण उपाध्यायले असहाय र जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । 
आज सोमबार वडा कार्यालयमा पदवहाली गरेलगत्तै नमोबुद्ध १० मा रहेको बाल उज्ज्वल माविमा आयोजित कार्यक्रममा वडाअध्यक्ष उपाध्यायले स्वर्गीय पिता छविलाल उपाध्यायको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । उनले अक्षयाकोषका लागि व्यक्तिगत तर्फबाट १ लाख ५१ हजार रुपैयाँसमेत बाल उज्ज्वल माविलाई हस्तान्तरण गरेका छन् । उक्त अक्षयकोषको रकमबाट बाल उज्वल माविमा अध्ययनरत अभिभावकबिहीन विद्यार्थीका लागि खर्च गरिने उनले बताए । उपाध्याय उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।   
कार्यक्रममा वडाअध्यक्ष उपाध्याय एवं उनका भाई एवं जनक क्याम्पसका प्रमुख हरिहर अधिकारीले संयुक्तरुपमा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालकाजी लामा र प्रधानाध्यापक नारायणभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । आगामी दिनमा अक्षयकोषका लागि थप स्रोतहरुको खोजी गरिने वडाअध्यक्ष उपाध्यायले बताएका छन् । कार्यक्रममा वडाअध्यक्ष उपाध्यायसहित नवनिर्वाचित वडा सदस्यहरुलाई विद्यालयको तर्फबाट सम्मान पनि गरिएको थियो । 
यसअघि आजै पदबहाली गर्दै वडाअध्यक्ष उपाध्यायले वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा समितिका निर्वातमान सदस्यहरुलाई विदाई पनि गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नमोबुद्ध नगरपालिका वडा नं. १० मा विगतका बर्षमा पनि उदाहरणीय कामहरु भएको भन्दै त्यसको निरन्तरताको कामना गरे । सीमित स्रोत साधनका बाबजुद वडामा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले नागरिकहरुलाई सहजरुपमा सेवा प्रवाह गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । 
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका निवर्तमान उपप्रमुख रामदेवी तामाङ, नवनिर्वाचित वडा सदस्यहरु कुमार सिं लामा, सन्तोष पाठक, वुद्धकुमारी तामाङ, गीता विश्वकर्मा, वडा अध्यक्षका उम्मेदवारहरु नेपाली कांग्रेसका कृष्णप्रसाद तिमल्सेना, नेकपा एमालेका केदारप्रसाद पाठक, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष रामशरण देवकोटा, निवर्तमान वडा सदस्य बिष्णुमाया बिक  लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव विरेन्द्र रावलले सञ्चालन गरेका थिए । 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्