20.1 C
Kathmandu

मुख्य समाचारप्रत्येक वडामा ६/६ महिनामा निशुल्क स्वास्थ्य परिक्षण गर्नेछौंः राजन भुर्तेल

प्रत्येक वडामा ६/६ महिनामा निशुल्क स्वास्थ्य परिक्षण गर्नेछौंः राजन भुर्तेल

भकुण्डेवेंशी । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा चुनावी रौनक चुलिएको छ । यस नगरको केन्द्र रहेको भकुण्डेवेंसी बिपी राजमार्गमै पर्ने हुँदा  यहाँको चुनावी माहौल देशका सबैतिरको जनताको प्रत्यक्ष चासोको विषय बन्नु स्वाभाविक हो । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा (एमाले) ले यस नगर मा प्रमुख, उपप्रमुख सहित ६ वडामा जित हासिल गरेको थियो। संस्थापक जनप्रतिनिधिका रूपमा पहिलो पाँच वर्षे कार्यकालमा सुरु गरिएका विकास निर्माणको पूर्वाधारहरूलाई थप विस्तार गर्दै नयाँ योजना सहित नगर प्रमुख पदका लागि अहिले राजन भुर्तेल चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।

कुशल राजनीतिक संगठनका रूपमा ख्याति कमाएका राजन भुर्तेल नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटीका सचिव समेत हुनुहुन्छ । राजनीति बाहेक विकास निर्माणको राम्रा योजनाकारका रूपमा समेत परिचित भुर्तेल काभ्रेका युवाहरू माझ अत्यन्तै लोकप्रिय हुनुहुन्छ । नगर प्रमुखका उम्मेदवार भुर्तेलसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :

तपाईँहरूले नगरपालिकाका ११ वटै वडाहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भयो, नगरवासीको प्रतिक्रिया कस्तो छ ?

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन लक्षित घरदैलो कार्यक्रम चरणबद्ध रूपमा सकायौँ । नगरपालिका अन्तर्गत सबै वडाहरूमा जनताको उत्साहजनक उपस्थिति देखिएको छ । मतदाताहरू एमाले पार्टीप्रतिनै अत्यन्तै सकारात्मक भएको पायौँ । सँगसँगै केपी ओली सरकारको पालामा भएका विकास निर्माण र राष्ट्रियताको सवालमा गरिएका निर्णयले पनि नेकपा (एमाले) सँग जनताहरू सकारात्मक बनेका छन् । विशेष चुच्चे नक्सा, सुरुङ मार्ग, रेलमार्ग, देशभरि तुइन विस्थापनले जनतामा निकै राम्रो प्रभाव पारेको छ । प्रदेश सरकारको कार्यक्रम मार्फत नमोबुद्धमा प्राप्त गरेको विकास बजेटले जुन पूर्वाधार निर्माण भएको छ त्यसले जनताको दैनिक जीवनमा सहजता थपेको छ । यसबाहेक  नगरको संस्थापक नेतृत्वको रूपमा नेकपा (एमाले) ले जनताको घरदैलोसम्म सडक, खानेपानी र विकासका पूर्वाधारहरू लैजाने जुन काम गर्‍यो  त्यसबाट जनताहरू असाध्यै प्रभावित छन्। त्यसबाहेक हामीले नगरको विकास र समृद्धिका लागि जुन योजनाहरू लिएर आएका छौ त्यसबाट जनताहरू सकारात्मक बनेका छन्।

अब हाम्रै पार्टीको नेतृत्वमा सुखी नगरवासी समृद्ध नगरको रूपमा यो नगरलाई स्थापित भएको देख्न नगरवासी उत्साहित छन् ।

थप योजना भन्नुभयो तपाईँले, ती के–कस्ता छन् त ?

यो कुराकानीमा सबै योजनाहरूबारे भनिरहन सम्भव नहोला । हामीले हाम्रा पार्टीको तर्फबाट स्थानीय तह निर्वाचन-२०७९ को प्रतिबद्धता पत्र सार्वजनिक गरेर नगरवासीको हात हातमा पटाइसकेका छौँ । त्यसलाई बुँदागत रूपमा चाहिँ भन्न चाहन्छु । हामीले नगरको समग्र विकासको कुरालाई  ७ किसिममा वर्गीकरण गरेका छौँ । जस्तै,

१ . गुणस्तरीय र दिगो विकास

२. आय आर्जन, रोजगारी तथा आर्थिक विकास

३. सामाजिक विकास

४. धार्मिक तथा पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास

५. वन, वातावरण, जलवायु, परिवर्तन तथा विपद् व्यवस्थापन

६. संस्थागत विकास तथा सुशासन

७. न्यायमा समान पहुँच

यी ७ वटा बुँदाहरूमा सबै खालका ठोस योजनाहरूलाई यसै भित्र समेटेर हामी अघि बढ्नेछौँ । र पहिले जस्तै जनताबाट अनुमोदित भएर नमोबुद्ध नगरको नेतृत्व सम्हाल्ने छौँ ।

पहिलो चुनावमा जितेको विरासतलाई कायम राख्ने आधारहरू चाहिँ के के छन् त ?

पहिलो कुरा त एमाले पार्टी विचार र भिजन भएको पार्टी हो । जनताको आवश्यकतालाई कसरी सम्बोधन गर्ने ? कस्तो विकास दिने ? त्यसले के प्रतिफल दिन्छ ? र त्यो प्रतिफलले जनताको जीवनस्तरलाई कसरी माथि उकास्छ भन्ने  कुरा हामीलाई राम्ररी थाहा छ । यी प्रस्ट दृष्टिकोण सहित नगर र वडा तहमा हाम्रा पार्टीका जुझारु कमरेडहरू उम्मेदवारका रूपमा जनताको घरदैलोमा हुनुहुन्छ ।

दोस्रो कुरा, फगत पद प्राप्तिका लागि  हामीले विचार, दृष्टिकोण र राजनीतिक संस्कार नै भुलेर कसैसित स्वार्थको गठबन्धन गरेका छैनौँ  । यस कुराको बारेमा आम मतदातालाई राम्ररी हेक्का छ । जसमा हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक भएर काम गर्नेछन् । यहाँ अरू प्रतिस्पर्धी दलहरू गठबन्धनको झुटा गीत बजाउँदै सहर ओहोर दोहोर गरिरहँदा  हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियान्ता भएर टोल टोलमा पुग्नु भएको छ ।

तेस्रो कुरा, हामी भोट मात्रै माग्दैनौँ । निर्वाचनको महत्त्व र मतदाता शिक्षा दिनु एमाले कार्यकर्ताको राजनीतिक दायित्व हो । एमालेसँग जरा जरासम्म फैलिएको सङ्गठन छ । हामी सङ्गठन र पद्धतिमा विश्वास गर्ने पार्टीका सिपाही भएको नाताले फेरि पनि जीत हासिल गर्ने कुरामा कुनै द्विविधा छैन ।

भरखरै गठबन्धनको प्रसङ्ग जोड्नु भयो नमोबुद्ध नगरपालिकामा पनि ५ दलीय गठबन्धनसँग तपाईँहरू एक्लै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । जित्ने कुरा चुनौतीपूर्ण छैन र ?

तपाईँले ठिक भन्नु भयो । हामी जनताको बहुदलीय जनवादमा विश्वास राख्ने भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्विकार्नू हाम्रो नीति र सिद्धान्तभित्र पर्छ। तर गठबन्धन त्यो मार्गबाट भागेर भिडन्त गर्न अग्रसर छ । तपाईँले जीवित हुनका लागि सास फेर्न जरुरी हुन्छ । अब बाँचेर मात्रै पुग्दैन भन्ने लाग्छ भने अस्तित्वमा रहनको लागि तपाईँले सिद्धान्त बचाउन जरुरी हुन्छ । दुःखको कुरा गठबन्धनसँग सास मात्रै छ, सिद्धान्त छैन । हिजो एकले अर्कालाई सिद्ध्याउन उद्धत पार्टीहरू आज एक ठाउँमा छन् । यसको मतलब ती सबै दलहरू फरक फरक साइनबोर्ड बोकेका एउटै दल हुन् भन्ने कुरामा घाम जत्तिकै छर्लङ्ग छ। यो नमिठो दृष्टान्तले कथित गठबन्धन नजिक मानिएका तमाम कार्यकर्ता र शुभचिन्तकहरू अत्यन्तै दुःखी छन् । चुनावी योजना केही पनि छैन, एकले अर्कालाई भोट हाल्नेकी नहाल्ने भन्ने आशंकाको तुवाँलो ढाकेको बेला हामीले प्रस्ट मार्गचित्र लिएर ११ वडामा पुग्यौँ । घरघरमा पुगेर मत हाल्न अनुरोध गरेका छौँ । सबै  मतदाताहरू एमालेको पक्षमा मतदान गर्न ३० गते पर्खिरहनु भएको छ । अब तपाईँले बुझ्नु भयो होला नेकपा (एमाले) चुनौतीलाई अवसरमा बदल्ने पार्टी हो ।

तर एमालेबाटै अलग भएका राजनीतिक दल जीतको लागि अवरोध बन्न सक्दैन र ? कसरी ढुक्क बन्न सक्नुहुन्छ र ?

जुनसुकै परिस्थितिमा सामान्यतया तपाईँसँग दुइटा विकल्प हुन्छन् । अगाडि बढ्ने कि पछाडि फर्केर रोकिने ? कमजोरीलाई समातेर जहाँको त्यहीँ उभिइरहने कि सकारात्मक पक्षलाई लिएर अघि जाने ? त्यसमा तपाईँले ख्याल गर्नुपर्ने हुन्छ । म सहित मेरा उम्मेदवार कमरेडहरू दोस्रो विकल्प लिएर निकै अघि बढिसकेका छौँ। गठबन्धनले संविधानले प्रदान गरेको महिलाको सहभागिताको अधिकारलाई नमोबुद्ध नगरपालिकामा निमोठ्ने काम गरेको छ । देशैभरीको हालत त्यस्तै बनाएको छ । फेरि पनि लाजै नमानी संविधानको रक्षक भनेर ढ्वाङ चाहिँ बजाउन छाड्नु हुन्न । मत माग्न जाँदा प्रमुख, उप प्रमुख दुवै उम्मेदवारका रूपमा पुरुष पुरुष मात्र डुल्दै गरेको देख्नु भएकै होला । उहाँहरूले समावेशीको सवालमा गरेको यो महा अपराध हो । महिला दिदीबहिनीहरू माथिको अपमान हो ।  

यो परिस्थितिमा मेरो टिमका उप प्रमुखका उम्मेदवार कमरेड सम्झना लामा अब एमालेको मात्रै उम्मेदवार रहनु भएन । उहाँ नमोबुद्ध नगरपालिका भरिकै निर्विकल्प महिला उम्मेदवार हुनुहुन्छ । तमाम महिलाको एक्लो प्रतिनिधिका रूपमा उहाँले सबैको मत पाउने निश्चित छ । न्याय प्रेमी मतदाताहरूले हामीलाई प्रदान गर्नुहुने यस्ता थुप्रै सकारात्मक लाभहरू सम्हालेर अघि बढी रहेका छौँ ।

अर्कोतिर, मतदान गर्न केही दिन मात्रै बाँकी हुँदा विभिन्न पार्टी परित्याग गरेर एमालेमा आउने निरन्तरता चलिरहेकै छ । पछाडिको कुरामा नअल्झिने एमाले कार्यकर्ताका लागि यो अघि बढ्ने हौसला हो ।  भारतका एक प्रख्यात कवि हरिवंश राय बच्चनको कविताको एक हरफले भने जस्तै अम्बर अर्थात् आकाशका कत्ति तारा टुट्छन्, कति साथ छुट्छन् तर आकाशले शोक मनाएको थाहा छैन । देशकै विशाल पार्टी  एमालेलाई नमोबुद्ध नगरमा पनि रोइलो गर्ने फुर्सद छैन ।

तपाईँहरूको प्रतिबद्धता पत्रमा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणको कुरा उल्लेख छ नि ? वृद्ध भत्ताको अर्को आकर्षण दिन खोज्नु भएको हो ?

यो आकर्षण होइन । र, प्रतिबद्धता पत्रमा उल्लिखित कुनै पनि कुरा निर्वाचनको लागि मात्र सोचेर बनाएको आकर्षण होइनन् । म विकास निर्माणको अमूर्त नारामा विश्वास राख्दिनँ । के गर्दा हाम्रा नगरवासी स्वस्थ, समृद्ध र सुखी बन्छन् ? त्यसका लागि गर्नुपर्ने ठोस कुरालाई मतदाताले बुझ्ने गरी प्रतिबद्धता पत्रमा छापेका छौँ ।

 स्वास्थ्य परीक्षण नागरिकको नैसर्गिक अधिकार हो । एउटा जिम्मेवार पार्टीले जनता बिरामी भएपछि उपचार गर्न अस्पताल खोल्छु भनेर भन्न सक्दैन । पहिलो तहमा हामी रोग लागेर स्वास्थ्य उपचारमा खर्च हुने ठुलो आर्थिक क्षतिलाई रोक्न चाहन्छौँ । त्यसका लागि प्रत्येक वडामा ६/६ महिनामा डाक्टर सहितको घुम्ती टोली लगेर मुटु, मिर्गौला, रक्तचाप, मधुमेह, थाइरोइड, निमोनिया जस्ता रोगहरूको अवस्थाबारे परीक्षण गरी रोगहरूको नियन्त्रण गर्न चाहन्छौँ ।

अब दोस्रो तहमा, सबै जनतालाई स्वास्थ्य विमामा आबद्ध गराउने र उपचारलाई सुलभ बनाउने कुरामा जोड दिएका छौँ । अति न्यून आय भएका नागरिकको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गरिने छ । टोल टोलमा स्वास्थ्य केन्द्र र नगरमा व्यवस्थित अस्पताल त हुन्छन् नै । तर अस्पतालमा हुने उपचारको चापलाई घटाउने पहिलो उपाय रोग लाग्न अगाडि नै स्वास्थ्य परीक्षण गर्नु हो  । यसले हामी नगरवासीको लामो आयुको समेत निर्धारण गर्दछ भन्ने विश्वास राखेको छु ।

अन्त्यमा, वैशाख ३० हुने निर्वाचनमा सूर्य चिन्हमा नै भोट किन ?

स्थानीय तहमा नेकपा (एमाले) सबैको लोकप्रिय पार्टी हो । “आफ्नो गाउँ आफैँ बनाऔँ” अभियानको न्वारान गर्ने पार्टी  हो एमाले । ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोको जुन स्तरमा विकास भएको छ, त्यो यही कार्यक्रमको योगदान हो । वृद्ध भत्ताको सुरुवात गर्ने पार्टी हो । आज ७० वर्ष पुगेका आमा बुबाहरूले मासिक ४ हजार प्राप्त गर्नुहुन्छ । स्वास्थ्य, उपचार, पोसिलो खानेकुरा र सहायताको लागि कसैको अवहेलना सहनुपर्ने अवस्थाको अन्त्य गराउन एमालेले नै पहल गरेको  हो । नमोबुद्ध नगरपालिकाको सवालमा हामी त्यो भन्दा अगाडि बढेर सामाजिक सुरक्षाका थप कार्यक्रमहरू लिएर निर्वाचनमा जाँदै छौ । ५० वर्ष नाघेका असहाय, एकल महिला, अविवाहित महिला र अति विपन्न एकल पुरुषको समेत निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने योजना बनाएका छौँ ।

समग्रमा भन्नुपर्दा यसपालिको स्थानीय तह निवार्चानमा पनि नमोबदुद्धका मतदाताहरू एमालेको गुण तिर्न आतुर छन् । यही कुराको डर छ नेपाली काङ्ग्रेस, माओवादीलाई । र, त गठबन्धन नाउँको चक्रव्यूहको रचना गर्न पुगे ती दलहरू । नेकपा (एमाले) का सूर्य ध्वजावाहकहरू निहत्था अभिमन्यु होइनन्, गठबन्धनले ख्याल गरे हुन्छ ।

हाम्रो पार्टीले हरेक राजनीतिक सामाजिक परिवर्तनको अगुवाइ गर्दै आएको छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्‌क्षालाई पुरा गर्न जनताको मत पर्खेर बसेका छौँ ।  स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउन हाम्रा उम्मेदवारहरूले विजयी हासिल गर्नु आवश्यक छ । तसर्थ विकासका संवाहक, प्रगतिशील राष्ट्रवादको अगुवाइ गर्ने पार्टी नेकपा (एमाले) को सूर्य चिन्हमा नै मतदान गर्नुपर्छ भन्न चाहन्छु ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्