26.1 C
Kathmandu

स्थानिय समाचारआर्थिक पारदर्शिता नै मेरो मुख्य एजेण्डा होःप्रमुख उम्मेदवार विदुरप्रसाद सापकोटा–मण्डनदेउपुर नगरपालिका

आर्थिक पारदर्शिता नै मेरो मुख्य एजेण्डा होःप्रमुख उम्मेदवार विदुरप्रसाद सापकोटा–मण्डनदेउपुर नगरपालिका

भकुण्डेबशी–काभ्रेको मन्डनदेउपुर नगरपालिकामा नेकपा एमालेको तर्फबाट पालिका प्रमुखको उम्मेद्वार विदुर प्रसाद सापकोटाले आर्थिक पारदर्शितालाई मुख्य एजेण्ड बनाएको छ । वि.सं. २०२३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको साविकको जैसिथोक गाउँ विकास समिति–४ मा जन्मिनु भएका विदुर प्रसाद सापकोटा काभ्रेली राजनीतिमा सालिन र भद्र व्यक्तित्वको रुपमा परिचय बनाउन सफल हुनु भएको छ । एसएलसीसम्म अध्ययन गर्नुभएका सापकोटा विभिन्न समयमा विभिन्न सङ्घसंस्थामा आवद्ध भएर समाज परिवर्तन र नागरिकको पक्षमा काम गर्दै आउनु भएको छ । २०४३ सालदेखि राजनीतिमा लाग्नु भएका सापकोटाले २०५४ सालमा स्थायी शिक्षकको जागिरबाट राजिनामा गरी तत्कालिन जैसिथोक गाविसको अध्यक्षमा निर्वाचित भई जनताको सेवा गर्नुभएको थियो ।

स्थानीय तह निर्वाचन २०७९ मा मण्डनदेउपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिनु भएका सापकोटा नेकपा एमालेको क्षेत्रीय कमिटि सदस्य, क्षेत्रीय कमिटी सचिव ,अध्यक्ष, जिल्ला सदस्य, निर्वाचन क्षेत्रको सह–इन्चार्ज, इन्चार्ज र हाल एमाले जिल्ला पार्टी कमिटिको सचिवालय सदस्य रहनु भएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा मण्डनदेउपुरको विकासको लागि सापकोटासँग भएका विकास योजना के छ ? प्रस्तुत छ सापकोटासँग गरिएको कुराकानीको सार संक्षेप:


अहिले गठबन्धनसँग चुनाव लड्दै हुनुहुन्छ ? कस्तो अनुभव भएको छ ?
स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्बन्धित सरकार हो । यसले नीति निर्माण गरी जनतामा कार्यन्वयनमा लैजान्छ । पहिला म एक्लै र गठबन्धनसँग चुनावमा लड्दा फरक अनुभूति फरक अनुभूति केही पाएको छैन । हामी विरुद्ध चुनावमा प्रतिस्पर्धा गर्न केन्द्र्रिय नेताले गठबन्धन गरेका छन् तर जनता गठबन्धनको पक्षमा छैनन् । गठबन्धनका नेता एकातिर हुनुहुन्छ म सबै दल र जनताको साझा उम्मेदवारको रुपमा रहेको छु । म जनताको पक्षमा पाँच वर्ष काम गर्न चाहन्छु । म सँग प्रतिस्पर्धा गर्ने उम्मेदवार एक पटक जनतामा परिक्षण भइसकेको हुनुहुन्छ, म गाविस अध्यक्ष भएर कामहरु उपभोत्ता समिति बनाएर योजना निर्माण, कार्यान्वयन र त्यसको परीक्षण पनि जनताबाट नै गराउने काम गरेको छु । स्थानीय सरकार सञ्चालन गर्दा आर्थिक पारदर्शिता हुनुपर्छ । आर्थिक पारदर्शीता मेरो प्रमुख एजेण्डा हो । आर्थिक पारदर्शिता भएन भने लोकतन्त्रको आभास हुन सक्दैन । कृषि क्षेत्रमा काम गर्नेछु । किसानको हितमा काम गर्ने प्रशस्त योजना छन् । शिक्षा, पर्यटन, स्वास्थ्यको क्षेत्रमा काम गर्नेछु । मेरो काम, व्यवहार हेरेर मलाई माया गर्नेको सङ्ख्या धेरै छ, त्यसैले सबै पार्टीको साझा उम्मेदवार हुँ । निर्वाचित भएपछि सबैलाई सँगै लिएर काम गर्ने मेरो विगतको स्वभावमा परिवर्तन हुने छैन, त्यसैले म अत्याधिक मत ल्याएर विजयी हुनेछु ।


नेता चुनावमा मात्रै घरदैलोमा आउँछन् भन्ने मतदाताको बुझाई छ नी ?
जनताको घरदैलोमा जाँदा यो मण्डनदेउपुरको मेयरको उम्मेदवार हो भन्ने पाएको छु । जनतामा यो एमाले उम्मेदवार भन्ने सोच पाएको छैन । फरक विचार राख्ने सबै पार्टीका नागरिकले मलाई साझा उम्मेदवार हो भनेर हेर्नु भएको छ । मैले हेर्ने कुरा पनि म निर्वाचित भएपछि सबै नागरिक मेरा आफ्ना हुन् भनेर काम गर्नेछु् ।


तपाईहरुले नै सानो भनेको दलको नेतासँग चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ नी ?
उहाँ एक्लै निर्वाचनमा आउन नसक्ने भएका कारण सबै दलसँग गठबन्धन गरेर आउनु भएको छ । यसले मलाई खासै फरक पर्दैन । त्यो गठबन्धन नेताहरुले गरेको गठबन्धन हो । जनताले गठबन्धनलाई स्विकारेका छैनन् र जनताहरु गठबन्धन मान्ने पक्षमा छैनन् । मलाई विश्वास छ मलाई जनताको मलाई माया गरी मतदान गर्नुहुनेछ । म निर्वाचित भएपछि जनताको सेवकको रुपमा काम गर्नेछु ।


तपाईका मुख्य एजेण्डाहरु के के हुन् ?
मैलै एक घर दुई रोजगारको व्यवस्था गर्नेछु । एउटा कृषिमा आधारीत हुनेछ । प्रत्येक घरमा कृषि टनेल निर्माण गरी तरकारी तथा बीउ उत्पादन गराई आम्दानी गराइनेछ । अर्को प्रत्येक घरमा सीपमा आधारित एक जनाले सीप सिकेर आम्दानी गराउनेछौँ । प्रत्येक घर तथा बस्तीको कनेक्टीभिटी सडकमा पु¥याइनेछ । लामो दुरीको सडकका लागि माथिल्लो निकाय र साना सडकहरुका लागि नगरपालिकाले काम गर्नेछ । कृषि सडकहरुलाई १२ महिना नै चल्न सक्ने गरी प्राथमिकता दिइनेछ । स्वास्थ्यको क्षेत्रमा जेष्ठ नागरिकलाई कम्तिमा ३ महिनामा घरमा नै गई स्वास्थ्य परिक्षण गर्ने, बालबालिकाको पोषणा, महिलाको स्वास्थ्यलाई पनि ध्यान दिइनेछ । पहिला आफै स्वस्थ्य हुनुपर्छ भनेर योग चिकित्सा, आर्युवेद, ध्यानलाई प्राथमिकता दिनेछौँ । शिक्षामा प्राविधिक शिक्षालाई जोड दिनेछौ, पर्यटनमा नगरकोट र ज्याम्दीलाई जोड्नेछौँ । नगरकोट आएपछि दुई तीन दिन बस्न सक्ने वातावरण बनाउनेछौँ । त्यसको लागि हामीले पर्यटकिय पूर्वाधारमा धार्मिक पार्क, सहिद पार्क, अग्रज विभुतीको पार्क, मनोरञ्जन पार्क, संग्राहलय बनाउने छौँ, रक क्लाइम्बिङ, साइक्लिङ रुट बनाइनेछ । यसो गर्दा पर्यटकिय चलहपहल बढ्नेछ ।


योजना कार्यान्वयनका लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हामी डिपिआर गरेका ठुला योजनाको कामको लागि केन्द्र सरकार, मझौला योजनाको लागि प्रदेश सरकारबाट बजेट माग गर्नेछौँ । नगरको विकासका लागि हामीसँग आन्तरिक स्रोतको रुपमा इन्द्र्रावती नदी, नगरको कर, नगरकोटका होटलललाई करको दायरामा ल्याउनेछौँ । इन्द्रावती खोलामा ४÷५ ठाउँमा ठेक्का लगाउन सक्छौँ, नगरभित्रका बुद्धिजीवी, कर्मचारी र जनता परिचालन गरी अन्य स्रोत खोज्न आग्रह गर्नेछौँ । यी योजना आजको भोलि होईन पाँच वर्षमा पुरा गर्नेछौँ । हामी समृद्ध र नमूना मण्डनदेउपुर नगर बनाउन सेवक भएर काम गर्नेछौँ ।


अन्त्यमा के भन्नुहुन्छ ?
म जनताको सेवकको रुपमा आएको छु । म नेता बन्न, नेतृत्व गर्नलाई, गाडी चढ्न, विभिन्न ठाउँमा गएर फजुल गर्न आएको हैन । हामीलाई विजयी गराउनुहोस् पाँच वर्ष तपाईहरुको सेवको रुपमा सेवा गर्नेछु । तपाई कुन नगरको नागरिक भन्दा म मण्डनदेउपुर नगरपालिकाको नागरिक हो भनेर गर्व गर्न लायकको काम गर्नेछौँ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्