18.1 C
Kathmandu

ब्रेकिङ समाचारजेष्ठ नागरिकलाई ‘न्यानो’ बाँड्दै नमोबुद्धका जनप्रतिनिधि

जेष्ठ नागरिकलाई ‘न्यानो’ बाँड्दै नमोबुद्धका जनप्रतिनिधि

१७ कार्तिक २०७८
नमोबुद्ध–जाडोयाम सुरु भएसँगै नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि जेष्ठ नागरिकका लागि सिरक बोकेर घरघरमा पुग्न थालेका छन् । 
नमोबुद्ध नगरपालिका वडा नं. १० को संयोजनमा जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उक्त वडामा रहेका जेष्ठ नागरिकका लागि घरघरमै पुगेर न्यानो सिरक र हट ब्याग वितरण गर्न थालिएको हो । आज बुधबार एक अनौपचारिक कार्यक्रमकाबीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले वडाका जेष्ठ नागरिकलाई सिरक र हट ब्याग वितरण गर्दै जेष्ठ नागरिक सम्मान कार्यक्रमको सुरुवात गरेका थिए । 


नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकसँग आशिर्वाद लिनका लागि आफूहरु घरघरमा आइपुगेको बताए । ‘हामीले सहयोग दिने भन्दा पनि यहाँहरुबाट आशिर्वाद लिने उद्देश्यले यहाँ आएका हौं, तिमल्सिनाले भने । नगरपालिकाले विगतका बर्षदेखि नै जेष्ठ नागरिक लक्षित कार्यक्रमहरु सञ्चालन गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन तिमल्सिनाले बताए । जेष्ठ नागरिकका ज्ञान, सीप र  अनुभवलाई लिँदै समृद्ध नगरको निर्माणमा आफूहरु लागिपरेको उनले बताए । सबै वडामा वडा कार्यालय र स्वास्थ्य संस्थाको भवन निर्माण गरेको तथा सडक निर्माणलाई तीब्रता दिइएको पनि उनले बताए । 


कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत राजन पौडेलले वृद्धवृद्धाको सम्मानका लागि नगरपालिकाले सानै भए पनि सहयोग गरिरहेको बताए । जेष्ठ नागरिकलाई आँखाको अप्रेसनका लागि रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरी निःशुल्क शल्यक्रियाको अभियान सञ्चालन गरिरहेको उनले बताए । अहिले आफूहरुले भोगिरहेको सुखसयलमा अघिल्लो पुस्ताको योगदान रहेकाले त्यसको कदर र सम्मानका लागि आफूहरु घरघरमा पुगेर जेष्ठ नागरिकलाई सम्मान गरिएको पौडेलले बताए । अहिलेको पुस्ताले आफूभन्दा अघिल्लो पुस्ताको सम्मान गरेमात्रै पछिल्लो पुस्ताबाट सम्मान पाउनसक्ने पौडेलको भनाई थियो । नमोबुद्ध नगरपालिका १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले जाडो मौसम सुरु भएकाले सम्मानस्वरुप न्यानो वितरणको अभियानमा लागेको बताए । आफू वडाअध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडिदेखि नै जेष्ठ नागरिकको सम्मानका लागि लागिपरेको स्मरण गर्दै अधिकारीले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । जेष्ठ नागरिकको सम्मानकै लागि वडा कार्यालयबाट सक्दो बजेट व्यवस्थापन गरिएको र त्यो पर्याप्त हुन नसके पनि प्रभावकारीरुपमा त्यसलाई परिचालन गर्ने कोसिस गरिएको अधिकारीले बताए । 


नमोबुद्ध नगरपालिका वडा नं. १० ले वडाबाट सामाजिक सुरक्षा भत्ता पाउने ३०१ जना जेष्ठ नागरिक तथा एकल महिलालाई सिरक र हटव्याग वितरण गर्ने लक्ष्य लिइएको छ । आज बुधबार र भोली बिहीबार गरी वडाका सबै टोलमा पुगेर कार्यक्रम सम्पन्न गर्ने वडा सचिव विरेन्द्र रावलले जानकारी दिए । कार्यक्रममा नगरपालिकाले गरेको सम्मानबाट आफूहरु निकै खुशी भएको जेष्ठ नागरिकहरुले बताएका थिए । वडा र नगरकै पहलमा आफूहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको पनि कतिपय जेष्ठ नागरिकले बताए । 


नमोबुद्ध नगरपालिकाले प्रत्येक बर्षको बजेटबाटै सबै वडामा जेष्ठ नागरिकका लागि सम्मानको कार्यक्रम गर्दै आएको छ । नगरपालिकाले सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारीसमेत निर्माण गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्