17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा बालबालिकाको निःशुल्क घरदैलो आँखा परिक्षण अभियान

नमोबुद्धमा बालबालिकाको निःशुल्क घरदैलो आँखा परिक्षण अभियान

९ भाद्र २०७८
भकुण्डबेशी
– नमोबुद्ध नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै निःशुल्क घरदैलो आँखा परिक्षण अभियान सञ्चालन गरिएको छ ।
नमोबुद्ध नगरपालिका र सेवा फाउण्डेसनको सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा अभियान थालिएको हो । आज मंगलबारबाट सुरु भएको अभियान दुई महिनासम्म नगरका सबै वडा र टोलमा सचालन हुनेछ । कोरोना महामारीका कारण बालबालिकाहरु विद्यालय नगई अनलाइन कक्षामार्फत पढिरहेका कारण उनीहरुको आँखामा समस्या देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको हो । अभियानको क्रममा बालबालिकामात्रै नभई युवा र वृद्धवृद्धाको पनि आँखा परिक्षण हुनेछ ।

अभियानको उद्घाटन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले अनलाइन क्लासका कारण बालबालिकाको आँखामा समस्या देखिन थालेकाले त्यसलाई न्यूनिकरण गर्न अभियान थालिएको बताए । नगरबासीको स्वास्थ्य समस्या समाधानका लागि नगरपालिका गम्भीररुपमा लागिपरेको बताउँदै तिमल्सिनाले यो अभियानबाट सबै नगरबासी लाभान्वित हुने अपेक्षा रहेको बताए । उनले यही बर्ष नगरपालिकाले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्करुपमा कान सुन्ने मेसिन उपलव्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बिमा गराउने तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि सारिएको जानकारी दिएका छन् । कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले सक्रियरुपमा काम गरिरहेको जानकारी दिँदै तिमल्सिनाले मेथिनकोट अस्पताललाई प्रदेशस्तरको अस्पताल बनाउन सफल भएको र अब चाँडै त्यसलाई यस बेड क्षमताको अस्पताल बनाउने बताए ।

नगरका सबै वडामा स्वास्थ्य संस्थाका लागि आवश्यक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको पनि नगर प्रमुख तिमल्सिनाले बताएका छन् । नगर प्रमुख तिमल्सिनाले नगरपालिकाका कृषि अनुसन्धान केन्द्र, स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाको प्रक्रियासमेत अघि बढिसकेको जानकारी दिएका छन् ।
यस्तै कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं। ७ का अध्यक्ष धर्मसिं लामाले शिविर सञ्चालनका लागि पहल कदमी गरेकोमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाप्रति आभार प्रकट गरे । उनले वडाका टोलबस्तीमा शिविर सञ्चालनका लागि सहकार्य गरिने र आवश्यक सहयोग गर्ने बताए । बालबालिकालाई लक्षित गर्दै यस्तो शिविर सञ्चालन हुनु खुशीको विषय भएको उनले बताए । कार्यक्रममा रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले अस्पतालबाट खटिने पाँच जनाको टिमले २ देखि ३ महिनासम्म नगरका सबै वडा र टोलमा घरदैलो कार्यक्रममार्फत आँखा परिक्षण गर्ने जानकारी दिए । उनका अनुसार परिक्षणको क्रममा चश्मा तथा औषधी आवश्यक पर्ने बालबालिकालाई निःशुल्क चश्मा र औषधी उपलव्ध गराइनेछ भने थप उपचार आवश्यक परे अस्पतालको भकुण्डेवेशी सेवा केन्द्र र बनेपास्थित अस्पतालमा उपचार गरिनेछ । यस्तै मोतियाविन्दुको उपचार गर्नुपर्ने वृद्धवृद्धाको बनेपामा निःशुल्क उपचारको व्यवस्था गरिने शर्माले जानकारी दिए ।

अन्धोपन निवारणमा सक्रिय पहिलो नगरपालिकाको रुपमा नमोबुद्ध नगरपालिका रहेको र नमोबुद्ध नगरपालिका र आँखा अस्पतालको सहकार्यमा मोतियाविन्दु न्यूनिकरण अभियान विगत तीन बर्षदेखि सञ्चालन भइरहेको शर्माले जानकारी दिएका छन् ।

कार्यक्रममा काभ्रेटाइम्स साप्ताहिकका प्रकाशन सम्पादक आर एल श्रमजीविले उमेर बढ्दै जाँदा आँखामा विविध किसिमका समस्या आउने जानकारी दिँदै अस्पताल र नगरपालिकाले सुरु गरेको अभियानले आँखाका समस्या समाधानको अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा आँखा अस्पतालका सल्लाहकार अशोक श्रेष्ठ, कार्यक्रमका टिम लिडर अनिल लामा लगायतको उपस्थिति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्