18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

नमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

१३ साउन २०७८
नमोबुद्ध –नमोबुद्ध नगरपालिका वडा नं. २ मा सुविधासम्पन्न वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालय र स्वास्थ्य केन्द्रको निर्माणसँगै अब स्थानीयबासीलाई सेवा प्रवाहका लागि थप सहजता आउने भएको छ । 


नमोबुद्ध २ को रातमाटेमा निर्माण गरिएको वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको आज बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएपछि निर्माण भएर उद्घाटन भएको वडा नं. २ को कार्यादय दोस्रो हो । यसअघि यही साउन ४ गते वडा नं. ११ को वडा कार्यालयको सुविधासम्पन्न भवन उद्घाटन गरिएको थियो । 


नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं. ११ सहित वडा नं. ३ र ६ को  वडा कार्यालय निर्माणको काम सम्पन्न भइसकेका छन् । दोस्रो चरणमा निर्माण थालिएका वडा नं. २ को भवन निर्माण सम्पन्न पश्चात आज उद्घाटन गरएको छ भने वडा नं. ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक बर्षमा वडा नं. १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरुपमा निर्माणको कामसमेत सकिसकेको छ । वडा नं. २ को भवन निर्माणका लगि भ्याटबाहेक ४० लाख ७४ हजार ५ सय ७१ रुपैयाँमा सिद्धिविनायक निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । 
स्थनीय सांस्कृतिक बाजागाजाको झाकीसहित आयोजित भवन उद्घाटन कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सबै वडाको सुविधासम्पन्न कार्यालय भवन निर्माण गर्ने जिल्लाको पहिलो पालिकाको रुपमा नमोबुद्ध नगरपालिका रहने बताए । उनले बाँकी वडा कार्यालयको भवन निर्माण यही आर्थिक बर्षमा सम्पन्न हुने तथा सबै वडाको स्वास्थ्य संस्थाको भवनसमेत निर्माण सकिने बताए । चुनावी प्रतिवद्धताअनुसार नगरको समग्र विकासका लागि आफूहरु एकतावद्धरुपमा लागिरहेको र त्यसैको परिणामस्वरुप भौतिक पूर्वाधारदेखि सामाजिक विकाससम्मका कार्य अघि बढिरहेको उनले बताए । जनताले दिएको जिम्मेवारीको पूर्ण पालना गर्दै नगरको विकासमा तल्लिन भएको उनले बताए । नमोबुद्ध वृहत खानेपानी आयोजना, मेथिनकोट अस्पतालको स्तरोन्नति, मुख्य सडकहरु स्तरोन्नति र कालोपत्रे गर्ने कार्य जनप्रतिनिधि आएपछि नै भएको उनले बताए । स्वास्थ्य क्षेत्रका लागि विशेष योजनासहित अघि बढेको र सोहीअनुसार जिल्लाकै नमुना आइसोलेसन केन्द्र सञ्चालन गरिएको, मेथिनकोट अस्पतालमा अक्सिजन प्लान्टको व्यवस्थापन गर्न लागिएको पनि तिमल्सिनाले बताए । महिला, युवा, किसान तथा अन्य लक्षित वर्गका लागि चालु आर्थिक बर्षमा पनि विशेष कार्यक्रम र योजना तय गरिएको उनले बताए । आफूहरु निर्वाचित भएदेखि नै सुरु गरिएको एक घर एक धाराको अभियान तीब्ररुपमा सञ्चालन भइरहेको तिमल्सिनाले बताए ।


यस्तै नगरपालिका उपप्रमुख रामदेवी तामाङले समग्र नगरको विकासमा आफूहरु लागिपरेको बताउँदै यसमा प्रत्यक्ष साथ र सहभागिताका लागि नगरबासीलाई आग्रह गरिन् । भएका पूर्वाधारको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले पूर्वाधारको विकासलाई नगरले प्राथमिकताका साथ अघि बढाएको बताइन् । कोरोना महामारीका कारण सोचेजसरी काम गर्न नसकिएको भए पनि चुनावी प्रतिवद्धता पुरा गर्न आफूहरु निरन्तर क्रियाशिल भइरहेको तामाङको भनाई थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरबासीलाई सेवा प्रवाहमा थप सहजता आओस् भन्ने ध्येयले सबै वडामा कार्यालय भवन निर्माण भइरहेको बताए । नगरबासीको सुविधाकै लागि अनलाइन र मोबाइल एपमार्फत राजस्व भुक्तानीको व्यवस्था गरिएको उनले बताए । अहिलेक नगरपालिकाले विकासको मार्गचित्र र आधारशिला खडा गरेको र आगामी दिनमा त्यसैको आधारमा समग्र नगरको विकास र उन्नतिका योजनाहरु निरन्तर अघ बढ्ने पौडेलको भनाई थियो । गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई व्यवहारमै कार्यान्वयन गर्न नगरपालिका तल्लिन भएको उनले बताए । 
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष सञ्जीव ढकालले चुजावी प्रतिवद्धताअनुसार वडाको विकासका लागि लागिपरेको बताए । यो बर्षको अन्त्यसम्ममा चुनावी प्रतिवद्धताअनुसारका धेरैजसो काम सम्पन्न हुने उनले बताए । वडाबासी, राजनीतिक दल लगायत सरोकारवालाहरुको सकारात्मक साथ र सहयोगका कारण भौतिक एवं सामाजिक विकासका कार्यहरु भइरहेको ढकालले बताए । थुप्रै विकासका योजना कोरोना महामारीका कारण अघि बढाउन नसकिए पनि विषम परिस्थितिमा त्यसको सामना गर्दै अघि बढेको बताउँदै ढकालले खानेपानी सडक, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा विगतमा भन्दा धेरै परिवर्तन आइसकेको पनि बताए । 


कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष रामकृष्ण अधिकारीले जनतालाई सेवा प्रवाहमा सहजीकरण होस् भन्ने उद्देश्यसहित जनप्रतिनिधिहरु लागिपरेको बताए । वडा सचिव सञ्जु गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा कार्यालयका लागि जग्गा उपलव्ध गराउने माथे ओस, नगर उद्योग वाणिज्य संघ नमोबुद्धका अध्यक्ष बसुनारायण श्रेष्ठ, स्थानीय जनकल्याण माविकी प्रधानाध्यापक लक्ष्मी अधिकारी, स्थानीय समाजसेवी कुमार दाहाल, नगर कार्यपालिका सदस्य अमृता अधिकारी लगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रममा वडा कार्यालय भवनका लागि जग्गा उपलव्ध गराउने सीता माथे ओस दम्पति, जग्गाका लागि सहजीकरण गरिदिने स्थानीय समाजसेवी गोविन्द घिमिरे तथा निर्माण कम्पनी सिद्धिविनायक निर्माण सेवाका निर्मल लामालाई सम्मानसमेत गरिएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्