18.1 C
Kathmandu

ब्रेकिङ समाचारऔषधी बोकेर कोरोना संक्रमितको घर–घरमा नमोबुद्धका मेयर

औषधी बोकेर कोरोना संक्रमितको घर–घरमा नमोबुद्धका मेयर

२ साउन २०७८


काठमाडौ । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिना औषधीसहितका स्वास्थ्य सामग्री बोकेर कोरोना संक्रमित नागरिकको घरघरमा पुग्न थालेका छन् । 
नगरका केही स्थानमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएपनि नगर प्रमुख तिमल्सिना औषधी र स्वास्थ्यकर्मीको टोली लिएर नागरिकको घरघरमा पुग्न थालेका हुन् । सोही क्रममा शुक्रबार नगर प्रमुख तिमल्सिना नमोबुद्ध ४ जोरसल्लाको वस्तीमा पुगे । उक्त बस्तीका धेरै मानिसमा लक्षणसहित कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको पाइएपछि नगर प्रमुखको नेतृत्वमा नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीको टोली पुगेको हो । 
उक्त टोलीले नमुनाको रुपमा बस्तीका २४ जनाको एन्टिजेन विधिबाट कोभिड–१९ को परिक्षण गरेको थियो । जसमध्ये ९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । नगर प्रमुख तिमल्सिनाले पोजेटिभ देखिएकाहरुको घरमै पुगेर अत्यावश्यक औषधी, मास्क तथा सेनिटाइजर वितरण गरेका छन् । उनले नगरबासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै कुनै स्वास्थ्य समस्या देखिए तत्काल नगरपालिकामा खबर गर्न आग्रह गर्दै उपचारको लागि व्यवस्था गर्ने पनि बताए । आफू पनि कोभिड–१९ र त्यसपछि देखिएका स्वास्थ्य समस्याबाट मुक्त भएर हालैमात्र बाहिर निस्किएको बताउँदै नगर प्रमुख तिमल्सिनाले सामाजिक दुरी कायम गर्न, मास्क तथा सेनिटाइजर प्रयोग गर्न आग्रह गरे । आत्मबल र स्वास्थ्य सजगताबाटै कोभिड–१९ सँग लड्न सहज हुने तिमल्सिनाको भनाई थियो । 
नगर प्रमुख तिमल्सिनाले अहिले नमुनाको रुपमा परिक्षण गरिएको र केही दिनमा वृहतरुपमा परिक्षण अभियान सञ्चालन गर्ने पनि बताए । तिमल्सिनाले कोभिड १९ को संक्रमणबाट मुक्त भएका नगरबासीसँष् पनि भेटघाट गरेका थिए । टोलीमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडे, वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले लगायत सहभागी थिए । टोलीमा रहेका स्वास्थ्यकर्मीहरुले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुलाई समेतना जगाउने कार्यक्रमसमेत गरेको छ ।  

वडा नं. ४ को प्रभावित क्षेत्र शिल
यसैबीच नमोबुद्ध नगरपालिकाले बस्तीको अवस्थाबारे बुझेर, स्थानीयबासीसँगको समन्वयसँगै नमोबुद्ध नगरपालिकाले वडा नं. ४ को प्रभावित क्षेत्र शिल गर्ने निर्णय गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी साउन ७ गते राती १२ बजेसम्मका लागि प्रधावित क्षेत्र शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए । नगरपालिकाले वडा नं. ४ को जोरसल्ला, फुस्रे डाँडा, लालदेवी बस्ती, श्रीराम वस्ती, सुर्य वस्ती, सार्की टोल, कामी टोल र चिसापानी वस्ती पूर्णरुपमा शिल गरेको हो । शिलको अवधीमा औषधीपसल र स्वास्थ्य संस्थाबाहेक खाद्यान्न पसल, दूध र दुग्दजन्य पदार्थ बिक्री गर्ने पसल, मासु जन्य पसल, फलफुलजन्य पसल लगायत सबै पसलहरु वन्द गर्ने निर्णय गरिएको छ । यस्तै, बैंक तथा सहकारी लगायतका वित्तीय संस्था र अन्य कार्यालयहरु पनि वन्द रहनेछन् भने अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ । 

खोप अभियानको अनुगमन
नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा सञ्चालन भइरहेको कोभिड–१९ विरुद्धको खोप अभियानको पनि अनुगमन गरेका छन् । तिमल्सिनाले जनक माविस्थित खोप केन्द्र पुगेर ५५ बर्षमाथिका नागरिकका लागि सञ्चालन भइरहेको खोप अभियानबारे जानकारी लिएका छन् । उनले नगरका स्वास्थ्य संस्थाका लागि आवश्यक खोप पनि सम्वन्धीत स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरे । लक्षित वर्गका कुनै पनि नागरिक खोपबाट बञ्चित नहुनेगरी खोप अभियान चलाउन नगर प्रमुख तिमल्सिनाले निर्देशनसमेत दिएका छन् । नमोबुद्ध नगरपालिकामा २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत अहिलेसम्म ६ हजार २ सय ५६ जनाले खोल लगाइसकेका छन् । अब खोप लगाउन बाँकी १८ बर्षमाथिका नगरबासीको संख्या २० हजार ४ सय ६७ रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्