23.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धका कृषकलाई तालिमसँगै कृषि सामग्री वितरण

नमोबुद्धका कृषकलाई तालिमसँगै कृषि सामग्री वितरण


२७ माघ २०७७

भकुण्डे– नगरभित्र कृषि क्षेत्रको विकास गर्ने एवं कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउने उद्देश्यले नमोबुद्ध नगरपालिकाका अगुवा कृषकका लागि एक दिने तालिम एवं कृषि सामग्री वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । 
नगरपालिकाका अगुवा कृषकका लागि तरकारी बालीमा बाली उत्पादनोपरान्त (पोष्टहार्भेष्ट) हुने क्षति न्यूनिकरण र बजार व्यवस्थापन बारे तालिम दिइएको हो । तालिममा नगरपालिकाका विभिन्न वडाका कृषक समूह र कृषि फर्मबाट २५ जना कृषक प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीहरुलाई कृषि विकास शाखा प्रमुख रेशमवहादुर दाहालसहित कृषि शाखामा कार्यरत शारदा तिमल्सिना र मनिता तामाङले प्रशिक्षण दिएका थिए । 
तालिमको समापन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै कृषि क्षेत्रमा नमोबुद्ध नगरलाई अगाड बढाउन विभिन्न योजनाहरु तयार पार्दै कार्यान्वयनमा गएको बताए । उनले कृषि क्षेत्रको विकासका लागि कार्यविधि तयार पारिएको र चाँडै नै कार्यान्वयनमा आउने पनि बताए । शुन्यको अवस्थाबाट कृषि क्षेत्रका लागि बर्सेनी बजेटमा वृद्धि गरिएको जानकारी दिँदै उनले अझै पनि कृषि क्षेत्रमा जनशक्तिको अभाव झेल्नुपरेको बताए । विभिन्न संघसंस्थाको सहयोगमा कृषि नलेज पार्कको स्थापना, बेमौसमी तरकारी खेती तथा बिउ उत्पादनमा जोड दिइएको उनले बताए । अव खेती प्रणालीलाई व्यवसायिक बनाउनुपर्ने र युवा जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने तिमल्सिनाको भनाई थियो । 
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रविधिको प्रयोग नगरेसम्म कृषक सधैं कमजोर हुने भन्दै अब परम्परागत र निर्वाहमुखी कृषि प्रणालीबाट आधुनिकीकरणतर्फ जानुपर्ने बेला आइसकेको बताए । प्रविधिको प्रयोगले उत्पादन बढाउन सकिने र त्यसले कृषकको आयस्तरसमेत बढ्ने उनले बताए । गुणस्तरीउ उत्पादनका साथै बढी भन्दा बढी बजारीकरणमा जोड दिनुपर्ने पौडेलको भनाई थियो । कार्यक्रममा वडा नं. ९ का अध्यक्ष एवं नगरपालिकाको कृषि समितिका संयोजक मेलवहादुर लामाले नगरपालिकाले कृषकको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको र आगामी दिनमा थप व्यवस्थित एवं प्रभावकारी बनाउँदै लैजान बताए । कृषि क्षेत्रमा आधुनिकीकरणमा जोड दिनुपर्ने भन्दै उनले अनुदानमा दिइने सामग्रीको उचित प्रयोग गर्न कृषकहरुलाई आग्रह गरे । 
कार्यक्रमकै अवसरमा अगुवा कृषकका लागि थोपा सिञ्चाई सेट, प्लाष्टिक पोखरी र टनेल खेतीका लागि प्लाष्टिक सेट एवं बेमौसमी तरकारीका बिउ वितरण गरिएको थियो । प्लाष्टिक पोखरी २५ थान, प्लाष्टिक टनेल २२ थान, थोपा सिञ्चाई सेट १५ तथा तथा आवश्यक तरकारीका बिउ वितरण गरिएको कृषि विकास शाखा प्रमुख रेशमवहादुर दाहालले जानकारी दिएका छन् । कार्यक्रम नमोबुद्ध नगरपालिका कृषि विकास शाखाको आयोजना तथा फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा सम्पन्न भएको हो । 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्