19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा कोरोनोविरुद्धको खोप सुरु, चारवटा स्थानीय तहका ५ सय भन्दा...

नमोबुद्धमा कोरोनोविरुद्धको खोप सुरु, चारवटा स्थानीय तहका ५ सय भन्दा बढीलाई खोप लगाइने

१६ माघ २०७७/छेडुप तामाङ
काठमाडौ–
काभ्रेको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मेथिनकोट अस्पतालबाट पहिलो चरणमा खोप लगाउन सुरुवात गरिएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यता तथा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष आथित्यतामा भएको कार्यक्रममा मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठले पहिलो खोप लगाएसँगै खोप अभियान सुरु गरिएको थियो । श्रेष्ठलाई मेथिनकोट अस्पतालमा कार्यरत सिअनमी कोशल्या न्यौपानेले पहिलो खोप लगाइदिएकी थिइन् । त्यसअघि प्रमुख जिल्ला अधिकारी पोखरेल र जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले नगर प्रमुख तिमल्सिना र डा. श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए ।

मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाईकर्मी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई खोप लगाइनेछ । जसमध्ये नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्सचालक, सरसफाईकर्मी लगायत २ सय ३० जना, रोशी गाउँपालिकाका १ सय ५०, तेमाल गाउँपालिकाका  १ सय १९ र महाभारत गाउँपालिकाका ९३ जना रहेका छन् । यसमा केही पालिकामा कार्यरत स्वास्थ्य क्षेत्रको सुरक्षामा संलग्न सुरक्षाकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स चालकको संख्या थप हुने मेथिनकोट अस्पतालका हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्यले जानकारी दिए । पहिलो चरणको खोप अभियान यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । आज शुक्रबार दिउँसोसम्म ८० जनालाई खोप लगाइसकिएको आचार्यले बताए ।

खोप सुरुवात कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरे । उनले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाकै कारण स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार आएकाले पहिलो चरणमा उनीहरु प्राथमिकतामा परेको र क्रमश सबै जनताले खोपको सुविधा पाउने जानकारी बताए । उनले खोपका विषयमा हुने नकारात्मक प्रचारबाट टाढै रहन पनि आग्रह गरे । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पी शर्मा तिमल्सिनाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रको सक्रियताका कारण काभ्रेमा कोरोनाका कारण धेरै क्षति पुग्न नपाएको बताउँदै खोप कार्यक्रमले स्वास्थ्यकर्मीको आत्मबल थप बलियो हुने विश्वास व्यक्त गरे । उनले मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गरिएको र अब ट्रमा सेन्टरको रुपमा पनि अघि बढाउन पहल भइरहेको बताए । मेथिनकोट अस्पतालबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु हुनु खुशीको कुरा भएको तिमल्सिनाले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा कोहीपनि स्वास्थ्यकर्मी र सरसफाईकर्मी लगायत फ्रन्ट लाइनमा खटिने व्यक्तिहरु पहिलो चरणकैै खोपबाट बञ्चित नहुने र सबैलाई समेटिने बताए । उनले काभ्रेमा आफूले नै खोप लगाएर यो अभियान सुरु गरेकाले नडराई, ढुक्क भएर खोप लगाउन पनि आग्रह गरे । यस्तै मेथिनकोट अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवं नमोबुद्ध ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्लेले खोप कार्यक्रमका लागि मेथिनकोट अस्पताललाई छनोट गरिएकोमा सम्वन्धीत सबैलाई आभार प्रकट गरेका थिए । कार्यक्रममा मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठले खोप अभियानलाई सफलतापुर्वक सम्पन्न गर्न अस्पतालको सिंगो टिम लागिपरेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भुपेन्द्रवहादुर खत्री, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, जिल्ला समन्वय अधिकारी केशव प्रसाद रिजाल लगायतको उपस्थिति थियो ।  यसअघि काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालबाट बुधबार खोप कार्यक्रम सुरु गरिएको थियो । काभ्रेमा पहिलो चरणमा ३ हजार ५ सय ८१ जनालाई कोरोनावरुद्धको खोप लगाइनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्