17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको नाग्रेगगर्चेमा ‘एकिकृत नमुना बस्ती’ निर्माण शुरु, राज्यमन्त्री मानन्धरद्वारा शिलान्यास

काभ्रेको नाग्रेगगर्चेमा ‘एकिकृत नमुना बस्ती’ निर्माण शुरु, राज्यमन्त्री मानन्धरद्वारा शिलान्यास

५ पौष २०७७
काठमाडौ
–चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाँउपालिका वडा नम्बर २ नाग्रेगगर्चेको दुधी पहिरोका कारण जोखिम भएका स्थानीयहरुको लागि तामाखोला एकिकृत नमुना बस्ती निर्माण कार्य शुरु भएको छ । आज एक कार्यक्रमका बीच शहरी बिकास राज्यमन्त्री रामबीर मानन्धरले उक्त एकीकृत नमुना वस्तीको शिलान्यास गरेपछि निर्माण कार्य शुरु भएको हो ।

महाविनासकारी भुकम्प पछि उक्त गाउँ झनबढी जोखिममा परेको थियो । सरकारले पाँच वर्ष अघि नै एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएता पनि ढिलोगरि निर्माण कार्य शुरु भएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले एकीकृत नमुना वस्तीको उद्घाट गर्न पनि आफू चाँडै आउने बताए । ‘यो काम अब चाँडै सम्पन्न हुने छ । एकीकृत नमुना बस्ती निर्माणमा जुटेकाहरुलाई जतिसक्दो छिटो काम सम्पन्न गर्न अनुरोध गर्न चाहन्छु ।’ मानन्धरले भने, ‘अब म उद्घाटन गर्न पनि चाँडै आउने छु । ढुक्क हुनुहोस् ।’
उनले विगतमा भएको विभिन्न प्रकारको संघर्ष गलत नभएको बताउँदै स्थायी सरकार प्राप्त भएकोमा खुशी हुनेपर्नेमा जोड दिए । ‘हामीले गरेको संघर्ष गलत थिएन । ७० वर्ष पछि पाँचवर्षे सरकार गठन भएको छ । खुशीको कुरा हो ।’ राज्यमन्त्री मानन्धरले भने, ‘समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि तपाईंहरुले दिएको मत नेकपालाई हो । नेपाली जनताको चाहना हामीले पूरा गर्न सकेनौ भने नेपाली जनताले के सोच्लान् ?’

कार्यक्रममा मानन्धरले पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड युगपुरुष रहेको बताउँदै दुवै जना मिलेकोले स्थायी सरकार निर्माण गर्न सकेको बताए । ‘नेपालको इतिहासमा धरै मान्छेहरु जन्मे होलान, एउटा युगमा एकजना युग पुरुष जन्मिन्छ भन्ने थियो तर आज नेपालमा दुईजना युगपुरुषहरु जन्मेका छन् त्यो भनेको केपी ओली र प्रचण्ड हुन् ।’ उनले भने, ‘मैले यो कुरा किन भनेको भने यो दुईटा अध्यक्षले पार्टी नमिलाएको भए फेरिपनि यो देशमा पाँच–पाँच महिना, नौ–नौ महिनामा सरकार फेरिरहन्थ्यो ।’
समृद्ध नेपाल सुखी नेपाली बनाउन सकेनौं भने अविशाप हुने बताउँदै उनले समृद्ध नेपाल बनाउन यो सरकार बाहेक अरुले नसक्ने दावी समेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले एकीकृत वस्ती निर्माण कार्य चाँडो भन्दा चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘यो कार्य हामीले एक वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।’ सांसद ढकालले भने, ‘तदारुकताका साथ यो काम चाँडै सम्पन्न गर्न म अनुरोध गर्दछु ।’

त्यसैगरि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले राज्यले ल्याएको एकीकृत नमुना वस्ती निर्माण गर्ने योजना सरकारले धेरै अघि ल्याएको बताउँदै आज एकीकृत वस्ती निर्माण कार्य शुरु गर्न पाएकोमा खुशी लागेको बताए । गाँउपालिकाको बिकास निर्माणमा सबै सरकारी, गैर सरकारी तथा अन्य संघ संस्थासँग पनि सहकार्य गरेर लागी परेको अध्यक्ष गौतमले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, गाउँपालिका उपाध्यक्ष तारकुमारी चौंलागाईं, वडा अध्यक्षहरु धनबहादुर तामाङ, राम लामा, राजकुमार गौतम, राजुआले तामाङ, नेकपाका युवा नेता दिपक चौंलागाईं, लेखराज गौतम लगायतका सहभागीता रहेका थिए ।

यसरी बन्छ एकीकृत नमुना बस्ती
३९ रोपनी १३ आना जग्गामा निर्माण हुने उक्त तामाखानी एकीकृत नमुना बस्तीमा २१ ओटा घरहरु निर्माण हुने वडा अध्यक्ष दिनेश लामाले बताए ।
ती घरहरु सँस्कृति मैत्री बन्ने वडा अध्यक्ष तामाङले जानकारी दिए । ‘यहाँ २१ वटा घरहरु निर्माण हुनेछन् । ती घरहरु मध्ये ११ ओटा तामाङ संस्कार, संस्कृति झल्कीने र ९ ओटा नेवारी समुदायको संस्कार,संस्कृति झल्कने खालको घर निर्माण हुनेछ ।’ तामाङले भने, ‘यो ठाउँमा तामाङ समुदाय र नेवार समुदायको बसोबास भएकाले सँस्कृतिमैत्री बस्ती बनाउन लागेको हो ।’
सो एकीकृत नमुना बस्तीको बिचमा सामुदायीक भवन, बाटोहरु, खानेपानीका धारहरु, शिव मन्दीर र स्तुपा, पार्क लागायतका अन्य संरचनाहरु पनि निर्माण गरिने वडा अध्यक्ष लामाले जानकारी दिए ।
एकीकृत वस्तीमा एक घर बराबर ४ लाख लागत अनुमान गरिएको छ भने बाटो तथा पुवार्धर निमार्णका लागी ८४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । आगामी असार मसान्त सम्ममा निमार्ण कार्य सम्पन्न गर्ने योजना अनुसार काम सुरु गरीने बताईएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्