23.1 C
Kathmandu

ब्रेकिङ समाचारहप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सरकारलाई सिफारिस

हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सरकारलाई सिफारिस

२६ मंसिर २०७७
काठमाडौ–
हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ ।

अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो । विज्ञहरुको राय, उद्योगी, ट्रेड यूनियनसँगको छलफलका निष्कर्षलाई समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास, सन्धी सम्झौता र नीति नियमलाई समेत अध्ययनको आधार मानिएको छ ।

समितिले गरेको अध्ययन अनुसार संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने गरेको छ । सातामा एक दिन मात्र बिदा दिने मुलुक १२ प्रतिशत रहेको अध्ययनमा देखिएको छ ।

एउटा देशले भने सातामा तीन दिनसम्म बिदा दिने गरेको छ । सबैभन्दा बढी बिदा दिने मुलुक कम्बोडिया र सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुक मेक्सिको भएको अध्ययनमा उल्लेख छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्