24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा निजी विद्यालय एकीकरणको पहल, प्राविधिक शिक्षालय स्थापनामा जोड

नमोबुद्धमा निजी विद्यालय एकीकरणको पहल, प्राविधिक शिक्षालय स्थापनामा जोड

भकुण्डेबेसी–नमोबुद्ध नगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन नगरपालिकाले पहल सुरु गरेको छ । सोही उद्देश्यले नगरपालिकामा रहेका निजी विद्यालयहरुबीच एकीकरण गरेर प्राविधिक शिक्षालय स्थापनाका लागि छलफल सुरु भएको छ ।

नगरपालिकाको शिक्षा समितिले यसबारे नगरभित्र रहेका निजी विद्यालयका प्रतिनिधि र सरोकारवालासँग छलफल अघि बढाएको छ । शिक्षा समितिको आइतबार बसेको बैठकमा सहभागी निजी विद्यालयका प्रतिनिधिसमेत नगरपालिकाको प्रस्तावमा सकारात्मक देखिए । हाल नमोबुद्ध नगरपालिकामा सातवटा निजी अर्थात संस्थागत विद्यालय रहेका छन् । तीमध्ये नगरपालिकाको केन्द्र भकुण्डे क्षेत्रमा पाँचवटा विद्यालय रहेका छन् । नगरभित्र अत्याधुनिक र प्राविधिक शिक्षा दिनेगरी शैक्षिक संस्था स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्यको पहल गरिएको नगरपालिकाको शिक्षा समितिका संयोजकसमेत रहेका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

नगरभित्रका निजी विद्यालयहरु मिलेर आपसमा एकीकरणसहित शैक्षिक संस्था स्थापनाका लागि तयार भए नगरपालिकाले जग्गासहित आवश्यक सहयोग गर्ने तिमल्सिनाले बताए । ‘अब परम्परागत भन्दा पनि अत्याधुनिक र प्राविधिक शिक्षाको आवश्यकता छ’ नगर प्रमुख शर्माले भने, ‘प्रविधिमैत्री शिक्षाका लागि सहयोग गर्न स्वदेशी र विदेशी दातृ संस्था र निकायसमेत तयार छन् ।’ उनले विद्यालयहरुबीच एकीकरण गर्ने कार्ययोजना बनाएर ल्याउन पनि निजी विद्यालयका प्रतिनिधिलाई आग्रह गरे ।

स्थानीय बुद्ध एकेडेमीका संस्थापक कुमार दाहालले आफ्नो विद्यालयलाई सामूदायिक बनाउन तयार रहेको भन्दै आवश्यक नेतृत्वका लागि नगरपालिकालाई आग्रह गरे । अब निजी सरकारी शैक्षिक संस्था सँगसँगै अघि बढ्नुपर्ने उनले बताए । ग्रामीण पाठशालाका विदुर भण्डारीले नगरपालिकाले अघि सारेको प्रस्ताव सकारात्मक भएको बताए । नगरपालिकाले नेतृत्व गरे आफूहरु प्राविधिक शिक्षासहितको शैक्षिक संस्था सञ्चालनका लागि तयार रहेको उनले बताए । स्थानीय जनक मावि व्यवस्थापन समितिका अध्यक्ष भरत दाहाल भने प्राविधिक शिक्षालयको अवधारणा राम्रो भए पनि सञ्चालनमा कठिनाई रहेको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति भोलाप्रसाद चापागाईं विद्यालयहरुबीच एकीकरणमा सघाउन नगरपालिका तयार रहेको र विकल्पका रुपमा गुठी विद्यालयको मोडलमा जान सकिने बताउँछन् । नगरपालिकाको शिक्षा समितिका सहसंयोजक एवं वडाअध्यक्ष कृष्णवहादुर तामाङ तथा अर्का वडाअध्यक्ष रामकृष्ण उपाध्यायले निजी विद्यालयहरुले कार्यविधि बनाएर ल्याए मर्जबारे नगरपालिकाको कार्यपालिका बैठकमा छलफल गरेर आवश्यक निर्णय लिन सकिने बताए । विद्यालय मर्ज गरेर शैक्षिक गुणस्तर कायम गर्न निजी विद्यालयहरु अग्रसर हुनुपर्ने उनीहरुको भनाई छ ।

नमोबुद्ध नगरपालिकामा हाल ४० वटा सामूदायिक विद्यालय रहेका छन् । नगरपालिका शिक्षा शाखा संयोजक उपसचिव जनार्दन रिजालका विगतमा ४७ वटा विद्यालय रहेकामा विद्यार्थी संख्या नपुग भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयसँग एकीकरण गरेर ४० वटा विद्यालय कायम गरिएको हो । नगरपालिकामा विद्यार्थी संख्याको आधारमा विद्यालय धेरै भएको रिजाल बताउँछन् । उनका अनुसार विद्यार्थी संख्याको आधारमा नगरपालिकाभित्र २५ देखि ३० वटामात्रै विद्यालय आवश्यक देखिएको छ । सामूदायिक विद्यालयहरु थप एकीकरणबारे छलफल चलिरहेको र विद्यार्थी संख्या अनुगमनपछि यसबारे निर्णय हुनसक्ने रिजालको भनाई छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्