19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धको दाप्चा कृष्ण बहुमुखी क्याम्पसको दशौं बार्षिकोत्सव सम्पन्न

नमोबुद्धको दाप्चा कृष्ण बहुमुखी क्याम्पसको दशौं बार्षिकोत्सव सम्पन्न

३० माघ २०७७/छेडुप तामाङ

काठमाडौ | दाप्चा कृष्ण बहुमुखी क्याम्पस नमोबुद्ध–९ छत्रेबाँझ दाप्चाको दशौं बार्षिकोत्सव समारोह नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न भएको छ । 

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं नमोबुद्ध १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नगरमा शैक्षिक क्षेत्रको विकासका लागि आफूहरु निर्वाचित भएदेखि नै आवश्यक नीति तथा कार्यक्रम तयार पारी कार्यान्वयनमा लगिएको बताए । दाप्चा क्षेत्रको एकमात्र क्याम्पस दाप्चा कृष्ण बहुमुखी क्याम्पसको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने तिमल्सिनाले बताए । दाप्चा क्षेत्रमा शैक्षिक उन्नतिका लागि चाँडै नै सरोकारवालाहरुबीच छलफल गरी गुरुयोजना निर्माण गर्ने र सोहीअनुसार अघि बढ्ने पनि तिमल्सिनाले बताए । ऐतिहासिक दाप्चा क्षेत्रको संरक्षण र विकासका लागि आफू निर्वाचित हुनुअघि र निर्वाचित भएपछि पनि सक्रियरुपमा लागेको तिमल्सिनाले बताए । उनले तत्कालिन काशीखण्ड नगरपालिकाको नाममा ऐतिहासिक क्षेत्र दाप्चाको पनि नाम समेट्नुपर्छ भन्ने उद्देश्यले आफू सक्रिरुपमा लागेको र दाप्चा काशीखण्ड नगरपालिका नामाकरण भएको स्मरण पनि उनले गरे । क्याम्पसमा प्राविधिक शिक्षाको व्यवस्थापन गर्न आफूले पहल गर्ने पनि तिमल्सिनाले बताए । 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले शिक्षाको विकासबाट नै मुलुकको विकास हुनुपर्ने भन्दै दाप्चा कृष्ण बहुमुखी क्याम्पसले दाप्चा क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिकाको प्रशंसा गरिन् । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गुणस्तरीय शिक्षाले नै मुलुकको संर्वाङ्गिण विकास हुने बताए । सामाज रुपान्तरणका लागि व्यक्ति रुपान्तरिक हुनुपर्ने र त्यसका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने उनले बताए । दाप्चा क्षेत्रको विकास र शैक्षिक उन्नतिका लागि आफू सक्रियतापूर्वक लागिपर्ने पनि उनले बताए । 

कार्यक्रममा क्याम्पस प्रमुख ज्ञानवहादुर भुजेलले क्यापस स्थापनादेखि अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए । क्याम्पसबाट हालसम्म ४० भन्दा बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गरिसकेका छन् । २०६७ सालमा स्थापना भएको क्याम्पसमा हाल व्यवस्थापन संकायमा बिबिएस र शिक्षाशास्त्र संकायमा बिएडतर्फको पढाई हुने गरेको छ । स्थानीय शिक्षाप्रेमीहरुको सक्रियतामा देउसीभैलो खेलेर आर्थिक सहयोग संकलन गरी क्याम्पस स्थापना गरिएको थियो । क्याम्पस स्थापनाका लागि १३ सय भन्दा बढीले आर्थिक सहयोग गरेका थिए । क्याम्पसमा हालै विश्वविद्यालय अनुदान आयोग र सामाजिक विकास मन्त्रालयको सहयोगमा भवन निर्माण भएको छ । अझै पनि क्याम्पसमा तुलनात्मकरुपमा विद्यार्थी संख्या कम भएको, आर्थिक रुपमा सबल हुन नसकेको, पुस्तकालय, खेल मैदान आदि व्यवस्थापन गर्न समस्या परेको एक घर एक स्नातक अभियान  अघि बढाउन नसकिएको, छात्राहरुलाई पुरै अवधी क्याम्पसमा टिकाउन समस्या परेको भुजेलले जानकारी दिए । 

कार्यक्रममा क्याम्पस स्थापनाका लागि देउसी भैलो कार्यक्रममा सहयोग गर्ने, क्याम्पसको बार्षिकोत्सवको अवसरमा अक्षयकोषमा सहयोग गर्ने लगायतका सहयोगी दाताहरुको नामावलीसहितको शिलालेख अनावरण गरिएको थियो । नगर प्रमुख टिपी शर्मा तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले शिलालेख अनावरण गरेका थिए । 

कार्यक्रममा क्याम्पसका सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो भने बार्षिकोत्सवमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । 

दाप्चा माविका प्रधानाध्यापक दिनेश अधिकारी, शिक्षक महासंघ नमोबुद्धका अध्यक्ष पञ्चसिं लामा, समाजसेवी एवं क्याम्पस व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णवहादुर श्रेष्ठ, सहयोगदाता सूर्यकुमार श्रेष्ठ, युवा व्यवसायी एवं क्याम्पसका सहयोगी धावा लामा, नायिका केकी अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सहायक क्याम्पस प्रमुख राजन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्