काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राजधानी काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा सवारीसाधनमा आगजनी गरिएको छ। काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ ।
नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएको छ ।
महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ । घटनालाई निर्वाचन बिथोल्ने नियोजित प्रयासका रूपमा सुरक्षा निकायले अनुसन्धान थालेको जनाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ ।
घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। संवेदनशील मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको संख्या बढाइएको तथा शंकास्पद गतिविधिमाथि निगरानी तीव्र पारिएको प्रशासनले जनाएको छ। प्रहरीले आगजनीमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताउँदै लोकतान्त्रिक प्रक्रियामा अवरोध पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ। स्थानीय बासिन्दाले भने यस्ता घटनाले त्रास सिर्जना गर्ने प्रयास भए पनि मतदानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको एसपी भट्टराईले बताए । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।
