टुंडिखेलमा आज ल्होछारको दोस्रो दिन विशेषः झांकीसहित सांस्कृतिक कार्यक्रम भव्य रहने
काठमाडौं । काठमाडौको टुंडिखेलमा हुने ल्होछार कार्यक्रममा आज दोस्रो दिन लामा, ताम्बा र बोन्बोद्वारा पुजापाठ संगै झांकी प्रस्तुती सहित बृहत सांस्कृतिक कार्यक्रमको भव्य तयारी रहेको छ ।
राष्ट्रिय सोनाम ल्होछार-२८६२ ता ल्होछार मूल समारोह समितिले माघ ४ गते सांझ सांस्कृतिक कार्यक्रमको साथ शुरु गरिएको ल्होछार कार्यक्रमको आज दोस्रो दिन विशेष रहने भएको छ । आज दोस्रो दिनको कार्यक्रममा बिहान ११ बजे लामा, ताम्बा र बोन्बोद्वारा पुजापाठ सहित सांस्कृतिक झांकी प्रस्तुती रहनेछ । दिउंसो १२ बजे प्रधानमन्त्री सुशीला कार्कीज्युबाट बृहत तामाङ सांस्कृतिक महोत्सव तथा ल्होछार कार्यक्रमको समुद्घाटन हुने भएको छ । छोटो औपचारिक कार्यक्रमपछि भने चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ । कार्यक्रम स्थलमा यो बर्ष मौलिक भेषभुषा, मौलिक खाना, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य तामाङ जातिको पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिने मूल समारोह समितिले जनाएको छ ।
ल्होछार महोत्सवका लागि नेपाल तामाङ घेदुङ संयोजक र नेपाल राष्ट्रिय तामाङ घेदुङ सहसंयोजक तथा अन्य सबै तामाङ संस्थाहरु सदस्य रहनेगरी १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति मातहत रहनेगरी सांस्कृतिक कार्यक्रम समिति, ताम्बा, लामा, बोन्बो तयारी समिति, स्वयंसेवक तयारी समिति, प्रचारप्रसार समिति, स्वागत, सत्कार समिति, मञ्च व्यवस्थापन समितिहरु गठन गरिएको हॅुदा यो बर्षको ल्होछार कार्यक्रम थप व्यबस्थित रहने आयोजकले जानकारी दिएको छ ।
आजकै दिन देशविदेशको विभिन्न ठाउंहरुमा समेत तामाङ समुदायले ल्होछार हर्षोल्लासको साथ मनाउनेछन् ।
