कला/ साहित्यपापदेखि प्रज्ञासम्मको यात्रा अब रंगमंचमा-मिलारेपा भोलीदेखि नाटकघरमा नियमित मञ्चन हुँदै

पापदेखि प्रज्ञासम्मको यात्रा अब रंगमंचमा-मिलारेपा भोलीदेखि नाटकघरमा नियमित मञ्चन हुँदै

काठमाडौं । तिब्बती बौद्ध धर्मका महान योगी तथा आध्यात्मिक मार्गदर्शक धर्मगुरु मिलारेपाको जीवनकथामा आधारित नाटक “मिलारेपा” भोलीदेखि राजधानीस्थित मण्डलामा नियमित रूपमा मञ्चन गर्ने तयारी रहेको छ ।

आईतबार विशेष मञ्चन गर्दै नाटक निर्माण पक्षले मंगलबारदेखि निरन्तर मञ्चनको तयारी रहेको जानकारी दिएको हो । नाटकले मिलारेपाको बाल्यकालदेखि तपस्यामार्फत आत्मज्ञान प्राप्तिसम्मको अद्भुत यात्रालाई कलात्मक रुपमा प्रस्तुत गरेको छ। चाङ् ङ्योन हेरुकको लेखन रहेको नाटकमा नेपाली रंगमंच र चलचित्र उद्योगमा समेत निक्कै नै चर्चित कलाकार बुद्धि तामाङ र उमेश तामाङको निर्देशिन रहेको छ । गुरु कोशिस लोब्साङ वाईबाको संयोजकत्वमा बनेको उक्त नाटकको नाट्य रुपान्तरण रविन तामाङले गरेको हो । नाटकमा पाप, पश्चात्ताप, साधना र मुक्ति जस्ता गहिरो आध्यात्मिक विषयहरूलाई दृश्य माध्यममार्फत दर्शक सामु जीवन्त रूपमा उतारिएको छ।

नाटकमा मिलारेपाको भूमिकामा रुपेश लामाले अभिनय गरेका छन् भने, रमिला मोक्तान, विकाश लामा, सानु माया तामाङ, रस्मिला तामाङ, रिया लामा, बुजय तामाङ, बल बहादुर राई, निलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्य स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवन कुमार गोले र सबिता तामाङको अभिनय रहेको छ । नाटकको संगीत परिकल्पना आदित्य कटुवालको रहेको छ भने स्वर आनि छोईङ डोल्मा, सरेश लामा, शुभलाल ग्लान तामाङको रहेको छ । नृत्य र संवादको संयोजनले सम्पूर्ण कथा भावनात्मक र प्रेरणादायी बनेको आयोजकले बताएका छन् भने हिजो भएको विशेष प्रदर्शनमा धेरैको आखा रसाएको थियो

आयोजकका अनुसार नाटक कार्तिक १८ गतेदेखि मंसिर २१ गते सम्म सोमबार बाहेक हरेक दिन सांझ ५ः३० बजे नियमित मन्चन हुने छ भने शनिबारको दिन दिउंसो १ः०० बजे पनि मन्चन हुने जानकारी दिएको छ । नाटक हेरेर दर्शकहरूले आत्मशुद्धि, क्षमाशीलता र साधनाको महत्वबारे गहिरो सन्देश पाउने अपेक्षा गरिएको छ।

‘मिलारेपा’ नाटकले धर्म, दर्शन र कलाको संगममार्फत आत्मज्ञानको बाटो देखाउने कोसिस गरेको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्