दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका-१ लामावगरका जेन्जी पुस्ताका दर्जनौं युवाहरू औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधवार चरिकोट स्थित नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
बुधवार जिल्ला पार्टी कार्यालय चरिकोटमा आयोजित कार्यक्रममा नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री पार्वत गुरुङ संगै पार्टीका जिल्ला तथा पालिका तहका नेताहरूले उनीहरूलाई टिका तथा खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले युवाको सहभागिताले पार्टी संगठन थप सशक्त, ऊर्जावान र प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरेका थिए । युवा पुस्ताले विगु गाउंपालिका संगै समग्र दोलखा जिल्लाको विकासको इतिहांस बुझ्न जरुरि रहेको बताउंदै त्यो इतिहांस बनाउने र विकास गर्ने पार्टी नेकपा एमाले रहेको बताए ।
नवप्रवेशी युवाहरूले देशमा स्थायित्व, विकास र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेको शक्तिका रूपमा एमाले रोजेको बताएका छन्। “अबको राजनीति युवामैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्छ,” एक नवप्रवेशी युवाले भने, “त्यसका लागि हामी सक्रिय भूमिका खेल्न चाहन्छौं।”
स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी सामाजिक सञ्जालमार्फत सक्रिय जेन्जी पुस्ताको एमालेतर्फको आकर्षणले आगामी दिनमा संगठन विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा पार्टीका विभिन्न तहका प्रतिनिधिहरू, स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। नेकपा एमाले दोलखाको अनुसार युवाको सहभागिता आगामी दिनमा अझ बढ्ने विश्वास लिइएको छ।
