दोलखा । दोलखा चरिकोट आसपासमा सिमसिमे झरीसंगै मौसम चिसिएको छ, तर चुनावी तापक्रम भने उच्च रहेको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पार्वत गुरुङ यतिबेला दोलखा जिल्लाभरि चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। घरदैलो कार्यक्रम, कोणसभा, युवासँग अन्तरक्रिया तथा टोलस्तरीय भेटघाटमार्फत गुरुङले मतदातासँग प्रत्यक्ष संवाद बढाएका छन्।
चुनावी मैदान तातिँदै जाँदा गुरुङको पक्षमा उल्लेख्य जनसहभागिता देखिएको छ। विशेषगरी ग्रामीण भेगदेखि सदरमुकामसम्म आयोजित सभाहरूमा युवाको उल्लेख्य उपस्थिति देखिएको छ। विकास निर्माणका अधुरा कामलाई पूर्णता दिने, रोजगारी सिर्जना गर्ने, सडक, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धतासहित गुरुङले मत मागिरहेका छन्।
उनले विगतमा आफूले निर्वाह गरेको भूमिकाको स्मरण गराउँदै दोलखाको विकासका लागि निरन्तर पहल गर्ने दाबी गरेका छन्। “दोलखाको समृद्धि नै मेरो लक्ष्य हो,” भन्दै गुरुङले मतदातासँग भावनात्मक र विकासमुखी अपिल गरिरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार गुरुङको संगठित चुनावी संयन्त्र र कार्यकर्ताको सक्रियता यसपटक पनि प्रभावशाली देखिएको छ। विपक्षी दलहरू समेत गुरुङको अभियानबाट दबाबमा परेको चर्चा स्थानीय राजनीतिक वृत्तमा भइरहेको छ।
चुनाव नजिकिँदै जाँदा दोलखाको राजनीतिक माहोल थप तातिने देखिन्छ। अबको केही दिनमा हुने चुनावी सभाहरूले मतदाताको अन्तिम मनोविज्ञान कता मोडिन्छ भन्ने कुराले निर्णायक भूमिका खेल्नेछ।
