काठमाडौ । स्थापनाकाल देखि नै आम तामाङ कलाकारहरुको हकहित/ एकता संगै तामाङ गीतसंगीत, कला संस्कृतिको संबर्द्वन र प्रबर्द्वनमा लागिरहने संस्था नेपाल तामाङ कलाकार संघ नेपालको १७ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम-२०८१ भव्यताका साथ सम्पन्न भएको छ ।
बुधबार काठमाडौ कमलादी स्थित प्रज्ञा प्रतिस्ठानमा बागमती प्रदेश सरकारका माननीय मुख्य मन्त्री बहादुर सिं लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि बागमती प्रदेश सरकारका पूर्व खानेपानी सिंचाई तथा उर्जा मन्त्री माननीय तिर्थ लामा, बागमती प्रदेश सरकारका पूर्व कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्र लामा रहेका थिए भने अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए ।
प्रमुख अतिथि मुख्य मन्त्री बहादुर सिं लामा तामाङले कार्यक्रमको समुद्घाटन गरे संगै कलाकारहरुले सामुहिक रुपमा स्वागत गीत प्रस्तुत गरेका थिए भने अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना संगै तामाङ कलाकार संघको भवन निर्माण बिषयमा समेत चर्चा गरेका थिए । संस्था स्थापना भएको १७ बर्ष सम्म पनि संस्थाको आफ्नै भवन नरहेको कुरालाई लिएर सबै जसो अतिथिहरुले अबको केही समयमा नै तामाङ कलाकार संघको आफ्नै भवन हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा संघका महासचिव खेम मोक्तानले कार्यक्रम संचालन संगै संघको संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । सात पेज लामो उक्त संस्थागत प्रतिवेदनमा हाल सम्म संघले गरेका कार्यक्रमहरुको जानकारी संगै उपलव्धि समेत उल्लेख गरेका थिए । प्रतिवेदनमा नियमित कार्यक्रमको सहित थप कार्यक्रमहरुको तयार गरि भावी योजना सहित चौध वटा योजनाहरु उल्लेख गरेका थिए । त्यस्तै संघको कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सभामा प्रस्तुत गरेका ति सबै प्रतिवेदनहरु सभाबाट नै सबैले तालि बजाएर सर्बसम्मत ढंगले समर्थन जनाउदै पास गरेका थिए ।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, रेडियो नेपालको नव नियुक्त कार्यकारी प्रमुख अमरध्वज लामा लगायत अन्य थुप्रै व्यक्ति विशेषलाई सम्मान गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोशन फ्युवाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको समापन संगै संघका अध्यक्ष विशाल काल्तानले नेपाल तामाङ कलाकार संघले आयोजना गरेका हरेक कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै नेपाल तामाङ कलाकार संघको भवन निर्माणको लागि सहयोग गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएका थिए ।