19.1 C
Kathmandu

समाचारगोठाटार गोली काण्ड अपडेट: मृतक अन्सारीमाथी यस अघि पनि रड प्रहार भएको...

गोठाटार गोली काण्ड अपडेट: मृतक अन्सारीमाथी यस अघि पनि रड प्रहार भएको खुलासा

काठमाडौ । काठमाडौको कागेश्वरी नगरपालिका वडा नं.८ जम्बु डाँडा पारी कृष्ण मन्दिर नजिकै एक अज्ञात समुहको गोली प्रहारबाट मृत्यु भएका व्यवसायी अन्सारी माथी केही दिन अघि पनि रड प्रहार गरि हत्या गर्न प्रयास गरेको बुझिएको छ ।

सर्लाहीका लाल मोहम्मद अन्सारीमाथि डेढ साताअघि गोठाटारमा अज्ञात समूहले आक्रमण गरेको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बताएका छन् । स्रोतका अनुसार अन्सारीमाथि २०७९ भदौ २४ गते साँझ जम्बुडाँडामै अज्ञात समूहले रड प्रहार गरेको थियो । आक्रमण गर्नेमाथि अन्सारीले प्रतिवाद गरेपछि आक्रमणकारी समूह भागेको थियो । आक्रमणको केही बेरमा अन्सारी शंखरापुर अस्पतालमा उपचारका लागि गएका थिए । ढाडमा चोट लागेको र रड प्रहारबाट कपडा नै च्यातिएको थियो । त्यसको भोलिपल्ट जबमुडाँडा प्रहरीमा उनले आफूमाथि आक्रमण गर्नेलाई कारबाहीको मागसहित उजुरी दिएका थिए । उजुरीलाई प्रहरीले त्यति गम्भीर रूपमा लिएन । उक्त घटना र आक्रमणबाट घाइते भएका व्यक्तिबारे प्रहरीको माथिल्लो निकायमा पनि खबर गरेन । त्यस घटनाको डेढ सातापछि उनै अन्सारी हतियारधारी समूहको गोली प्रहारबाट मारिएका हुन् ।

जम्बुडाँडामा गार्मेन्ट व्यवसायी अन्सारीको सोमबार साँझ हतियारधारी समूहले हत्या गरेको थियो । हत्या आरोपितको अझै पहिचान खुलेको छैन । हत्या
पछि मात्रै अन्सारी आपराधिक समूहको निशानामा रहेको खुलेको हो । डेढ साताअघि भएको आक्रमणबारे अन्सारीका परिवार प्रहरीसँग पनि त्यति खुलेका छैनन् । अन्सारीको हत्याका कारण शोकमा परेका परिवारसँग त्यस विषयमा सोधपुछ गर्न केही कठिनाइ रहेको एक अनुसन्धान अधिकृत बताउँछन् । तर, अरु तथ्य र प्रमाण संकलन तथा प्राविधिक पक्षको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ जम्बुडाँडानजिकै व्यस्त सडकमा हतियारधारी समूहले उनीमाथि अन्धधुन्ध ४ राउन्ड गोली प्रहार गरेको थियो । टाउको, कोख र छातीको दायाँ भागमा गोली लागेको थियो । घटना लगत्तै शंखरापुर अस्पतालमा उपचारका लागि लगिएका अन्सारीको त्यसपछि थप उपचार गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

२०६४ असार २० मा अनामनगरमा भएको हत्याकाण्डमा उनै अन्सारी र पप्पु गुप्ता पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार भनिएका बाराका इल्ताफ हुसेन अन्सारी फरार भए । पक्राउ दुवैजना काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भई २०६४ साउन ९ मा कैद भुक्तानका लागि कारागार चलान भएका थिए । त्यही कसुरमा ८ वर्ष ७ महिना जेल बसेर अन्सारी २०७३ जेठ २५ मा मुक्त भएका थिए ।

सर्लाहीको गोडैता नगरपालिका–१० मनहरवाका स्थायी बासिन्दा अन्सारी जेलबाट छुटेपछि तयारी पोसाकसम्बन्धी फ्याक्ट्र्री चलाएर बसेका थिए । ५७ वर्षीय अन्सारीलाई विगतमा आपराधिक गतिविधिमा गर्ने क्रममा लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजीलगायत उपनामले चिनिएको थियो । जाली नोट, सुन तस्करी र डलर तस्करीका घटनामा संलग्न गिरोहसँग पनि अन्सारीको नाम जोडिएको थियो । जालीनोटको कारोबारमा संलग्नता देखिएपछि उनी भारतीय आपराधिक समूहको समेत निशानामा रहेको हुनसक्ने र पछिल्लो घटना त्यसकै नतिजा रहेको सोमबारको घटनालाई नजिकबाट नियालिरहेका एक प्रहरीको आशंका छ ।

अन्सारीको भारत, बंगलादेश, पाकिस्तान लगायतका गिरोहसंग पनि उठबस रहेको उनलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृत बताउँछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्