काठमाडौं । जिल्ला अदालत नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्याइका साथ साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरले शाहविरुद्ध अभियोग लैजाने क्रममा उनीमाथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो । जिल्ला अदालतले उक्त अभियोगको साटो अर्को अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बलात्कारको आरोप पुष्टि हुन नसकेको, तर अर्को अभियोगमा उनी दोषी ठहर भएको बताए ।
आरोपितमाथि जबर्जस्ती करणीको आरोप ठहर हुन नसक्ने फैसला भएको छ’ उनले भने, त्यो अभियोगमा सफाइ पाए पनि आरोपित शाहले बाल यौन दुरुपयोग गरेको देखियो, त्यही ठहरका आधारमा कैद र जरिवानाको फैसला भएको हो ।’