23.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकीको नव निर्मित भवन एकै...

नमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकीको नव निर्मित भवन एकै साथ उद्घाटन

२२ असोज २०७८


काठमाडौ । पुरानागाउँ (नमोबुद्ध) – नमोबुद्ध नगरपालिका वडा नं. १० को पक्की वडा कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । वडा कार्यालयसँगै सोही वडामा निर्माण गरिएको पुरानागाउँ स्वास्थ्यचौकीको नवनिर्मिति भवनको पनि शुक्रबार नै उद्घाटन गरिएको छ ।


नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले एक समारोहका बीच दुबै कार्यालय भवनको उद्घाटन गरेका थिए । सबै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको नमोबुद्ध नगरपालिकाले करिब ७५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरेको हो । दुई तल्ले पक्की भवनमा वडा कार्यालय सञ्चालन भएसँगै अब उक्त वडाका बासिन्दालाई वडाबाट पाउने सेवा लिन थप सहज हुने भएको छ । यस्तै करिब ३६ लाख रुपैयाँको लागतका पुरानागाउँ स्वास्थ्यचौकीको भवन निर्माण गरिएको हो । नमोबुद्ध नगरपालिकाबाट विनियोजित १० लाख रुपैयाँ र बाँकी रकम वडा कार्यालयमार्फत स्वास्थ्य चौकी निर्माण गरिएको छ । स्वास्थ्यचौकीको भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो भने वडा कार्यालय निर्माणको जिम्मा युनिक बिल्डर्स नमोबुद्ध ९ ले पाएको थियो ।


वडा कार्यालय भवनका लागि समाजसेवी रामकृष्ण श्रेष्ठले १० आना १ पैसा १ दाम जग्गा निःशुल्क उपलव्ध गराएका थिए भने स्वास्थ्य चौकीका लागि स्वर्गीय अक्कलवहादुर तामाङ, इन्द्रपसाद घोरसाइने र सानुकान्छी तामाङले ४ आनाका दरले निःशुल्क जग्गा प्रदान गरेका थिए ।
वडा कार्यालय भवन र स्वास्थ्यचौकीको उद्घाटन कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले निर्वाचनको समयमा जनतासामू गरेको प्रतिवद्धताअनुसार नै नगरको समग्र विकासका लागि आफूहरु लागिपरेको बताए । ‘हाम्रो कार्यकालमा कति विकास निर्माणका कार्य भए त्यसको मुल्यांकन जनताले गर्नुहुनेछ’ नगर प्रमुख तिमल्सिनाले भने, ‘हामी एकतावद्धरुपमा नगरको विकासका लागि योजना निर्माण र कार्यान्वयनमा लागिपरेका छौं ।’ नगरका सबै वडामा अपांगमैत्री, वातावरणमैत्री र बालमैत्री वडा कार्यालय भवन र स्वास्थ्यसंस्थाको भवन निर्माण यही आर्थिक बर्षमा पुरा हुने तिमल्सिनाले जानकारी दिए । खानेपानी र सडक पनि नगरको प्रमुख प्राथमिकतामा परेको र सबै वडा कार्यालयसम्म पुग्ने सडक निर्माण, एक घर एक धारा अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । नगरकै दुईवटा टोल वातावरणमैत्री घोषणा गरेको र सिंगो नगरलाई वातावरणमैत्री नगर बनाउन आफूहरु लागिपरेको उनले बताए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले नमोबुद्ध नगरपालिकाले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढाएको र सोहीअनुसार वडा कार्यालय तथा स्वास्थ्यसंस्थाका भवन निर्माण गरिएको बताइन् ।उनले निर्माण भएका संरचनाको सदुपयोग गर्नसमेत सबै सरोकारवालालाई आग्रह गरिन् । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरका ११ वडामध्ये ८ वटाको भवन निर्माण सम्पन्न भएको र बाँकी तीनवटाको निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिए । यसै आर्थिक बर्षभित्र सबै वडा कार्यालयको आफ्नै भवन हुने तथा सबै स्वास्थ्य संस्था पक्की भवनबाट सञ्चालन हुने उनले जानकारी दिए । नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि भौतिक पूर्वाधारको विकास प्राथमिकतामा पारिएको उनले बताए ।
यस्तै वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले सबै सरोकारवालाको साथ र सहयोगबाट वडा कार्यालयको भवन तथा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको बताउँदै जग्गादाताहरु र अन्य सहयोगीप्रति आभार प्रकट गरे । भवन निर्माणसँगै समग्र वडाको विकासका लागि आफूहरु क्रियाशिल रहेको भन्दै उनले वडा र स्वास्थ्य चौकीको भवन निर्माणपछि सेवा प्रवाह अझै प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।


कार्यक्रममा वडा कार्यालय  र स्वास्थ्य संस्थाका लागि जग्गा प्रदान गर्ने जग्गा दातालाई सम्मान गरिएको थियो । यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रेस सल्लाहकार विनोद न्यौपाने, वडा कार्यालय निर्माण गर्ने युनिक विल्डर्सका देवराज लामा, नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्ले, इन्जिनियर बिमल कार्की, समाजसेवी टिकावहादुर तामाङ, पुरानागाउँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य चौकी निर्माण उपभोक्ता समिति लगायतलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जग्गादाता रामकृष्ण श्रेष्ठका छोरा श्रीकृष्ण श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नं. ५ का अध्यक्ष बुद्धसिं तामाङ, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष केदारप्रसाद अधिकारी, समाजसेवी टिकावहादुर तामाङ, माओवादी केन्द्रका नेता हरि तिमल्सिना, वडा सचिव विरेन्द्र रावल, पुरानागाउँ स्वास्थ्यचौकी इन्चार्ज कल्पना अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सचालन जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारीले सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्