30.1 C
Kathmandu

ब्रेकिङ समाचारछोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै नमोबुद्ध नगरपालिका

छोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै नमोबुद्ध नगरपालिका

२० असोज २०७८

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ ।
स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप नमोबुद्ध नगरपालिका वडा नं. ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमाहरुलाई बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रोत्साहन रकम प्रदान गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले यही साउन १ गतेदेखि असोज १४ गतेसम्मको अवधीमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगद प्रदान गरेका हुन् । नमोबुद्ध नगरपालिका वडा नं. ९ ले विगतका बर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएवापत वडाबाट प्रदान गरिने ५ हजार रुपैयाँ, स्वास्थ्य संस्थामा सुत्केरी भएवापतको दुई हजार रुपैयाँ, एम्बुलेन्स खर्चवापत १८ सय रुपैयाँ, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप २ हजार रुपैयाँ र चारपटक गर्भ जाँच गराएवापतको ८ सय रुपैयाँ एकमुष्ट रुपमा प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिकाले सडक, पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यस बर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजवुत बनाउनका लागि थप नीति तथा कार्यक्रम तय गरेको बताए । नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै उपप्रमुख रामदेवी तामाङले हाम्रो समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको बताउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताइन् । छोरीको आशमा दुई भन्दा बढी सन्तान नजन्माउन महिलाहरुलाई आग्रह गर्दै उनले पहिले भन्दा अहिले धेरै हदसम्म विभेद कम भएको र यसलाई पूर्णरुपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाजको कल्पना गर्नसक्ने बताइन् ।

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले छोरी जन्माउँदा हतोत्साही नभई गौरव गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको बताए । उनले महिलालाई छोरी जन्माएवावत गौरवबोध होस् भन्ने उद्देश्यले थोरै भए पनि प्रोत्साहन रकम उपलव्ध गराउन थालिएको जानकारी दिए । आफ्ना बालबालिकाको पोषणका साथै शिक्षादीक्षामा पनि विशेष ध्यान दिन उनले आग्रह गरे ।

वडा नं. ९ का वडा अध्यक्ष मेलवहादुर लामाले सामाजमा रहेका विकृतिको अन्त्यका लागि सन्देशमुलकरुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । समाजमा अझै पनि बच्चा जन्मनुअघि भ्रुण जाँच गर्ने प्रचलन कायमै रहेको भन्दै उनले त्यसको अन्त्य गर्नु जरुरी रहेको बताए । आमा र बच्चाको स्वास्थ्यका लागि पोषणयुक्त खानेकुरा खानका लागि वडाबाट थोरै भए पनि आर्थिक सहयोग गर्ने क्रम आफूले सुरु गरेको उनले बताए ।

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, नमोबुद्ध नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, श्री कृष्ण बहुमुखी क्याम्पसका प्राचार्य ज्ञानवहादुर भुजेल, वडा सदस्य इश्वरी श्रेष्ठ, समाजसेवी हरि तिमल्सिना, नेपाली कांग्रेसका नेता पुष्पराज श्रेष्ठ लगायतले छोरी जन्म प्रोत्साहन कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन दाप्चा स्वास्थ्य चौकीका इन्चार्ज बलराम पौडेलले सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्