17.1 C
Kathmandu

ब्रेकिङ समाचारभौतिक उपस्थितिमा विद्यार्थी पढाउने नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग

भौतिक उपस्थितिमा विद्यार्थी पढाउने नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग

३२ साउन २०७८

नमोबुद्ध– स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थीलाई पढाउने नमोबुद्ध नगरपालिकाका तीन विद्यालयसँग स्पष्टीकरण माग गरिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध नगरपालिका वडा नं. ७ मा रहेका मर्निङस्टार प्रिस्कुल, नव प्रतिभा अंग्रेजी मावि तथा सगुन विद्या मन्दिर माविसँग के कति कारणले स्वास्थ्य मापदण्ड समेत पुरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेको हो भन्दै स्पष्टीकरण माग गरेको हो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखाका अधिकृत बुद्धिराज अर्यालसहितको टोलीले सोमबार भकुण्डे क्षेत्रमा रहेका पाँचवटा विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको क्रममा एउटा विद्यालय बन्द भएको पाइएको तथा अर्को एक विद्यालयले अनलाइनमार्फत विद्यार्थी पढाइरहेको पाइएको छ । स्पष्टीकरण सोधिएका तीनवटा विद्यालयले भने स्वास्थ्यसम्वन्धी न्यूनतम मापदण्डसमेत पालना नगरी विद्यार्थीको भौतिक उपपस्थितिमा प्रत्यक्षरुपमा पठनपाठन गराएको पाइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लामा निषेधाज्ञा जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन निर्देशन दिएको थियो भने नमोबुद्ध नगरपालिकाले यही साउन २० गते सबै विद्यालयलाई पत्राचार गर्दै कोभिड १९ महामारीको अवस्था कायमै रहेकाले भौतिकरुपमा प्रत्यक्ष पठनपाठन नगराउन तथा भर्चुअल माध्यमबाटमात्रै पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको थियो । स्पष्टीकरण सोधिएका विद्यालयलाई तीन दिनभित्र स्पष्टीकरण दिन र अन्यथा नियमाअनुसार कार्बाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्