17.1 C
Kathmandu

ब्रेकिङ समाचारचौंरीदेउरालीले ३ ठाउँमा आइसोलेसन कक्ष निर्माण गर्दै

चौंरीदेउरालीले ३ ठाउँमा आइसोलेसन कक्ष निर्माण गर्दै

२३ बैशाख २०७८

काठमाडौ । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचारको लागि ३ ठाउँमा आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिका सदस्यहरू र विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूको प्रमुख सहितको बैठकले कुल १८ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको पालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।

काभ्रे जिल्लामा कोभिड–१९ सङ्क्रमित बढी रहेको बेला उच्च सतर्कता र सङ्क्रमितको उपचार गर्नका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गौतमले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि विभिन्न योजनाहरू बनाएको जानकारी दिए ।
बैठकले धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० बेडको, वडा नं। २ मा रहेको डिसीडब्लुसि अस्पतालमा ५ बेडको र धुलिखेल अस्पतालको आउटरिच सलम्बुमा ३ बेडको आइसोलेसन कक्ष निर्माण गर्न लागेको गौतमले बताए ।

चौंरीदेउरालीमा धुसेनी शिवालय प्राथमिक अस्पतालमा २ जना, अरू अस्पतालहरूमा १/१ जना गरी ४ जना एमबिबिएस डाक्टरहरू रहेका छन् ।
औषधि र सिलिन्डर खरिद गर्नै
यसैबिच बैठकले कोभिड–१९ सङ्क्रमितलाई उपचारको लागि स्वास्थ्यकर्मीले सिफारिस गरिएको सबै प्रकारको औषधि खरिद गर्ने निर्णय समेत गरेको अध्यक्ष गौतमले जानकारी दिए ।
त्यस्तै बैठकले कम्तीमा २० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिने र उक्त सिलिन्डर खरिदको प्रक्रिया समेत अगाडि बढाउने गौतमले बताए ।
एक हप्ता भित्र पदपूर्ति गरिने
चौंरीदेउराली गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरूमा विभिन्न पदमा रिक्त रहेको छ । स्वास्थ्य चौकीमा विभिन्न दरबन्दीमा खाली रहेका पदमा एक हप्ता भित्रमा स्वास्थ्यकर्मीहरूको पदपूर्ति गर्ने बैठकले निर्णय गरेको छ । साथै स्वास्थ्यकर्मीहरूलाई आवश्यकता अनुसार विभिन्न ठाउँको आइसोलेसन कक्षमा परिचालन गर्न लागेको अध्यक्ष गौतमले जानकारी दिए ।
बजार क्षेत्रमा भिडभाड नगर्न अनुरोध
बजार क्षेत्र पुरै बन्द नगरेकोले सम्भावित भिडभाडलाई कम गर्न अध्यक्ष गौतमले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘बजार क्षेत्रमा भिडभाड हुन नदिनका लागि हामीले बजार खोल्ने समय समेत निर्धारण गर्न लागेका छौँ ।’ उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्डहरूलाई अनिवार्य रूपमा पालना गर्न र गराउन म सबैमा अनुरोध गर्न चाहन्छु ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्