23.1 C
Kathmandu

ब्रेकिङ समाचारओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्किए देउवा

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्किए देउवा

९ बैशाख २०७८
काठमाडौ
। कांग्रेस सभापति शेरबहादुर देउवा बहुमत सुनिश्चित नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्केका छन् । अविश्वास प्रस्ताव दर्ता भए जनता समाजवादी पार्टी (जसपा) ले पनि पक्षमा निर्णय लिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने देउवालाई मनाउने प्रयास जारी राखेका छन् ।

पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ताव दर्ताका लागि देउवालाई दबाब दिँदै आएका छन् । तर देउवा जसपा तयार नभएसम्म संख्या नपुग्ने भन्दै मानेका छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष निःसर्त प्रधानमन्त्री ओलीलाई हटाउन तयार भए पनि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको झुकाव प्रधानमन्त्री ओलीतिर बढ्दै गएको छ । मधेस र थरुहट आन्दोलनका क्रममा जेलमा रहेका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग कार्यान्वयन चरणमा पुगिरहेको भन्दै ठाकुर र महतो तत्काल वैकल्पिक सरकारको पक्षमा नदेखिएका हुन् । पार्टीभित्र पूर्वसमाजवादी र पूर्वराजपाबीचको फरक धारका कारण जसपा वैकल्पिक सरकारको विषयमा अनिर्णीत बनेको छ । यसैले देउवालाई सकस बनाएको छ ।

देउवाले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा माओवादी अध्यक्ष दाहालसँग धेरै चरणमा अनौपचारिक संवाद गरेका छन् । देउवा र दाहालबीच एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत र अविश्वास प्रस्ताव संसद्मा दर्ता एकसाथ गर्ने गरी कुराकानी भएको थियो । त्यसको सुइँको पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक हठात् अन्त्य गरेको चर्चा कांग्रेस र माओवादी वृत्तमा छ । ओलीको विकल्पका लागि एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसमेत सक्रिय हुन थालेका छन् ।

जसपा तयार नभए पनि आफूहरूले साथ दिने वचन खनाल–नेपाल पक्षले दिएको छ । स्रोतका अनुसार नेपाल र खनालसँग देउवाले मंगलबार गोप्य भेटघाटसमेत गरेका थिए । भेटमा दुवै नेताले जसपाको ठाकुर र महतोले साथ नदिए बहुमत पुर्‍याउन आफूहरूले फ्लोर क्रस गर्ने वचन देउवालाई दिएको दाबी स्रोतको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्