26.1 C
Kathmandu

ब्रेकिङ समाचारभकुण्डेमा १ सय २१ जनाको मोतियाविन्दुको शल्यक्रिया

भकुण्डेमा १ सय २१ जनाको मोतियाविन्दुको शल्यक्रिया

7 Falgun 2077
भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकामा १ सय २१ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । 
रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार र शुक्रबार आयोजित शल्यक्रिया शिविरमा १ सय २१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । नमोबुद्ध नगरपालिका, लायन्स क्लब अव काठमाडौं टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीले संयुक्तरुपमा शिविर आयोजना गरेका हुन् । शिविरको सहआयोजकको रुपमा काभ्रेपलाञ्चोक चेम्बर अफ कमर्श रहेको थियो । 
शल्यक्रिया शिविरअगाडि नमोबुद्ध नगरपालिकाका विभिन्न सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । ती शिविरमा मोतियाविन्दु पत्ता लागेका बिरामीको दुई दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुण्डेस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । अस्पतालले भकुण्डेबेशी सेवा केन्द्रमा पहिलोपटक यति धेरै बिरामीको एकैपटक मोतियाविन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिएका छन् ।  शर्माका अनुसार पहिलो दिन ५२ जना र दोस्रो दिन ६९ जनाको शल्यक्रिया गरिएको छ । 
नगरका विभिन्न स्थानमा आयोजना गरिएको शिविरमा १२७० जनाको परिक्षण र उपचार गरिएकोमा बाट १ सय ७४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । दुई दिनसम्मको शिविरमा शल्यक्रिया गर्न नगएका बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा पुगेर निःशुल्क शल्यक्रिया गराउनसक्नेछन् । शल्यक्रियाका लागि गाउँगाउँबाट आएका बिरामीहरुले अस्पताल र आयोजकहरुप्रति आभार प्रकट गरेका थिए । शल्यक्रिया शिविरको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
नमोबुद्ध नगरपालिकाले विगतदेखि नै नगरमा मोतियाविन्दु न्यूनिकरण अभियान सञ्चालन गरिरहेको छ । नगरपालिका र रेयुकाई मासुनागा आँखा अस्पतालको सहकार्यमा सञ्चालित अभियानबाट नगरका सयौं मोतियाविन्दुका बिरामी लाभान्वित भएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्