28.1 C
Kathmandu

ब्रेकिङ समाचारएमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गर्नुपर्छ ः चित्रबहादुर केसी

एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गर्नुपर्छ ः चित्रबहादुर केसी

२४ फागुन २०७७
काठमाडौ
। राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्च अदालतको फैसलाले राजनीतिक अन्यौलता सिर्जना गरेको जनाएको छ । यो अन्यौलताको स्थिति अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने जनमोर्चाको मत छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक (एमाले र माओवादी केन्द्र) मिलेर सरकार गठन गर्नु उपयुक्त हुने जनाएका छन् ।

‘नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक बीचमा कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

संसदको विघटन, नेकपाभित्रको अन्तरविरोध वा कलहको मुख्य कारण ओलीको व्यक्तिवादी र अराजक कार्यशैली नै बढी जिम्मेवार रहेको भन्दै केसीले अहिले पनि ओली नै बढी जिम्मेवार रहेको उल्लेख गरेका छन् ।

‘यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकास दिनु पर्दछ,’ केसीले भनेका छन् ।

नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि खतरा पैदा हुने भन्दै केसीले राष्ट्रिय एकताको खाँचोसमेत औंल्याएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । त्यही कारणले हामीले केपी ओलीको सरकारलाई समर्थन गरेका थियौं । ओलीको संसद विघटनको कदमले ती कुराहरुमा खतरा उत्पन्न भएपछि हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लियौं । अहिलेको स्थितिमा पनि त्यो खतरा टरेको छैन । त्यो खतराका विरुद्ध राष्ट्रिय एकताको खाँचो छ ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्