17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा महिला स्वास्थ्य स्वयंसेविकालाई आँखामा लाग्ने रोगका विषयमा तालिम

नमोबुद्धमा महिला स्वास्थ्य स्वयंसेविकालाई आँखामा लाग्ने रोगका विषयमा तालिम

14 Falgun 2077

भकुण्डेवेशी– नमोबुद्ध नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आँखामा लाग्ने रोगका विषयमा तालिम प्रदान गरिएको छ । 

रेयुकाई एईको मासुनागा आँखा अस्पतालको आयोजनामा भएको तालिमको उद्घाटन नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका थिए  । 

कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नमोबुद्ध नगरपालिकालाई मोतिविन्दु मुक्त नगर बनाउने आफूहरुको अभियान रहेको र सोहीअनुसार रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरिएको बताए । उनले अस्पतालसँगको सहकार्यमा समयसमयमा आँखा शिविर सञ्चालन गर्दै लगिएको, भकुण्डेबेशीमा अस्पतालको सेवा केन्द्र स्थापना गरिएको बताए । नगरबासीको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै ११ वटा वडामा १४ वटा स्वास्थ्य संस्था निर्माण गरिएको तथा मेथिनकोट अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकास गरिएको उनले बताए । 

नगरपालिकाले उपलव्ध गराएको मोबाइल फोन प्रयोग गरेर गाउँघरमा भएका स्वास्थ्य समस्याबारे सूचना उपलव्ध गराउन उनले स्वास्थ्य स्वयंसेविकाहरुलाई आग्रह गरे । 

कार्यक्रममा रेयुकाई मासुनागा आँखा अस्पतालका सचिव धर्मभक्त प्रधानले कोही पनि अन्धोपनको शिकार बन्न नपरोस् भन्ने उद्देश्यले अस्पताल स्थापना गरिएको र बनेपापछि भकुण्डेमा आफ्नै भवनमा अस्पतालले सेवा दिइरहेको बताए । मोतिविन्दु न्युनिकरण अभियानस्वरुप नै आगामी साता नमोबुद्धका विभिन्न वडामा आँखा शिविर र आगामी चैतमा शल्यक्रिया शिविर सञ्चालन गर्न लागिएको उनले बताए । 

कार्यक्रममा प्रमुख प्रशिक्षक बिमल पौडेलले सामान्य हेलचेक्राईले पनि अन्धोपनको समस्या देखिने भन्दै त्यसलाई न्युनिकरण गर्नका लागि तालिम आयोजना गरिएको बताए । ४० बर्ष कटेका हरेक व्यक्तिले बर्षमा एकपटक अनिवार्यरुपमा आँखा जचाउनुपर्ने र यसले ठूलो समस्या आउनबाट जोगाउने उनले बताए । तालिममा नमोबुद्ध नगरपालिकाका विभिन्न वडाका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाका महासचिव हिरामणि शर्माले जानकारी दिएका छन् । 

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्