24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध सरकारको उपहार, ल्होसारमा ३ दिन बिदा, चार विधेयक पारित, कानुन संग्रह...

नमोबुद्ध सरकारको उपहार, ल्होसारमा ३ दिन बिदा, चार विधेयक पारित, कानुन संग्रह सार्वजनिक

२० माघ २०७७/छेडुप तामाङ
काठमाडौ
– काभ्रेको नमोबुद्ध नगरपालिकाको आठौं नगरसभा चार विधेयक पारितसँगै विविध निर्णयका साथ सोमबार सम्पन्न भएको छ ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले यसअघि आठौं नगरसभाको पहिलो बैठकमा पेश भएका नमोबुद्ध नगरपालिकाको वन विधेयक २०७७, नमोबुद्ध नगरपालिकाको नगर युवा परिषद विधेयक २०७७, नमोबुद्ध नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो । नगरसभाले आर्थिक बर्ष २०७७/०७८ को विनियोजन ऐन २०७७ माथिको संशोधन प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।

नगरसभाको बैठकमा वडा अध्यक्षहरु सञ्जीव ढकाल, रामशरण हुमागाईं, वुद्धसिं तामाङ, रामकृष्ण उपाध्याय र कृष्णवहादुर तामाङले विभिन्न विधेयकहरु पारितका लागि प्रस्ताव गरेका थिए । बैठकले २०७७ असार १० गतेदेखि २०७७ माघ १९ गतेसम्म नगर कार्यपालिकाका बैठकले गरेका निर्णय, न्यायिक समितिका निर्णय तथा आर्थिक एवं प्रशासनिक निर्णयहरु अनुमोदन समेत गरेको छ ।

कानुन संग्रह सार्वजनिक
आठौं नगरसभाकै अवसर पारेर नमोबुद्ध नगरपालिका कानुन संग्रह भाग एक र भाग दुई सार्वजनिक गरेको छ । जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म निर्माण भएका पाँच दर्जन ऐन, नियम, निर्देशिका र कार्यविधि समेटिएको ऐन नियम संग्रह नगरसभा समापनको क्रममा सार्वजनिक गरिएको हो । नगर प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कानुन संग्रह बिमोचन गरेका थिए ।

नगरसभा समापनको क्रममा नगर प्रमुख तिमल्सिनाले सभामा उत्साहपुर्वक सहभागिता जनाएकोमा सबै नगरसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नमोबुद्ध नगरपालिकाले अहिलेसम्म सबै नगरसभा सदस्यको सहमतिमा नगरसभाबाट तथा कार्यपालिका बैठकमा समेत सबैको सहमतिमा निर्णय गर्दै आइरहेको र यो परम्परा आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले कानुनमै रहेर जनप्रतिनिधि र कर्मचारीले काम सहजरुपमा अगाडि बढाउने भएकाले कार्यसम्पादनमा कानुन संग्रहले थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कर्मचारी र जनप्रतिनिधिलाई काम कार्बाही र निर्णय प्रक्रियामा सहज होस् भन्ने उद्देश्यले कानुन संग्रह तयार पारिएको बताए । हालसम्म नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट तयार भएका ऐन नियम एवं कार्यविधिलाई एकत्रित गरेर कानुन संग्रह तयार पारिएको पौडेलले जानकारी दिए ।

ल्होसारमा तीन दिन विदा
नमोबुद्ध नगरपालिकाले ल्होसार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । आठौं नगरसभाको दोस्रो बैठकअघि सोमबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसबर्षको सोनाम ल्होसार माघ ३० गते परेको हो । उक्त निर्णयलाई नगरसभाको बैठकले अनुमोदन गरेको छ । कार्यपालिका बैठकले कर्मचारीहरुको प्रोत्साहनका लागि दुईवटा कार्यविधि स्वीकृत गरी कर्मचारीहरुलाई नगरको समग्र विकासमा अहोरात्र खट्न प्रोत्साहन गरेको छ ।

फोटो फिचर :

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्