28.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा नंं. १० को वडा कार्यालय भवन निर्माण सुरु

नमोबुद्ध नगरपालिका वडा नंं. १० को वडा कार्यालय भवन निर्माण सुरु

१८ माघ २०७७/बिकास तामाङ
काठमाडौ
– नमोबुद्ध नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । आइतबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कार्यालय भवन निर्माणको शिलान्यास गरेसँगै भवन निर्माण सुरु भएको हो ।

कार्यालय भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं। १० का अध्यक्ष रामकृष्ण अधिकारी, वडा नं। ९ का अध्यक्ष मेलवहादुर लामा, ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ लगायतको सहभागिता रहेको थियो । नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजनाअनुसार वडा नं. १० को भवन निर्माण सुरु भएको हो ।

उक्त भवन निर्माणका लागि युनिक बिल्डर्स नमोबुद्ध ८ सँग भ्याटबाहेक ४३ लाख २६ हजार ९ सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको छ । आगामी असार मसान्तभित्र कार्यालय भवन निर्माण सम्पन्न हुने वडाअध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिएका छन् । कार्यालय भवन शिलान्याससँगै नगर प्रमुख तिमल्सिनाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

वडा कार्यालय भवन निर्माणका लागि नमोबुद्ध १० का सामाजिक व्यक्तित्व रामकृष्ण श्रेष्ठले १० आना जग्गा निःशुल्क प्रदान गरेका छन् । वडा कार्यालय शिलान्यासकै अवसर पारेर वडा अध्यक्ष अधिकारीले स्थानीय मुटु रोगी नविन उदासलाई १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोगसमेत गरेका थिए् । सामाजिक सेवामा सक्रिय वडा अध्यक्ष अधिकारीले उदासको उपचारमा थोरै भए पनि मद्दत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । सहयोग रकम नगर प्रमुख तिमल्सिनाले हस्तान्तरण गरेका थिए ।

नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको पक्की र सुविधासम्पन्न भवन निर्माणको योजनाअनुसार यो आर्थिक बर्षमा ५ वटा वडा कार्यालय भवनको निर्माण गर्दैछ । यो बर्ष वडा नं। १० सहित वडा नं। २, ७, ८ र ९ को कार्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । यसअघि निर्माण थालिएका वडा नं. ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्