८ पौष २०७७
काठमाडौ–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भएसँगै अब कसले वैधानिकता पाउने भन्ने प्रश्न प्रमुख बनेको छ । अहिलेसम्म केपी ओली पक्ष र प्रचण्ड–माधव नेपाल दुवै पक्षले आफू नै वैधानिक भएको भन्दै दावी गरिरहेका छन् ।
निर्वाचन आयोगका अधिकारीहरुका अनुसार दुवै पक्षले आफ्नो दावी पेस गरेपछि त्यसका प्रमाणहरु केके छन् भनेर उनीहरुलाई नै सोधिन्छ । यसरी आयोगले सोध्दा दुवै पक्षले त्यसका आधारहरु पेश गर्नुपर्ने हुन्छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अव आयोगले दुुवै पक्षका कागजात छानविनमा लाग्ने छ ।
‘उहाँहरुले पेश गर्नुभएको मागदावी अनुसारको कागजातहरु जाँचबुझ वा छानविन गर्ने प्रकृया सुरु भएको छ । अनि दलको विधान र राजनीतिक दलसम्बन्धी प्रावधानअनुसार आवश्यक निर्णय अयोगले गर्छ’, प्रवक्ता श्रेष्ठले भने ।
उनले कागजातहरुको कानुनले तोकेको समयवधिमा छानविन गरेर निर्णय गर्ने बताए । यसरी बैधानकिताको टुंगो लागेसँगै नेकपा नाम र निर्वाचन चिन्ह पनि दुईमध्ये एक पार्टीले पाउने छ ।