२३ मंसिर २०७७
काठमडौ–भक्तपुरमा आइतबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी ३० वर्षीया रिया श्रेष्ठको परिवारले दुर्घटना योजनाबद्ध भएको आशंका गरेका छन । तसर्थ घटनाको गम्भीर छानबिन गर्न माग गर्दै आमा सम्झनाले महानगरीय प्रहरी वृत्त, ठिमीमा किटानी जाहेरी समेत दिइसकेकी छन् ।
मृतक रियाका पति राजुले सवारी दुर्घटना हुँदा श्रीमती रियाको मृत्यु हुनु र अरु सबै सकुशल रहनु नै शंकाको मुख्य कुरा भएको बताए । रियाको चोट र गाडीमा हुने अन्यको अवस्था मात्रै हेर्दा पनि धेरै कुरा थाहा भइहाल्छ’, उनले भने, ‘अस्पताल लैजानुपर्नेमा चालकसहित सबै जना मध्यराति भागे भन्ने कुरामा पनि शंका गर्ने ठाउँ छ ।’
उनले प्रहरीलाई घटनाको सत्यतथ्य गम्भीर भएर अनुसन्धान गरिदिन पनि भनेका छन् । ‘म पेशाले सवारी चालक हुँ, मलाई अन्याय भएको छ, प्रहरीले हामी जस्ता नागरिकलाई पनि न्याय दिओस्’, उनले भनेका छन् ।
प्रहरीले भने तीब्र गतिमा रहेका कारण दुर्घटना भएको आशंका गर्दै रियाले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर ज्यान गएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि, काठमाडौं मेडिकल कलेज, दुवाकोटले दिने पोष्टमार्टम रिपोर्टको आधारमा प्रहरीले थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।