२८ असोज २०७७
काठमाडौ– अब बलात्कारका घटना मिलाउने भूमिका खेलेमा जनप्रतिनिधि विरूद्ध नै मुद्दा चलाउने चेतावनी महान्यायाधिवक्ता कार्यालयले दिएको छ।
पछिल्लो समय बलात्कारका घटनाहरूमा जनप्रतिनिधिहरूले नै मिलापत्र गराएको घटना बाहिरिएका छन्। बलात्कारसम्बन्धी घटनाहरूको मिलापत्र गराएमा मुद्दा चलाउने चेतावनी कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै दिएको हो।
ुयस्ता कसूरका सम्बन्धमा जानकारी हुने जो कोहीले पनि प्रहरीमा सूचना दिनु पर्ने, अभियुक्तलाई पक्राउ गर्न, पीडितको उद्धार, उपचार, सहयोग र संरक्षण गर्नु पर्ने कानूनी दायित्व हो,ु महान्याधिवक्ता अग्निप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सो दायित्व पुरा नगरी मिलापत्र हुन नसक्ने कसूरमा गैरकानूनी रुपमा मिलापत्र र सहमति गराउने कार्य आफैमा कसूरजन्य कार्य हो।
यस्ता घटना अपराध अनुसन्धानको दायराभन्दा बाहिर हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ। साथै जानेर वा नजानेर गरिने यस्ता क्रियायाकलाप गैरकानूनी हुने भएकोले कानूनले संरक्षण गर्न र मान्यता दिन नसक्ने समेत कार्यालयले स्पष्ट पारेको छ।
जनप्रतिनिधिहरूले कसुरको अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियामा सक्रिय भइ सहयोग गर्न महान्याधिवक्ता खरेलले आग्रह गरेको छ ।