२० असोज २०७७
काठमाडौ–बझाङमा ससुरा, काका–ससुरालगायत आफन्तहरूबाटै २१ वर्षीया युवतीमाथि निरन्तर बलात्कारको चरम यातनाको सिकार भएको छ । बझाङको सुनकुडाकी २१ वर्षीया युवतीले यस्तो यातना खेप्नु परेको घटना बाहिर आएको हो ।
उक्त घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले चासो व्यक्त गर्दै घटनाको छिटो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको हो । आयोगका सुदूरपश्चिम प्रमुख झंकरबहादुर रावलद्वारा जारी विज्ञप्तिमा यस्ता घटना दोहोरिन नदिन संलग्नलाई शीघ्र कानुनी दायरामा ल्याई अनुसन्धान गर्न आयोगले आग्रह गरेको छ ।
विज्ञप्तिमा पीडित महिलाको शारीरिक, मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरी निःशुल्क उपचार गर्न पनि सरकार र सम्बन्धित निकायलाई आग्रह गरिएको छ । पीडित युवतीको बझाङ अस्पतालमा उपचार भइरहेको छ । बुंगल–२ को दलित परिवारकी युवतीको तीन वर्षअघि बित्थडचिर–९ का दलित युवकसँग बिहे भएको थियो । सानैमा आमाले छाडेपछि काकाले नै संरक्षण गरी ०७४ असारमा उनको बिहे गराइदिएका थिए ।
बच्चा नभएकाले उपचार गर्न भन्दै श्रीमान्सहित सासूससुरा र नन्दले उनलाई भारत लिएर हिँडेका थिए । त्यसपछि उनीमाथि श्रीमान्, ससुरा, नन्दका श्रीमान् र काका ससुराले समेत बलात्कारका साथै बर्बर यातना दिन थाले । उनीहरूले वेश्यावृत्तिमा समेत लगाउने गरेको युवतीले बताएकी छन् ।