23.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा आजबाट बढी भिड लाग्ने सरकारी कार्यालयहरु खुल्ला

काभ्रेमा आजबाट बढी भिड लाग्ने सरकारी कार्यालयहरु खुल्ला

२६ भदौ २०७७
धुलिखेल ।
काभ्रे जिल्लाको मुख्य सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु र पसल आजबाट सञ्चालन हुने भएको छ । शुक्रबार बसेको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
बैठक कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, काभ्रेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको थियो ।
‘कोभिड १९ को संक्रमण फैलिरहेको वर्तमान अवस्थामा सेवाग्राहीहरुको बढी भिडभाड हुने कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र आन्तरिक राजस्व कार्यालय काभ्रेबाट जिल्लाका सबै सेवाग्राहीहरुलाई एकै पटक सेवा प्रवाह गर्न कठनिाई भएकोले दैनिक रुपमा प्रवाह हुने सेवा प्रवाहलाई मिति २०७७ साल भाद्र २६ गते शुक्रबारबाट अर्को व्यवस्था नभएसम्मका लागि निम्न बमोजिम सञ्चालन गर्ने निर्णय गरेको छ ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।

गाउँपालिकाका लागि सधैं खुल्ला, नगरपालिकाका लागि बार तोकियो
यसैबीच बैठकले सेवाग्राहीहरुको बढी भिडभाड हुने कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट सेवा लिन नगरपालिका र गाउँपालिकाका लागि छुट्टा–छुट्टै नियम बनाएको छ । पोखरेलका अनुसार नगरपालिकाका लागि हप्तामा ३ दिनमात्र सेवा प्रवाह गर्नेछ भने गाउँपालिकाका लागि हरेक दिन सेवा प्रवाह हुने छ ।
‘धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका र पनौती नगरपालिकाका लागि आइतबार, मंगलबार र विहिबार मात्र सेवा प्रवाह हुने छ र बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार र शुक्रबार मात्र सेवा प्रवाह हुने छ ।’ उनले भने, ‘गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा उपलब्ध गराउने निर्णय भएको छ ।’

कुन–कुन व्यवासय कसरी सञ्चालन हुने ?
बैठकले जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरु (सहकारी संस्था समेत) न्यूनतम जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको छ ।
त्यसैगरि खाद्य सामाग्री, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी तथा औषधी पसलहरु सामाजिक दूरी कायम गरी, अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग, साबुनपानीले हात धुने व्यवस्था मिलाई सञ्चालन गर्ने निर्णय भएको पोखरेलले बताए ।
निर्माण सामाग्रीहरु, लत्ताकपडा र अन्य सामाग्रीका पसलहरु न्यूनतम जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने समेत निर्णय भएको छ ।
यससँगै जिल्लामा लगाएको ‘लकडाउन’ केही हदसम्म खुकुलो भएपनि सार्वजनिक यातायात सञ्चालनको विषयमा भने कुनै निर्णय भएको छैन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्