३० असार,२०७७
काठमाडौ–आज मंगलबार मध्यान्ह १२ः३० बजेतिर मेलम्ची खाने पानी आयोजनाको मुहान स्थित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका अकस्मत फुटेपश्चात पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएका छन ।
मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको ठाउँभन्दा करिब एक हजार मिटरको दूरीमा टनेल नम्बर १७ को ढोका फुटेर आएको भेलले बगाएर इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङ घाइते भएका छन। घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
ढोका फुटेर आएको बाढीले बा १ झ ८७६४ नं. को हाइलक्स गाडीसमेत बगाएको छ । केही दिनदेखि १७ नम्बर टनेलबाट सुन्दरीजलसम्म पानी खसाल्न मेलम्चीको पानी सुरूङभित्र जम्मा गरिएको थियो। सुरूङभित्र पानी परीक्षणको अवस्था हेर्न गएका कर्मचारी बेपत्ता भएपश्चात बेपत्ताहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ।