24.1 C
Kathmandu

ब्रेकिङ समाचारवडा अध्यक्ष मेलबहादुरको उपहारः छोरी जन्मिदा रु. ५ हजार

वडा अध्यक्ष मेलबहादुरको उपहारः छोरी जन्मिदा रु. ५ हजार

१८ असार २०७७
नमोबुद्ध ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मेलबहादुर लामाले ‘घरमा सुत्केरी शुन्य’ बनाउने अभियान सञ्चालन गरेको छ । सो अन्तर्गत वडा अध्यक्ष लामाले आज २१ जना आमाहरुलाई विभिन्न शिर्षकमा प्रोत्साहन स्वरुप नगद वितरण गरेका छन् ।
छोरी जन्म प्रोत्साहन देखि वडामा रहेको वार्थीङ सेन्टरमा बच्चा जन्माए बापत प्रोत्साहन स्वरुप चालु आर्थिक वर्षमा केही रकम दिने योजना बनेको थियो ।
लैंगिक विभेद अझै पनि समाजमा रहेकोले यसको अन्त्य गर्न र मातृशिशु स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो योजना ल्याएको वडा अध्यक्ष लामाले बताए ।
छोरी जन्माउनेलाई पाँचहजार नगद
आर्थिक वर्ष २०७६।०७७ मा वडा अध्यक्ष लामाले छोरी जन्म प्रोत्साहन कार्यक्रमको योजना बनाएका थिए । जस अन्तर्गत वडा नं. ९ भित्रका छोरी जन्माउने आमाहरुलाई पाँचहजार रुपैयाँ नगद दिने योजना बनाउका थिए ।

‘यो एउटा सन्देश मुलक कार्यक्रम हो । हाम्रो समाजमा अझै पनि छोरा–छोरीबीचमा विभेद छ । यसका विरुद्ध हामीले छोरी जन्म प्रोत्साहन कार्यक्रम ल्याएका हौं ।’ लामाले भने, ‘मातृशिसु स्वास्थ्यलाई ध्यानमा राख्दै वडाले ‘घरमा सुत्केरी सुन्य’ बनाउने योजना अनुसार प्रोत्साहन स्वरुप नगद रकम वितरण गरेका हौं ।’
सुत्केरी गराउन परम्परागत विधि अप्नाएकोले कतिपय आमाहरुको मृत्यु समेत भएकोले सुरक्षित सुत्केरी गराउनको लागि वार्थीङ सेन्टरमा अनिवार्य ल्याउन उनले सबैलाई अनुरोध समेत गरे ।

छोरी जन्म प्रोत्साह कार्यक्रम सबैलाई लागु हुने
दाप्चा स्वास्थ्य चौकीमा अब जुनसुकै ठाउँबाट सुत्केरी गराउन ल्यएपनि छोरी जन्म प्रोत्साहन कार्यक्रम सबैलाई लागु हुने वडा अध्यक्ष लामाले जानकारी दिए । आर्थिक वर्ष २०७७।७८ देखि यो कार्यक्रम लागु हुने लामाले बताए ।
‘हामीले आर्थिक वर्ष २०७६।०७७ मा यस वडामा छोरीलाई जन्म दिने आमाको लागि प्रोत्सान स्वरुप ५ हजार रुपैयाँ नगद दिने कार्यक्रम ल्याएका थियौं । यो कार्यक्रम वडा नं. ९ भित्रमा मात्र लागु गरेका थियौं ।’ वडा अध्यक्ष लामाले भने, ‘अब जुनसुकै ठाउँका आमाहरुलाई यो स्वास्थ्यचौकीमा सुत्केरी हुन आएमा ‘छोरी जन्म प्रोत्साहन कार्यक्रम लागु गरेका छौं ।’ वडा भन्दा बाहिरका आमाका लागि आर्थिक वर्ष २०७७।०७८ बाट लागु हुने उनले जानकारी दिए ।

सुत्केरी आमालाई प्रोत्साहन नै प्रोत्साहन
नेपाल रकारले वार्थिङ सेन्टरमा सुत्केरी भएकी आमालाई २ हजार रुपैयाँ दिने गरेको छ । साथै नियमित रुपमा कम्तीमा ४ पटक जचाउन आएमा ८ सय रुपैयाँ पनि दिने गरेको छ ।
स्वास्थ्य चौकीका उपाध्यक्ष प्रेम गोलेका अनुसार यसको अलाब वडाले दाप्चा स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका आमालाई १८ सय रुपैयाँ नगद दिदै आएको छ । त्यति मात्र होइन सो स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेर अन्य अस्पतालमा रिफर गरेमा २ हजार रुपैयाँ एम्बुलेन्स भाडा स्वरुप दिने गरेको उपाध्यक्ष लामाले बताए । यहाँ वार्षिक कम्तीमा ५० जना आमाहरु सुत्केरी हुन आउने गरेको उनको भनाई छ ।

दाप्चा स्वास्थ्य चौकी अब नगर अस्पतालमा विकास हुने
दाप्चा स्वास्थ्य चौकीलाई अब नगर अस्पतालको रुपमा विकास गर्ने भएको छ । नमोबुद्ध नगरपालिकाको नगरसभामा नगर प्रमुख टिपी शर्माले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । वडा अध्यक्ष लामाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको तर नगरमा नगर अस्पताल मात्र रहने प्राब्धन रहेकोले यस स्वास्थ्य चौकीलाई नगर अस्पतालमा विकास गर्ने भएको हो ।

‘यहाँ एम्बुलेन्स सेवा, बार्थिङ सेन्टरका साथै अत्याधुनिक भवन समेत रहेको छ । १५ शैयासम्म बनाउन भौतिक पूर्वाधार हामीसँग पर्याप्त छ ।’ लामाले भने, ‘वार्षिक रुपमा अहिले पनि यस स्वास्थ्य चौकीबाट कम्तिमा १० हजार जनताले सेवा लिन्छन् ।’

खुशी भए आमाहरु
वडाको तर्फबाट यसरी प्रोत्साहन पाएपछि आमाहरु खुशी भएका छन् । स्थानीय सुनिता तामाङले खुशी हुँदै भनिन्, ‘छोरा र छोरी बीचमा विभेद अझै छ । वडाको यो प्रोत्साहनले हामीलाई थप उर्जा मिलेको छ ।’
सुरक्षित सुत्केरी पनि हुन पाउने र प्रोत्साहन स्वरुप केही नगद पनि पाउने भएपछि तामाङले सबै आमाहरुलाई अबका दिनहरुमा वार्थिङ सेन्टरमा सुत्केरी हुन आउन अनुरोध गरिन् ।

तीन वटा स्थानीय तहका जनताले सेवा लिन्छन्

यस दाप्चा स्वास्थ्य चौकीबाट नमोबुद्ध नगरपालिका सहित ४ वटा पालिकाका जनताले सेवा लिने गरेको स्वास्थ्य चौकी इन्चार्ज बलराम पौडेलले जानकारी दिए । उनका अनुसार रोशी गाउँपालिका वडा नं. १, २ ३, नमोबुद्ध नगरपालिका वडा नं. ८, ९, १०, ११, १ र २ र बेथानचोक गाउँपालिका वडा नं. ६ का जनताले सेवा लिने गरेका हुन् ।
प्रोत्साहन रकम वितरण कार्यक्रममा वडा सदस्य इश्वरी श्रेष्ठ, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य राम श्रेष्ठ, स्वयंसेवीका भुवानी श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

काभ्रेकै नमुना काम
काभ्रे जिल्ला भरिमा यसरी सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप नगद दिने कार्यक्रम छैन । नमोबुद्ध नगरपालिकामा समेत वडा नं. ९ मा बाहेक यो योजना नरहेको वडा सदस्य इश्वरी श्रेष्ठले बताईन् ।
लैंगिक विभेद पनि हट्ने र मातृशिसु स्वास्थ्यमा ध्यान पुग्ने यो कार्यक्रम सबै स्थानीय तहले आत्मसात गर्नुपर्ने वडा सदस्य श्रेष्ठले बताइन् ।
२१ जना आमाहरु प्रोत्साहित
नमोबुद्ध नगरपालिकाका २१ जना आमाहरु प्रोत्साहित भएका छन् । ती मध्य ८ जनाले छोरी जन्म प्रोत्साहन स्वरुप ५।५ हजार रुपैयाँ, २१ जनाले एमबुलेन्स खर्च वापत १८।१८ सय रुपैयाँ र उक्त स्वास्थ्य चौकीबाट रिफर भएका ११ जनाले २।२ हजारका दरले रकम पाएका छन् ।

यो वर्ष उक्त स्वास्थ्य चौकीमा वडा भित्रका र बाहिर गरेर ६२ जना सुत्केरी भएको छन् । जस मध्य छोरी ३० र छोरा ३२ रहेको स्वास्थ्य चौकी इन्चार्ज बलराम पौडेलले जानकारी दिए ।

छोरी जन्म प्रोत्साहन,एम्बुलेन्स खर्च वितरण भिडियो सहित

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्