समाचारलिपुलेकबारे भिडियो कन्फेरेन्समार्फत भारतसँग तत्काल वार्ता गर्न सरकारलाई माधव नेपालको आग्रह

लिपुलेकबारे भिडियो कन्फेरेन्समार्फत भारतसँग तत्काल वार्ता गर्न सरकारलाई माधव नेपालको आग्रह

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले भारतले अतिक्रमण गरेर बनाएको सडकका विषयमा तत्काल भिडियो कन्फेरेन्समार्फत वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

आइतबार विज्ञप्ति जारी गरी विभाग प्रमुख नेपालले भिडियो कन्फेरेन्सका माध्यमबाट भारतसँग अतिक्रमित भू-भागका लिपुलेकका विषयमा तुरुन्तै कुराकानी गर्न सरकारलाई आग्रह गेका हुन्।

‘कोरोनाका कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थामा मौका छोपेर गरिएको यस्तो कामबारे छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फेरेन्सका माध्यमबाट तुरुन्तै कुराकानी गर्न हामी विषेश ध्यानाकर्षण गराउँछौं,’ नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपालले उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको वैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन, आवश्यक तथ्य प्रमाणसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न सरकारको ध्यानकर्षण पनि गराएका छन्।

भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्न नेपाल सरकारले दुई पटक पत्र लेख्नासमेत त्यस विषयमा तदारुकताका साथ  वार्ता अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता संकुचन हुने गरी कदम चाल्नुले थप गम्भीर बनाएको नेपालले बताएका छन्।

नेपालले आफ्नो मुलुकको सम्पूर्ण भू–भागसहित आधिकारिक नक्सका प्रकाशन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

‘आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा सयन्त्र स्थापना गर्न, सीमाको नियमित रुपमा नियमन गर्न र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुका लागि उचित प्रवन्ध गर्न पनि माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्