ब्रेकिङ समाचारघेदुङको दशौं महाधिवेशनअघि सचिवालय बैठक निष्कर्षविहिन, नेतृत्वमाथि गम्भीर प्रश्न !

घेदुङको दशौं महाधिवेशनअघि सचिवालय बैठक निष्कर्षविहिन, नेतृत्वमाथि गम्भीर प्रश्न !

काठमाडौं । नेपाल तामाङ घेदुङको दशौं संघीय महाधिवेशन नजिकिँदै जाँदा संगठनभित्रको आन्तरिक विवाद सतहमा आएको छ । बिहीबार काठमाडौंमा बसेको सचिवालय बैठक कुनै निष्कर्षमा पुग्न नसकी भंग भएको स्रोतले जनाएको छ ।

बैठककै क्रममा अध्यक्ष मोहन गोले बीचमै बाहिरिएपछि अन्य पदाधिकारीहरू पनि स्पष्ट निष्कर्षबिनै बाहिरिएको बताइएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व तहभित्र देखिएको यो असमझदारीले घेदुङभित्रको संकट अझ गहिरिएको संकेत गरेको छ ।

पछिल्लो समय घेदुङमाथि “तामाङ समुदायको भावना र मुद्दालाई प्रयोग गरेर संस्था सञ्चालन गरिएको” आरोप लाग्दै आएको छ । यस्तै आरोपबीच संघकै पूर्व महासचिव काजिमान थिङले नेतृत्वप्रति सार्वजनिक रूपमा प्रश्न उठाएका छन् ।

नमोबुद्ध न्युजसँगको संवादमा थिङले आफूलाई हटाइएपछि अधिवक्ता सितल पाण्डेसंग सम्बन्धित मुद्धा अघि बढाएको आन्दोलनसमेत कमजोर बनेको बताएका थिए । उनले नेतृत्व चयन प्रक्रियालाई लिएर पनि गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

थिङको चेतावनी छ, यदि दशौं महाधिवेशनमा पनि विगतझैं राजनीतिक दलको भागबण्डा र शक्तिकेन्द्रको प्रभावमा नेतृत्व चयन गरियो भने, तामाङ समुदायको हक, अधिकार, भाषा, पहिचान र सह-अस्तित्वको मुद्दा फेरि ओझेलमा पर्नेछ ।

घेदुङ स्थापना हुँदा तामाङ समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको साझा आवाज बन्ने अपेक्षा गरिएको थियो । तर अहिले संगठनभित्रै पद, शक्ति र गुटको संघर्ष चर्किँदा समुदायस्तरमै निराशा बढिरहेको टिप्पणी हुन थालेको छ ।

महाधिवेशन नजिकिँदै गर्दा सचिवालय बैठक नै निष्कर्षविहिन हुनु, अध्यक्ष बैठक छोडेर बाहिरिनु र पूर्व नेतृत्वले नै सार्वजनिक रूपमा प्रश्न उठाउनु, यी घटनाले घेदुङभित्र गम्भीर शक्ति संघर्ष चलिरहेको स्पष्ट संकेत दिएका छन् । अब आउने महाधिवेशनले संस्थालाई समुदायको मुद्दामा केन्द्रित गराउने कि फेरि भागबण्डाको बन्दी बनाउने भन्ने प्रश्न तामाङ समुदायभित्र चर्को रूपमा उठ्न थालेको छ ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्