तामाङ समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षणका लागि अभियानको आवाज बुलन्द
काठमाडौं । “नामको अन्त्यमा तामाङ लेखौं” तामाङ जागरण अभियान टिमले नेपाल तामाङ घेदुङको दशौं संघीय महाधिवेशन आयोजक समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अभियान टोलीले तामाङ समुदायको मौलिक पहिचान संरक्षण, भाषा–संस्कृतिको प्रवर्द्धन तथा सामाजिक अस्तित्वलाई थप स्पष्ट बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विभिन्न मागसहित पत्र बुझाएको हो ।
अभियान टोलीका संयोजक सागर वाइबा तामाङको अनुसार अभियान टिमको नेपालका प्रतिनिधि गीतकार कुमार स्याङ्बाले बुधबार घेदुङको संघीय कार्यालय चुच्चेपाटी काठमाडौमा पुगी आयोजक समितिका पदाधिकारीसमक्ष ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । पत्रमा तामाङ समुदायले आफ्नो थर तथा सार्वजनिक परिचयमा “तामाङ” शब्दको प्रयोग अनिवार्यतर्फ लैजानुपर्ने विषयलाई विशेष जोड दिइएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, पछिल्लो समय विभिन्न समुदायबीच पहिचानको सवाल झन् जटिल बन्दै गएको अवस्थामा तामाङ समुदायभित्र समेत आफ्नो मौलिक पहिचान स्पष्ट रूपमा स्थापित गर्न चुनौती देखिएको छ । “लामा” जस्ता पदवी अन्य समुदायले समेत प्रयोग गर्न थालेपछि वास्तविक तामाङ पहिचान ओझेलमा पर्ने अवस्था सिर्जना भएको अभियानको ठहर छ ।
अभियान टोलीले नागरिकता, शैक्षिक प्रमाणपत्र, सामाजिक सञ्जाल तथा सार्वजनिक दस्तावेजहरूमा नामको अन्त्यमा “तामाङ” लेख्ने वातावरण निर्माण गर्न स्थानीय तहदेखि संघीय स्तरसम्म पहल गर्नुपर्ने माग गरेको छ । साथै तामाङ भाषा, संस्कार, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
पत्रमा तामाङ समुदायका बुद्धिजीवी, कलाकार, पत्रकार, खेलाडी, राजनीतिकर्मी तथा सामाजिक अभियन्ताहरूलाई समेत आफ्नो नामसँग “तामाङ” जोडेर पहिचानलाई मजबुत बनाउन आह्वान गरिएको छ । समुदायको एकता, आत्मसम्मान र सांस्कृतिक अस्तित्व जोगाउन यो अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै, तामाङ समुदायलाई राज्यका विभिन्न निकायमा सूचीकृत जनजातिको अधिकार पूर्णरूपमा सुनिश्चित गर्न सरकारसँग प्रभावकारी पहल गर्न नेपाल तामाङ घेदुङलाई आग्रह गरिएको छ । अभियान टोलीले महाधिवेशनमार्फत पहिचानको सवाललाई संस्थागत रूपमा उठाइदिन पनि अनुरोध गरेको छ ।
अभियानका संयोजक सागर वाइबा तामाङले तामाङ समुदायको भावी पुस्ताले आफ्नो मौलिक पहिचान गुमाउन नदिन अहिलेबाटै सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले “पहिचान बचाऔं, अस्तित्व जोगाऔं, नामको अन्त्यमा तामाङ लेखौं” भन्ने अभियानको मूल सन्देश रहेको उल्लेख गरे ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता तथा तामाङ समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अभियान टोलीले आगामी दिनमा देशव्यापी रूपमा मात्र नभएर अन्तराष्ट्रीय रुपमा समेत सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सार्वजनिक अभियानलाई अझ तीव्र बनाइने जनाएको छ ।
