काठमाडौं। नयाँ वर्ष २०८३ को आगमनलाई उत्साहपूर्ण ढंगले स्वागत गर्न राजधानीमा एक भव्य सांगीतिक उत्सव आयोजना गरिने भएको छ। लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लब ले चैत ३० गते बेलुका ७ बजेदेखि विशेष कार्यक्रम आयोजना गर्दै नयाँ वर्षको पूर्वसन्ध्यालाई सांगीतिक र सांस्कृतिक रंगले सजाउने तयारी गरेको हो।
उक्त कार्यक्रमको केन्द्रबिन्दुका रूपमा चर्चित गायक तथा संगीतकार बिशाल काल्तनको लाइभ प्रस्तुति रहनेछ। उनको ऊर्जा, स्टेज उपस्थिती र लोकप्रिय गीतहरूले दर्शकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको आयोजक पक्षको भनाइ छ। विशेषगरी युवामाझ लोकप्रिय काल्तनको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ।
आयोजक पक्षका अनुसार यो कार्यक्रम केवल गीत-संगीतमा सीमित रहने छैन, बरु विविध प्रस्तुतिहरूको संगम हुनेछ। कार्यक्रममा परम्परागत लोकदोहोरी, मौलिक तामाङ सेलो, आकर्षक सांस्कृतिक तथा समसामयिक नृत्य, हाँस्यव्यंग्य प्रस्तुति र आधुनिक DJ सेसन जस्ता गतिविधिहरू समावेश गरिनेछन्। साथै, मध्यरातमा विशेष काउन्टडाउनसहित नयाँ वर्षको औपचारिक स्वागत गरिने कार्यक्रम तय गरिएको छ।
क्लबका सञ्चालक सुनिल छेवाङ लामाले नयाँ वर्षलाई केवल रमाइलोको अवसर मात्र नभई नेपाली पहिचान झल्काउने पर्वका रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार “हामीले परम्परा र आधुनिकतालाई एउटै मञ्चमा जोड्ने प्रयास गरेका छौं, जहाँ सहभागीले फरक–फरक शैलीको मनोरञ्जन एकै ठाउँमा अनुभव गर्न सक्नेछन्।”
पछिल्ला दिनहरूमा रोयल नेपाल रोधी क्लब ले राजधानीको सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्दै आएको छ। यहाँ हुने कार्यक्रमहरूले नेपाली मौलिकता र जीवन्त प्रस्तुतीलाई प्राथमिकता दिने भएकाले दर्शकको आकर्षण बढ्दो क्रममा रहेको देखिन्छ। यसपटकको विशेष कार्यक्रमलाई पनि सोही धारा अनुरूप अझ व्यवस्थित र स्तरिय बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकका लागि सिट संख्या सीमित राखिएको छ। त्यसैले समयमै अग्रिम बुकिङ सुनिश्चित गर्न आयोजकले अनुरोध गरेको छ। प्रारम्भिक प्रतिक्रिया हेर्दा कार्यक्रमप्रति दर्शकको चासो उत्साहजनक रहेको र उपस्थिति उल्लेखनीय रहने अपेक्षा गरिएको छ।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजना हुन लागेको यो कार्यक्रमलाई संगीत, संस्कृति र आधुनिक मनोरञ्जनको संगमका रूपमा लिइएको छ, जसले राजधानीको सांगीतिक माहोललाई अझ सजीव र आकर्षक बनाउने विश्वास गरिएको छ।
