कला/ साहित्यसौन्दर्य, क्षमता र चेतनाको मञ्च: मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६...

सौन्दर्य, क्षमता र चेतनाको मञ्च: मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६ सम्पन्न 

काठमाडौं । राजधानीको राष्ट्रिय नाचघर जमल सोमबार एक ऐतिहासिक क्षणको साक्षी बन्यो, जहाँ सौन्दर्य मात्र होइन, क्षमता, आत्मविश्वास र सामाजिक चेतनाको उज्यालो मिसिएको “मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६” भव्य रूपमा सम्पन्न भएको थियो ।

परम्परागत सौन्दर्य प्रतियोगिताको परिधिभन्दा बाहिर निस्कँदै, यस कार्यक्रमले महिलाको बहुआयामिक प्रतिभा, बौद्धिक क्षमता, सामाजिक उत्तरदायित्व, कला, नेतृत्व र व्यक्तित्व विकासलाई एकै मञ्चमा साझा रुपमा प्रस्तुत गरिएका थिए । प्रतियोगितामा सहभागीहरूले केवल र्याम्प वाक मात्र होइन, आफ्ना विचार, सपना र समाजप्रतिको जिम्मेवारी समेत अभिव्यक्त गरेका थिए ।

कार्यक्रमलाई गरिमामय बनाउन प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्णायक मण्डल, विभिन्न संघ–संस्था तथा समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेका थिए। साथै पर्दा पछाडि बसेर दिनरात खटिएका आयोजक टोली र सहयोगी हातहरूको अथक मेहनतले कार्यक्रमलाई सफलताको उचाइमा पुर्‍याएको देखिन्छ।

यस प्रतियोगिताले विशेषगरी नेपाली महिलाको बदलिँदो भूमिका र पहिचानलाई उजागर गरेको छ। अब महिला केवल सौन्दर्यको प्रतीक मात्र होइनन् । उनीहरू नेतृत्व, सोच र परिवर्तनका संवाहकका रूपमा उभिरहेका छन् भन्ने सन्देश कार्यक्रमले स्पष्ट रूपमा दिएको छ।

प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्ने, महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने, साथै नयाँ पुस्तालाई आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। यसले युवापुस्तामा “आफ्नो क्षमता चिन्ने र त्यसलाई प्रस्तुत गर्ने” संस्कार विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सफलतापछि आयोजकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्।

समग्रमा, “मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६” केवल एउटा प्रतियोगिता होइन, महिलाको सशक्तीकरण, आत्मविश्वास र सामाजिक रुपान्तरणको एउटा सशक्त अभियान बनेर स्थापित भएको आयोजक संसाथाले बताएको छ ।

“मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६” प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै सानी (कान्डु) शेर्पाले मुख्य उपाधि जित्न सफल भएकी छिन्।  त्यसैगरी शुष्मा बुढाथोकी फस्ट रनर अप र जमुना तामाङ सेकेन्ड रनर अप बन्न सफल भए। इन्दिरा बस्नेतले ‘ट्यालेन्ट’ र ‘सिनसियर’ अवार्ड जितिन् भने प्रनिता बस्नेत ‘पब्लिक च्वाइस’ र ‘इन्टेलिजेन्ट’ अवार्डबाट सम्मानित भइन्। त्यसैगरी गुण माया थापा मगरले ‘भ्युअर च्वाइस’ र ‘इनोसेन्ट’ अवार्ड प्राप्त गरिन्। फस्ट रनर अप शुष्मा बुढाथोकीले ‘पर्सनालिटी’, ‘लिडरशीप’ तथा ‘बेस्ट इन गाउन’ अवार्ड समेत जित्दै आफ्नो प्रभावशाली उपस्थिति देखाइन् भने जमुना तामाङ ‘कन्फिडेन्ट’ र ‘डिसिप्लीन’ अवार्डबाट सम्मानित भइन्।

अन्य अवार्डतर्फ पूजा आचार्य ‘ब्युटीफुल’, सानी शेर्पा ‘स्मार्ट’ तथा पार्वती गुरुङ ‘एक्टिभ’ अवार्डबाट सम्मानित भएका छन्।

सोमबार सम्पन्न उक्त कार्यक्रममा सफल महिला व्यवसायी परु गुरुङ प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा ग्लोबल मोटिभेसनल स्पिकर, ट्रेनर तथा लाइफ कोच बिकाश देव योञ्जन तामाङ रहेका थिए । कार्यक्रममा कोरियोग्राफर रोजन शाक्य रहेका थिए भने डान्स कोरियोग्राफरको रुपमा तामाङ चलचित्रका महानायक अमिर दोङ रहेका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्