28.1 C
Kathmandu

स्थानिय समाचार“सुशासन, समृद्धि र समाजवादको आधारः   धुलिखेल नगरमा एमालेको सरकार”

“सुशासन, समृद्धि र समाजवादको आधारः   धुलिखेल नगरमा एमालेको सरकार”

सुशासनसमृद्धि र समाजवादको आधारः

  धुलिखेल नगरमा एमालेको सरकार

आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइ

नयाँ बर्ष २०७९ को आगमनसँगै आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवसरमा नेकपा (एमाले) धुलिखेल नगर कमिटि, सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबिहनीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा समाजवाद स्थापनाको लागि भएका आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने अदरणीय अमर शहीदहरूप्रति नेकपा एमाले धुलिखेल नगर कमिटि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ। यसले संघीयता, समृद्धि र समाजवादको आधारशीलाको निर्माणमा थप योगदान गर्नेछ। यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) समृद्ध र सबल धुलिखेल निर्माणका निम्ति प्रतिबद्धता र सङ्कल्प सहित यो घोषणापत्र जारी गर्दछ। जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घर,आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर नेकपा (एमाले) सधैं अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिदै आएको छ। नेकपा (एमाले) नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति हो। माक्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिष्ट आन्दोलनको मूलधार हो। सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ प्रतिज्ञ छ।

यही मान्यतालाई आत्मसाथ गर्दै २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा धुलिखेल नगरका आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुले हाम्रो पार्टी नेकपा एमालेलाई अत्यधिक बहुमतकासाथ बिजय गराउँनु भयो। यसका लागि नेकपा एमाले धुलिखेल नगर कमिटि हार्दिक धन्यवाद दिन चाहान्छ। यस दौरानमा हाम्रो पार्टीबाट बिजय हुनु भएका जनप्रतिनिधिहरुले नगरको समग्र विकासमा खेलेको भूमिका आमजनताहरु समक्ष घाम जतिकै छर्लङ्ग छ। देश सघीय शासन प्रणालीमा रुपान्तरण भएको र स्थानीय तह सञ्चालनका लागि सविधानले ब्यवस्था गरेका एकल अधिकारहरु तथा प्रदेश र संघको साझा अधिकारको कार्यन्वयनको चुनौतिको अवस्थामा हामीले नगरमा प्रवेश गरेका थियौ। नगरपालिकाको जनशक्ति ब्यस्थापनका साथै सविधानले व्यवस्था गरेको एकल अधिकार क्षेत्रहरुमा कानूनी संरचना (ऐन, नियम) निर्माण गरी विधि निर्माण गर्ने पहिलो दायित्व हामीसग थियो। यसका साथ साथै जनताहरुलाई दिनु पर्ने सेवा तथा नगरका विकासहरुलाई समेत सँगसँगै लैजानु हाम्रो कर्तब्य थियो। यस कामलाई हामीले उत्कृष्ट ढङ्गले सम्पादन गर्न सफल भयौँ। पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य विकास आयआर्जन कृषि तथा पशु विकास तथा आय आर्जन र गरिवी निवारणमा नगरले उल्लेख्य प्रगति गरेको कुरा हामीले यस घोषाणा पत्रमा समावेश गरेका छौँ।

हामी जुन रफ्तारमा कार्य सम्पादन गरी रहेका थियौ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण करिव दुई बर्ष काममा समेत प्रभाव पर्न गएको सर्वविदितै छ। यसका अलावा संघीय सरकारमा हामीले गरिरहेको नेतृत्वमा “जनादेशको विस्थापन र परमादेशको शासन” मा भएको सरकार परिवर्तनले समेत ठूलो प्रभाव पुग्न गयो। हाल गठबन्धनको नाममा बनेको सरकारबाट जनतालाई राहतको त कुरै छोडौ महङ्गी र कालोबजारीका साथै मूल्य बृद्धिले थिलथिलो बनाएको विषय यहाँहरुलाई विदितै छ।

आदरणीय मतदाताज्यूहरु हामीले ५ बर्षमा नगरको समग्र विकासका आधारशीलाहरु निर्माण गरेका छौ। यसको पुर्णता भएमा मात्र नगरको आर्थिक सामाजिक तथा गरीवी निवारणमा हामीले राखेको लक्ष्य पूरा गर्न सक्छौ। त्यसैले यसका लागि यहाँहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी नेकपा एमालेको सूर्य ध्वजावाहक उमेदवारहरुलाई अत्यधिक बहुमतका साथ बिजय गराउँनका लागि आम धुलिखेल नगरका आमा बुबा दाजुभाइ दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ।

हाम्रो सङकल्प

  • हाम्रा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गर्नेछन्।
  • हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्नेछन्।
  • हाम्रो नगर सुशासनको नमूना नगर बन्नेछ।
  • हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्नेछैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।
  • पाँच बर्ष भित्रमा दीगो विकास लक्ष्यका सबै सूचकहरु पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, बाताबरणमा र गरिबि निबारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दीगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गरिनेछ।

नेकपा एमालेलाइ नै किन भोट ?

 किनभने…….       

  • नेकपा एमालेसँग सही विचार छ।
  • नेकपा एमालेले जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेकोछ।
  • नेकपा एमाले हरेक आन्दोलनको अगुवाई गरेकोछ।
  • नेकपा एमाले शान्ति प्रक्रियाको पहलकर्ता हो।
  • नेकपा एमालेले संविधान निर्माणको अगुवाई गरेकोछ।
  • राज्य निर्माण र समृद्ध नेपालको सपना नेकपा एमालेसँगछ।
  • नेकपा एमालेले प्रगतिशील राष्ट्रवादको अगुवाइ गरिरहेकोछ।
  • नेकपा एमालेले स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउँदै स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहन्छ।

धुलिखेल नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार सञ्चालन भएपछि गरेका प्रमुख उपलब्धिहरु:

नमुना शहरको रुपमा अगाडि बढ्दै:

  • शिक्षा बाल विकास र सरसफाईको क्षेत्रमा उल्ख्य सुधार गरी साक्षर नगर घोषणा, जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, खुल्ला दिशामुक्त नगर घोषणा गरिएको।

भौतिक विकास:

  • कालोपत्रे सडक ३४ कि.मी., ग्राभेल सडक ७१ कि.मी., कच्ची मौसमी सडक ३२० कि.मी. र ढलान सडक ५ कि.मी. थप निर्माण गरिएको। गाउँ बस्तीका सबै टोलहरुमा सडक सञ्जाल जोडिएको।
  • १००० जना क्षमताको सभाहल निर्माण, १ वटा सपिङ्ग कम्प्लेक्स, ५ वटा स्वास्थ्य केन्द्र भवन निर्माण १५ शैयाँको अस्पताल निर्माणाधिन, र १ वटा संग्राहय निर्माणाधिन।

शिक्षा क्षेत्रमा विकास:M

  • आधारभूत विद्यालय तहमा MGML कार्यक्रम सञ्चालन गरि गुणस्तरीय शिक्षाको विकासमा सुधार गरिएको।
  • विद्यालय भवन: १८ वटा विद्यालयको २४ वटा सुविधा सम्पन्न भवनमा १४० कोठा निर्माण   र थप ६ वटा विद्यलयमा शौचालय निर्माण गरिएको।
  • विद्यालय समायोजन र शिक्षक दरवन्दी मिलान गरिएको।
  • नगर शिक्षक दरवन्दी सिर्जना गरी बिषयगत शिक्षक ब्यवस्थापन गरिएको।
  • धुलिखेल नगर स्थित क्याम्पसमा स्नातकतह अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क छात्रवृतिको ब्यवस्था गरिएको
  • सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र आई.सि.टि. ल्याव ब्यवस्था गरिएको।

खानेपानी:

  • ट्याङ्की निर्माण ३० वटा, डिप वोडिङ्ग ६ वटा र ३८१९ घरधुरीमा एक घर एक धारा निर्माण।

सिंचाई:

  • २२६ हेक्टर, ट्रिटमेन्ट प्लान्ट २ वटा,  झोलुङ्गे पुल २ वटा निर्माण गरिएको।

पार्क निर्माण:

  • देवीस्थानमा पृथ्वीनारायण शाह र वलभद्र कुँवरको शालिक सहितको पार्क, बखुण्डोल र शारदावतासेमा वुद्धको मूर्ति सहितको पार्क, सरस्वति बजारमा बाघ र सरस्वतीको मूर्ति सहितको पार्क, काभ्रेभञ्याङ्गमा मदनभण्डारीको शालिक सहितको पार्क सहित ५३ वटा पार्क निर्माण गरिएको।

स्वास्थ्य क्षेत्रमा विकास:

  • १२ वटा स्वास्थ्य संस्थाहरु, २ वटा शहरी स्वास्थ्य उप-केन्द्र र १ आयुर्वेदिक औषधालयबाट सेवा सञ्चालन गरिएको।
  • धुलिखेल नगरपालिकालाई स्वस्थ शहर बनाउन सबै नगरबासीको डिजिटल हेल्थ प्रोफाइल निर्माण गरिएको। समुदायस्तरमा स्वास्थ्य सचेतना समूह गठन गरिएको।
  • कोभिड १९ तथा टाइफाइड रोग विरुद्धको खोप सबै नगरबासीलाई पूर्ण रुपमा उपलब्ध गराइएको।
  • कोभिड १९ को महामारीको अवस्थामा जनचेतना, नमूना क्वारिन्टीन र विरामीहरुलाई घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको।
  • क्षयरोगमुक्त तथा पोषण मैत्री नगर बनाउन कार्यक्रम सञ्चालन भएको।
  • धुलिखेल नगरपालिकाका नागरिकहरुलाई निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइएको।

रोजगार र आर्थिक विकास:

  • सबै बर्ग तथा समुदायलाई समेटी ५ वटा परिषद निर्माण गरी सोही परिषद् मार्फत आय आर्जन तथा सशक्तीकरणका लागि १२८९ जनालाई विभिन्न किसिमका आय आर्जन तथा रोजगारमूलक तालिम प्रदान गरिएकोमा ५४६ जनाले साना तथा मध्यमस्तरको स्व:रोजगारमूलक व्यवसाय सञ्चालन गरेको।

कृषि तथा पशु सेवा क्षेत्रमा विकास:

  • कृषिमा यान्त्रीकरण तथा ब्यवसायिक कृषिको लागि २११ वटा मिनि टिलर, ४२ वटा विद्युतीय मकै छोडाउने मेसिन, ४५७ वटा विद्युतीय स्प्रेयर, ४८ वटा थ्रेसर, ६० वटा माटो परिक्षण उपकरण, ४५ घार मौरी वितरण गरिएको।
  • कृषकको पशुधन सुरक्षाको लागि वीमा शुल्कमा १५ प्रतिशत अनुदान, गोठ खोर सुधार कार्यक्रम, पशुपक्षी खोप कार्यक्रम, वाख्रा, वङगुर कुखुराका चल्ला, उन्नत जातको घाँस वितरण तथा बाख्रा पकेट कार्यक्रम र पशुपक्षी घुम्ती शिविर सञ्चालन गरिएको।

सूचना र प्रविधि विकास:

  • नेपालको पहिलो नगरपालिका मोवाईल एप्स सञ्चालन गरिएको।
  • वडा कार्यालय सम्म आफ्नै फाइवर विस्तार गरी सोही मार्फत् विभिन्न ५५ स्थानमा CCTV जडान गरी जिल्ला प्रहरी कार्यलय मार्फत अनुगमनको ब्यवस्था मिलाइएको साथै २० स्थानमा फ्रि वाइफाइ जडान गरिएको।
  • सबै वडाबाट सबै प्रकारका कर तिर्ने ब्यवस्था सहित घरमै वसेर कर तिर्नको लागि ई-पेमेन्ट सिस्टमको विकास गरिएको।
  • उच्चस्तरीय भिडियो कन्फरेन्स हल ब्यवस्थापन, ब्यक्तिगत घटना दर्ता र नक्सापासलाई डिजिटाइजेसन गरिएको।

अन्तराष्ट्रियरुपमा नगरलाई पहिचान गर्न सहयोग

  • नगरको चैतर्फि विकासको लागि विभिन्न अन्तराष्ट्रीय संस्थाहरु World Bank, UNICEF, USAID, World Health Organization, Save the Children, ICLEI आदि संस्थाहरुसँग सहकार्य गरी धुलिखेल नगरपालिकालाई अन्तराष्ट्रिय रुपमा पहिचान गर्न मद्दत गरिएको।

आगामी समयको लागि हाम्रो संकल्प:

 यहाँहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी नेकपा एमालेको सूर्य ध्वजावाहक उमेदवारहरुलाई अत्यfधिक बहुमतका साथ बिजय गराउँनु भएमा आगामी समयमा हामी विकासका निम्न कार्यक्रमहरु सञ्चालन गर्नको लागि शंकल्प गर्न चाहन्छौ:

आगामी ५ बर्षभित्र शिक्षास्वास्थ्यकृषी, वातावरणखानेपानी र सरसफाई  रोजगारसँस्कृति र सम्पदा संरक्षणपर्यटनसुशासन क्षेत्रमा मानव अधिकारमा आधारित समावेशीसमतामुलकन्यापूर्ण र दिगो विकास गरी नेपालकै अग्रणी नमूना नगरको रुपमा धुलिखेल नगरपालिकालाई स्थापित गर्ने

यसको लागि धुलिखेल नगरपालिकामा अनुभवीयोग्य, ईमान्दार र सक्षम नेतृत्वको चयन गर्नको लागि हामी हार्दिक अनुरोध गर्न चाहान्छौ। हाम्रो नेतृत्वमा हामी आगामी ५ बर्ष भित्रै देहायका कार्यक्रमहरु सञ्चालन गर्नको लागि नेकपा एमाले प्रतिबद्ध रहनेछ:

क) गुणस्तरीयदिगो र उत्थानशील पूर्वाधार विकास

सडक÷यातायात

  • सबै वडा केन्द्रसम्म जोड्ने सडक कालो पत्रे गरिनेछ।
  • सबै वडालाई जोड्नेगरी धुलिखेल चक्रपथ निर्माण गरिनेछ।
  • ग्रामिण सडकहरुलाई १२ महिना चल्न सक्ने गरी स्तरोन्नति गरिनेछ।
  • १५ मिनेटको दूरीमा सडक यातायातको पहुँच पुर्याइनेछ।
  • विद्युतीय नगरबस सञ्चालन गरिनेछ। विभिन्न ठाउँमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरिनेछ।
  • सबै गाउँ तथा बस्तीहरुमा थप स्तरीय सडक सञ्जाल विस्तार गरिनेछ।
  • अत्याधुनिक वहुउद्देश्यिय बसपार्क निर्माण गरी बसपार्कलाई सुव्यवस्थित गरिनेछ।
  • वि.पी. राजमार्गलाई नगरक्षेत्र भित्र ६ लेनमा विस्तार गर्न पहल गरिनेछ।
  • सूर्यविनाय देखि धुलिखेल सम्म अरनिको राजमार्गलाई धुलिखेलसम्म ८ लेनमा विस्तर गर्न पहल गरिनेछ।

खानेपानी र सरसफाई

  • “एक घर एक धारा” को माध्यमबाट सम्पूर्ण नागरिकहरुको सुद्ध र स्वच्छ पिउने पानीको पहुँच पुर्याइनेछ।
  • खानेपानीमा आत्मनिर्भर शहर बनाइनेछ।
  • अति विपन्न गरिव परिवारलाई मासिक १० युनिटसम्म निशुल्क खानेपानी उपलब्ध गराइनेछ।
  • मुख्य सार्वजनिक स्थल तथा चोकहरुमा सार्वजनिक शैचालय निर्माण गरिने।
  • खानेपानीका सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानीयुक्त नगर घोषणा गरिने ।

आवासबस्ती विकास तथा खेलकुद पूर्वाधार

  • धुलिखेल नगरपालिका तयार गरेको भू–उपयोग गुरुयोजना बमोजिम योजनावद्ध र व्यवस्थित शहरी विकासको कार्य अगाडी वढाइनेछ।
  • धुलिखेल नगरलाई सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीको रुपमा विकास गरिनेछ।
  • नगरपालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिनेछ।
  • नगरपालिका भित्र राष्ट्रियस्तरको खेल मैदान निर्माण गरिनेछ।
  • धुलिखेल खेलमैदानलाई क्षेत्रिय रङ्गशालाको रुपमा विकास गरिनेछ।
  • सबै वडा केन्द्रहरुमा ब्यवस्थित बजार केन्द्र र सुविधा सहितको सेवाकेन्द्रहरु स्थापना गरिनेछ।
  • एक वडा एक सुविधा सम्पन्न खेल मैदान निर्माण गरिनेछ।

फोहरमैला ब्यवस्थापन

  • नगरक्षेत्रको फोहोरमैलाको दिगो ब्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको पूर्बाधार निर्माण गरिनेछ। सबै वडामा ब्यवस्थित ढल निकासको निर्माण गरिनेछ। धुलिखेल तथा श्रीखण्डपुरमा रहेको फोहरपानी प्रशोधन केन्द्रको क्षमतावृद्धि गरिनेछ।
  • लेदोजन्य तथा ठोस फोहोरमैलाको थप प्रशोधन केन्द्रको निर्माण गरी फोहोर मुक्त शहर निर्माण गरिनेछ।
  • घरेलु फोहरलाई कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने तीन तहमा घरमै छुट्ट्याई सो को उपयोग र उचित ब्यवस्थापनका लागि निजी क्षेत्रसँग साझेदारी गरिनेछ।

विद्युतीकरण

  • अति विपन्न गरिव परिवारलाई १० युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराइनेछ।
  • सबै वडाहरुमा विद्युतीकरणलाई ब्यवस्थित गरिनेछ।
  • शतप्रतिशत घरपारिवारमा विद्युतीय चुल्होको ब्यवस्था गरिनेछ।
  • सडक, चोक, राजमार्ग र सार्वजनिक स्थलहरुमा सोलार बत्ती तथा विद्युतीय वत्ती जडान गरिनेछ।

सूचना तथा सञ्चार

  • सबै ब्यक्तिहरुमा सञ्चारको सुविधा पुर्याइनेछ। सबै वडाहरुमा सूचना प्रविधको सुविधा पुर्याइनेछ र प्रशासनिक कार्यलाई कागज रहित बनाउन आवश्यक सूचना प्रविधि पूर्वाधार सहित सफ्टवेयर तथा मोवाइल एप्सको प्रयोग गरिनेछ।
  • नगरभित्रका एफ.एम. रेडियोलाई ब्यवस्थित गरिनेछ र नगर टेलिभिजन सञ्चालन गरिनेछ।
  • सार्वजनिक स्थलहरुमा फ्रि वाइफाई इन्टनेट सुविधाको विस्तार तथा  नगरपालिकालाई SMART CITY को रुपमा विकास गरिनेछ।
  • नगर भित्रका सबै चोक, गल्ली, सार्वजनिक स्थलहरु, मन्दिर, पार्क, राजमार्गमा थप AI प्रविधिमा आधारित CCTV को विस्तार गरिनेछ।
  • एकीकृत सूचना प्रणाली केन्द्र स्थापना गरिनेछ।
  • स्थानीय सञ्चार माध्यममा लैङ्गिक समानता, श्रमजिवी सञ्चारकर्मीको पेशागत सुरक्षा तथा वृत्ति विकासको सुनिश्चितता गरिनेछ।

) आर्थिक विकास

कृषिपशुपालन तथा बजारीकरण

  • निर्वाहमूखी कृषि प्रणालीलाई ब्यवसायीकरण गरिनेछ। हरेक वडालाइ कम्तिमा एक कृषि उत्पादन केन्द्रको रुपमा विकास गरिनेछ।
  • खेतीयोग्य भूमिहरुमा सिंचाई सुविधा विस्तार गरिनेछ। सिंचाई ब्यवस्थापनका लागि प्लष्टिक पोखरी, आकासे पानी सङकलन, स्प्रिकल तथा थोपा सिंचाई जस्ता उपयुक्त प्रविधिहरुको विस्तार गरिनेछ।
  • आधुनिक सुविधा सम्पन्न कृषि बजार सञ्चालन गरिनेछ। मासु पसलहरु र मार्टहरु सञ्चालनमा ल्याइनेछ।
  • धुलिखेल नगरलाई तरकारी, दुध, फलफूल, खाद्यान्न र मासुमा आत्मनिर्भर बनाइनेछ।
  • कृषि अनुसन्धान र जैविक विविधता अध्ययन अध्यापन केन्द्र स्थापना गरिनेछ।
  • नगरभित्रका शंखु तथा शारदा बतासे क्षेत्रलाई सुन्तला पकेट क्षेत्र, रविओपी, पात्लेखेत, बडालगाउँ, काभ्रे क्षेत्रलाई दुध र तरकारी पकेट क्षेत्रको रुपमा विकास गरिने र अन्य वडामा “एक वडा एक उत्पादन” पकेट क्षेत्र सञ्चालन गरिनेछ।
  • किसानमैत्री कृषि नीति र कृषिमा युवा आकर्षण बढाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ। कृषि लागत न्यूनीकरण गर्न आधुनिक प्राविधि तथा यान्त्रीकरणमा प्रोत्साहन गरिनेछ।
  • अर्गानिक खेतीलाई प्राथमिकता दिई मौरीपालन, होमस्टे प्रवर्द्धन तथा कृषि पर्यटनको विकास गरिनेछ।
  • मल, बीउ, सिंचाई, प्रबिधि र कृषि उपजको बजारको सुनिश्चितता गरिनेछ।
  • नि:शुल्क पशुवीमा गरिनेछ। आवश्यकता अनुसार दुध सङकलन केन्द्र तथा दुध चिस्यान केन्द्रहरुको स्थापना गरिनेछ।
  • सुविधा सम्पन्न पशु अस्पतालको निर्माण र सञ्चालन गरिनेछ।
  • आधुनिक पशुवधशालाको निर्माण गरिनेछ। कृत्रिम गर्भाधान प्रणाली विस्तार र नश्ल सुधार कार्यक्रम सञ्चालन गरिनेछ।
  • पशु उत्पादनको ब्यवस्थित बजारीकरणको ब्यवस्था मिलाइनेछ।
  • नगरक्षेत्र भित्र उत्पादन हुने तरकारीहरुले सामुहिक विक्री वितरणको लागि संकलन केन्द्रहरु, सामुहिक उद्यम तथा उत्पादन कार्य गर्न आवश्यक स्थानहरुमा साझा सुविधा केन्द्र, लघु साना तथा घरेलु उद्योगहरुबाट उत्पादित सामान विक्री वितरणको लागि विक्री कक्ष तथा कोसेली घर स्थापना गरिनेछ।
  • कृषि योग्य भूमि बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिनेछ। शहरी क्षेत्रहरुमा कौसीखेती, गमलाखेती, करेसावारी लगायतका शहरी कृषि प्रणालीलाई प्रवर्द्धन गरिनेछ।
  • दुग्ध तथा मासुजन्य पदार्थको बजारीकरणको लागि मुल्यश्रृङखला (Value Change) को प्रभावकारी कार्यान्यवन गरिनेछ।

उद्योग तथा पर्यटन विकास

  • नगरक्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको थप उजागर र संरक्षण, पर्यटन क्षेत्रको थप पूर्वाधार विकास गरी पर्यटकीय नगरको रुपमा राष्ट्रिय पहिचान बनाउँदै धुलिखेललाई नेपालकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिनेछ।
  • धुलिखेलको ठूलो वनक्षेत्रलाई कृत्रिम ताल, बोटानिकल पार्क सहितको मनोरञ्जन पार्क निर्माण गरी पर्यटन आकर्षण केन्द्रको रुपमा विकसित गरिनेछ।
  • एक वडा एक नमुना र पर्यटनमैत्री वनको विकास गरिनेछ।
  • ब्यवस्थित र सुविधा सम्पन्न पिकनिक स्थलहरु निर्माण गरिनेछ।
  • स्टार होटल सञ्चालन गर्न निजीक्षेत्रलाई प्रोत्साहन गरिनेछ।
  • साहासिक पर्यटनका लागि बन्जीजम्प, जिप लाईन र अन्य कार्यक्रमहरु सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ।
  • क्यासिनो सञ्चालन गर्न निजी क्षेत्रलाई उत्प्रेरित गरिनेछ।
  • नगरकोटबाट धुलिखेल हुँदै नमोवुद्धसम्म ब्यवस्थित पर्यटकीय पदमार्ग निर्माण गरिनेछ। पर्यटकीय स्थलहरुमा शौचालय, विश्रामस्थल, सूचनापाटी, पर्यटकीय नक्सा, अतिथि गृह निर्माण र सञ्चालन गरिनेछ।
  • नगरभित्र रहेका पदमार्गको स्तरोन्नतरीका साथै अपाङ्ग मैत्री बनाइनेछ।
  • पात्लेखेत र बडालगाउँलाई ब्राहणक्षेत्री समुदायको सँस्कृति झल्किने नमुनाबस्ती  तथा तामाङ बस्ती भएका सबै वडाहरुमा कम्तीमा १/१ वटा तामाङ परम्परा झल्कने नमुना बस्ती विकास गरिनेछ।
  • संग्राहलय सहितको राष्ट्रपतिपार्क निर्माण गरिनेछ।
  • कपिलेश्वर झरना तथा छाँगे झरनाको विकास र प्रवर्द्धन गरिनेछ।
  • धुलिखेलको पुरानो बस्तीलाई हाउस पुलिङ्ग गरी नेवार साँस्कृतिक केन्द्रको विकास गरिनेछ। नगर क्षेत्र भित्रका पर्यटकीय सम्भाव्यताका क्षेत्रहरुको विकास गरिनेछ।
  • धुलिखेल ११ मा मञ्जुश्रीको पार्क सहितको तामाङ सङग्रहालय निर्माण गरिनेछ। नगरक्षेत्र भित्र रहेका प्राचिन र पुरातात्विक महत्वका संरचनाहरुका संरक्षण र विकास गरिनेछ। मन्दिर, कुवा, पधेरा, पोखरी, धारा, पाटीहरुको पुननिर्माण तथा संरक्षणमा जोड दिइनेछ।
  • उद्योगी ब्यवसायीहरुका लागि लगानीमैत्री वातावरण सिर्जना गरिनेछ। २५ जना भन्दा वढी स्थानीयलाई रोजगारी दिने उद्योग, व्यवसायलाई ५ वर्षसम्म स्थानीय करमा मिनाह गरिनेछ। त्यस्ता उद्योगका स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने सडक पानी तथा विजुलीको व्यवस्थापनमा सहयोग गरिनेछ।
  • एक गाउँ एक उत्पादन, एक वडा एक पहिचानको आवधारणलाई प्रवर्द्धन गरिनेछ। दश युवा एक उद्यम कार्यक्रम मार्फत सामुहिकरुपमा यूवा व्यरोजगारको संख्यालाई न्यूनीकरण गरिनेछ।

बित्तीय सेवा

  • बैङकीङ्ग पहुँच नभएका अति विपन्न गरिव परिवारले बैंकमा खाता खोलेमा रु १००।- प्रोत्साहान रकम उपलब्ध गराइनेछ।
  • सहकारी क्षेत्र तथा वित्तीय क्षेत्रलाई आर्थिक समृद्धि, जनताको जीवनस्तर वृद्धि, कृषिको ब्यवसायीकरण र रोजगारी अभिवृद्धिको माध्यमका रुपमा अगाडि वढाइनेछ।
  • नगरभित्रका सबै वडा तथा सेवा केन्द्रहरुमा बैकिङ सेवाको विस्तार गरिनेछ।

) सामाजिक विकास

शिक्षा

  • धुलिखेलमा अध्ययन गर्ने विद्याथीहरुलाई स्नातक तहसम्मको शिक्षा पूर्ण निशुल्क गरिनेछ।
  • अपाङ्गता भएका नागरिकलाई स्नातकोत्तरसम्म अध्ययनका लागि निशुल्क गरिनेछ।
  • निरन्तर शिक्षा सञ्चालन गरिनेछ। शिक्षामा सबैको पहुँच स्थापित गरिनेछ।
  • सार्वजनिक निजी साझेदारीको अवधारणामा एक कृषि प्राविधिक विद्यालय र अन्य प्राविधिक विद्यालय सञ्चालन गरिनेछ।
  • एक वडा एक डिजिटल विद्यालय सञ्चालन गरिनेछ। सूचना प्रविधियुक्त निरन्तर शिक्षा सञ्चालन गरिनेछ।
  • सुविधा विहिन तथा गरिव बालबालिकाको लागि आवसीय छात्रावास निर्माण र सञ्चालन गरिनेछ।

स्वास्थ्य

स्वास्थ्य विमा निशुल्क उपचार:

स्वस्थ नागरिक जिम्मेवार स्थानीय सरकार

  • स्वास्थ्य क्षेत्रमा वहुआर्थिक अभियान सञ्चालन गरी स्वास्थ्य शहर कार्यक्रम सञ्चालन गरिनेछ र स्वास्थ्य शहर घोषणा गरिनेछ।
  • धुलिखेल अस्पतालसँग सहकार्य गरी सबै स्वास्थ्य संस्थाहरुको सेवामा सुधार गरी नागरिकहरुको नियमित जाँच र गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा वृद्धि गरिनेछ।
  • नगर क्षेत्रभित्र सुविधा सम्पन्न ट्रमा अस्पताल निर्माण र सञ्चालन गरिनेछ।
  • जेष्ठ नागरिक सेवा केन्द्र र बालबालिका हेरचाह केन्द्र निर्माण गरी सञ्चालन गरिनेछ।
  • सुविधा सम्पन्न नगर अस्पताल र आयुर्वेद अस्पताल सञ्चालन गरिनेछ।
  • रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिन स्वस्थ जीवन शैलीको लागि एक वडा एक योग केन्द्र स्थापना गरिनेछ।
  • पोषणमैत्री नगर र क्षयरोगमुक्त गर घोषणा गरिनेछ।

समावेशीकरण

समानता तर्फको महिला यात्रा:

समाजबाद उन्मुख धुलिखेलको विशेषता

  • लक्षित बर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहजीकरणका लागि नगरपालिकामा महिला परिषद, युवा परिषद, दलित परिषद, आदिवासी जनजाति परिषद्हरु मार्फत कार्यान्वयन गरिनेछ। परम्परागत र मौलिक ज्ञान, सीप तथा प्रविधिहरुको पहिचान गरी तिनीहरुको संरक्षण तथा प्रबर्धन गरिनेछ।
  • गरिबीका रेखामुनि रहेका परिवारहरुको पहिचान गरी आर्थिक कृयाकलापहरुमा सहयोग गरिनेछ। उनीहरुलाई आवश्यक सहुलियत, छुट र प्राथमिकताको ब्यवस्था गरिनेछ।
  • नगरक्षेत्रभित्र रहेका घरबारविहीन परिवारलाई आबश्यक सहयोग गरिनेछ। एक घर एक स्वरोजगारीको प्रत्याभूति गरिनेछ। नगरभित्र रहेका उद्योग तथा ब्यवसाय हरुमा निश्चित प्रतिशत नगरबासीलाई रोजगारी दिने ब्यवस्था गरिनेछ।

महिला

  • सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गर्दै नगरपालिका अन्तर्गतका संयन्त्रहरुमा ५० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिनेछ। समान कामको लागि समान ज्याला नीति लागू गरिनेछ।
  • हिंसा प्रभावित महिलाहरुको तत्काल उद्धार तथा संरक्षणका लागि संचालित सेफ हाउसको लागि छुट्टै भवन निर्माण तथा सो को दीगो ब्यवस्थापन गरिनेछ।
  • महिला हिन्सामुक्त र आत्मनिर्भर गराउन शिपयुक्त तथा स्वरोजगारको लागि थप सहयोग गरिनेछ।

युवा

  • युवाहरुको समग्र विकासको लागि खेलकुद, शिक्षा, आय आर्जन र सृजनशिलता विकास गरिनेछ।
  • प्रत्यक वडामा युवाहरुका लागि फिटनेश सेन्टर बनाइनेछ।
  • युवाहरूलाई रूपान्तरणका संबाहक र नेतृत्वका साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिनेछ। उद्यमशीलता वृद्धि गरी युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गरिनेछ।

दलित

  • छुवाछुटमूक्त शहर बनाउदै सबैखालको विवेद अन्त गरिनेछ।
  • परम्परागत पेशलाई प्रविधिसुधार तथा आय आर्जनमा जोड दिइनेछ।
  • शिक्षा, स्वास्थ्य, रोजगारमा विशेष पहुँच पुर्याईनेछ।
  • निशुल्क स्वास्थ्यको लागि स्वास्थ्य विमा गरिनेछ।

अपाङ्ग

  • सबै सार्वजनिक पूर्वाधारमा अपाङ्गमैत्री बनाइनेछ।
  • पूर्ण अशक्त र अपांगता भएका ब्यक्तिको परिवारका एकजना सदस्यलाई आय आर्जनका लागि आवश्यक सीप तथा सहयोग उपलब्ध गराइनेछ। बेरोजगारहरुको तथ्यांक राखिनेछ र रोजगारीमा पहुँचको लागि नविन उपायहरु अवलम्बन गरिनेछ।
  • अपाङ्गता भएका ब्यक्तिको नाम रहेको घरजग्गामा तिर्नु पर्ने घरजग्गा करलाई निशुल्क बनाइनेछ।
  • शिक्षा, स्वास्थ्य, रोजगारमा विशेष पहुँच पुर्याईनेछ।
  • निशुल्क स्वास्थ्यको लागि स्वास्थ्य विमा गरिनेछ।

जेष्ठ नागरीक

  • सम्मान र सर्यादीत जीवन यापन तथा स्वास्थ्य सेवाको सहज पहुँचमा जोड दिइनेछ।
  • निशुल्क स्वास्थ्यको लागि स्वास्थ्य विमा गरिनेछ।
  • बैंकसम्म जान नसक्ने जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरैमा पुराउने व्यवस्था गरिनेछ।
  • परिवारबाट अपहेलित हेरचाहा विहिन जेष्ठ नागरीकलाई जेष्ठ नागरीक स्याहार केन्द्रमा सम्मान जनक राखिनेछ।

खेलाडी

  • राष्ट्रियस्तरको खेलको विकास तथा बार्षिकरुपमा प्रतियोगिता गरी खेलाडीलाई प्रोत्साहन गरिनेछ।
  • बहुउद्देश्यीय कभर्डहल, राष्ट्रियस्तरको खेल मैदान निर्माण, धुलिखेल खेलमैदानलाई क्षेत्रिय रङ्गशालाको रुपमा विकास गरिनेछ।

कलाकार

  • कलाकार, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ।

बालबालिका

  • “टुहुरा संरक्षण कार्यक्रम” नगरमा रहेका बाबुआमा विहिन बालबालिकाहरुलाई प्रदेश सरकारले प्रदान गर्ने मासिक भत्तामा शत प्रतिशत थप गरी प्रति महिना रु ४००० का दरले उपलब्ध गराइ समाजमा पुर्नस्थापित हुने वातावरण गराइनेछ।
  • जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा भएको र पार्ककै पार्कको शहरको रुपमा विकास भइरहेको सन्दर्भमा नगरको पाएक पर्ने ५ स्थानमा बाल सिकाई केन्द्रको रुपमा विकास गर्ने गरी बालमैत्री पार्को स्थापना तथा सञ्चालन गरिनेछ।

सामाजिक सुरक्षा

“खुसी जेष्ठ नागरिक, सुखी बालबालिका

अपाङ्गमैत्री धुलिखेल नगरपालिका”

  • समाजबाट तिरस्कार भएका तथा परिवारबाट अपहेलित जेष्ठ नागरिकहरुलाई शंखुमा निर्माण भएको जेष्ठ नागरिक भवनमा पुनर्स्थापित गरिनेछ।
  • जेष्ठ नागरिक, एकल महिला, विधवा, अशक्त अपाङ्ग र बालवालिकालाई नेपाल सरकारवाट प्रदान गरिदै आएको सुरक्षा भत्ता समयमै सुलभ तरिकावाट उपलब्ध गराउने ब्यवस्था मिलाइनेछ।
  • जेष्ठ नागरिकहरुको सम्मानजक बसाइ, खानपान र सुरक्षाको लागि आवश्यक नीति, ऐन, कानून बनाई कार्यान्वयन गरिनेछ। जेष्ठ नागरिकहरुको ज्ञान अनुभवलाई उपयोग गरिने कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • औद्योगिक, पर्यटन, यातायात र निर्माण क्षेत्र लगायतका श्रमिकहरुको सामाजिक सुरक्षा तथा दुर्घटना बीमालाई अनिवार्य गरिनेछ। सशस्त्र द्वन्द्व तथा जनआन्दोलन लगायतका घटनाहरुमा प्रभावित परिवार तथा घाइतेहरुका लागि उचित उपचार तथा राहतको ब्यवस्थापन गरिनेछ।

) वनवातावरण, जलवायु परिवर्तन तथा विपद् ब्यवस्थापन

  • कार्वन उत्सर्जन शून्य गरी प्रदुषणमुक्त शहर बनाइनेछ। स्वस्थ उर्जाको प्रयोग गरी औधोगिक केन्द्रलाई प्रदुषण रहित बनाइनेछ।
  • वायु प्रदुषण, भू–प्रदुषण, ध्वनि प्रदुषण नियन्त्रणका लागि सबै सामुदायिक वनको विस्तृत परियोजना तर्जुमा गरी वनक्षेत्रको विकास गरिनेछ।
  • नगरको जैविकचक्र योजना बनाई जलवायु अनुकुलन योजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
  • सल्लोजातको वन प्रतिस्थापन गर्ने, सबै सामुदियक वन क्षेत्रमा व्यवसायिक फलफूल, नगदेबाली, रेशा जातवुटी फूल प्रवर्द्धन गरी कृर्षि वनकोरुपमा रुपान्तरण गरी सामुदायमा आधारित वन परियोजना सञ्चालन गरिनेछ।
  • “एक वडा एक वन उत्पादनमा आधारित ब्यवसायिक धन” अघि वढाइनेछ।
  • विपद ब्यवस्थापनको लागि संस्थागत संरचनाहरु सुदृढ गर्दै संभावित बिपद् जोखिम पहिचान गरी पूर्वतैयारीको लागि आवश्यक कार्य गरिनेछ।
  • आपतकालीन खोज, उद्धार तथा राहत र पुनर्निर्माणका लागि आबश्यक प्रबन्ध गरिनेछ। आपतकालिन अवस्थामा बस्नको लागि खुला ठाउँ तथा सेल्टर हाउसहरुको ब्यवस्था गरिनेछ।
  • आगलागीबाट हुने जोखिम न्यूनीकरणको लागि दमकललाई चालू हालतमा राख्नुको साथै २४सौं घण्टा विपद व्यवस्थापनमा खटिने टोलीलाई आपतकालिन प्रयोगको लागि चालू हालतमा राखिनुको साथै समय सापेक्ष तालिम तथा भौतिक सामग्रीलेयुक्त राखिनेछ।
  • विपद् ब्यवस्थापन कोषको स्थापना तथा सञ्चालन गरिनेछ।

) संस्थागत विकास तथा सुशासन

  • सेवाग्राहीका अधिकारलाई सुरक्षित गर्ने क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गरिनेछ।
  • सेवा प्रवाहको हरेक क्षेत्रमा प्रविधिको विकास तथा विस्तार गरी e-Governance लाई लागू गरी online बाटै सेवा प्रवाह गर्ने नीति लागू गरिनेछ।
  • नगरपालिकाबाट उपलब्ध हुने सेवाहरु असाहय, अपाङ्ग, वृद्धवृद्धा एवंम दृष्टिविहीन लगायत सबै प्रकारका अपाङ्गता भएका नागरिकले प्राप्त गर्ने गरी नागरिकमैत्री सेवा प्रवाह गरिनेछ।
  • पारदर्शिता एवंम सुशासनका लागि नगरपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा छापा सञ्चार माध्यमबाट सावर्जनिकीकरण गरिनेछ।
  • नगरपालिकामा आवश्यक र उपयुक्त कानून, नियमावली, कार्यविधि तथा निर्देशिकाहरु तयार गरी नगरवासीहरुलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गरिनेछ।
  • नगरको समग्र विकासमा सामुदायिक संस्थाहरु, वडा नागरिक मञ्च, गैरसरकारी क्षेत्र, सहकारीक्षेत्र, निजी क्षेत्र, अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग साझेदारी र सहकार्य गरिनेछ।
  • वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ। वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्ति आपूर्ति गरिनेछ।
  • नगरपालिकाबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ।
  • गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ। सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र बिश्वसनीय बनाउन ईबिडिङ प्रणालीलाई कार्यान्वयन गरिनेछ। गुणस्तर मापदण्ड बनाई लागू गरिनेछ। विकास कार्यहरुको ब्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ।
  • नगरक्षेत्रको योजनाबद्ध विकासमा सहयोग पुर्याउन योजनाविद् र बृद्धिजीवीहरु सम्मिलित नगरस्तरीय योजना आयोगको गठन गरिनेछ।
  • धुलिखेल नगरपालिकालाई बिश्वका बिभिन्न विकसित शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरी स्थानीय विकासका अनुभवहरु आदान प्रदान गरिनेछ।
  • नगरपालिकाको आन्तरिक आयमा बृद्धि ल्याउन राजश्व सम्भावित क्षेत्रहरुको पहिचान, विस्तार गर्दै पारदर्शी ब्यवहारिक र जनमुखी कर प्रणालीको विकास गरिनेछ।
  • भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता नीति अवलम्बन गरी असल शासन र भ्रष्टाचार नियन्त्रणको लागि नीति, ऐन कानून बनाई कार्यान्वयन गरिनेछ।
  • निर्बाचित पदाधिकारी तथा कर्मचारी प्रशासन संयन्त्रलाई सबल, सक्षम, समावेशी, प्रभावकारी, जवाफदेही, सदाचारी, पारदर्शी र बित्तीय जोखिममुक्त बनाउन आचार संहिता बनाई लागू गरिनेछ।
  • प्रत्येक स्थानीय तहमा उपभोक्ता हित संरक्षणसम्बन्धी निकाय स्थापना गरेर उपभोक्ता शिक्षा, सूचना र बजार अनुगमनको व्यवस्था प्रभावकारी ढङ्गले लागू गरिनेछ। सबै पसलहरूमा मूल्यसूची राख्न अनिवार्य गर्ने तथा मूल्य र गुणस्तरको नियमित अनुगमन गरिने छ।

) न्यायमा समान पहुँच

  • नगरपालिकाबाट सम्पादन हुने न्यायप्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पुर्याइनेछ। सबै वडाहरुमा मध्यस्थता र सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै उनीहरुको क्षमता विकास र परिचालन गरिनेछ।
  • न्यायिक समितिको छुट्टै भवन निर्माण गरिनेछ। न्याय प्रणालीलाई विश्वसनीय, पारदर्शी र छिटो छरितो बनाई न्याय मर्न दिईने छैन।

) सुरक्षित शहर

  • सुरक्षित शहर हाम्रो प्रतिबद्धता हो। चेलीबेटी बेचबिखन, बोक्सीको आरोप, घरेलु हिंसा, यातना, संगठित अपराध, वालविवाह, चोरी, डकैती, छुवाछुत, लैङगिक हिंसा, यौनजन्य हिंसा, जबरजस्ती श्रम गराउने, बधुवा मजदुर, वालश्रम, अमानवीय दुर्व्यवहार अन्त गर्न कानून बनाइ कार्यान्वयन गरिनेछ। नगरको सुरक्षा व्यवस्थापनको लागि नगर सुरक्षा नीति तर्जुमा गरी व्यवस्थित कार्यान्वयन गरिनेछ।

एक वडा एक विशेषता:

वडा नं. १:    पर्यटन, M ountain Sports,बौद्ध अध्ययन केन्द्र, कृषि अध्ययन केन्द्र

वडा नं. २:    दुग्ध, तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र

वडा नं. ३:    पयर्टन, तरकारी र विउ विजन उत्पादन पकेट क्षेत्र

वडा नं. ४:     शैक्षिक केन्द्र तथा व्यवस्थित शहरीकरण क्षेत्र

बडा नं. ५:     साँस्कृतिक र सम्पदा तथा आवासीय क्षेत्र

बडा नं. ६ र ७: पुरातात्विक सम्पदा संरक्षण, सस्कृति, पूरानोमैलीक बस्ती संरक्षण, व्यवसायिक केन्द्र तथा आवासीय क्षेत्र

वडा नं. ८:     पर्या-पर्यटन, पार्क, होमस्टे, कृषि तथा कृषि अध्ययन केन्द्र

वडा नं. ९:     पर्यटन, स्वास्थ्य सेवा, आवासीय तथा कृषि क्षेत्र

वडा नं. १०:    औद्योगिक, कृषि तथा फलफूल पकेट क्षेत्र

वडा नं. ११:    पर्यटन, होमस्टे, कृषि तथा जैविक विविधता क्षेत्र

वडा नं. १२:    धान खेती, सुन्तला खेती, पर्यटन र साँस्कृतिक क्षेत्र

हार्दिक अभिवादनसहित

नेकपा एमाले

धुलिखेल नगर कमिटीकाभ्रेपलाञ्चोक

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्